Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

डुडुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न, पाँचबुँदे प्रतिबद्धता सार्वजनिक

डुडुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न, पाँचबुँदे प्रतिबद्धता सार्वजनिक

नेपाल सम्वत् ११४६, तछलागाः १५ प्रतिपदा (३१ अषाढ, २०८३, १५ जुलाई, २०२६) बुधबार, बाँपिझ्याला । बाँकेको डुडुवा गाउँपालिकामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको आयोजना तथा बास नेपालको सहजीकरणमा गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा जनप्रतिनिधि, सरोकारवाला निकाय र स्थानीय नागरिकको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको अन्त्यमा गाउँपालिकाले पाँचबुँदे साझा सार्वजनिक प्रतिबद्धता सार्वजनिक गरेको छ। प्रतिबद्धताअनुसार वडा नम्बर ५ को अधुरो सडक आगामी आर्थिक वर्षभित्र निर्माण गरिने, आवागमन सहज बनाउन आवश्यक स्थानमा ग्राभेल बिछ्याइने तथा वडा नम्बर ६ हिरमिनियाको मुनासिपुर सडकमा पनि आगामी आर्थिक वर्षमा ग्राभेल गरिने जनाएको छ।

यस्तै, प्रक्रियाअनुसार माग गरिएका सार्वजनिक सूचना नागरिकलाई उपलब्ध गराउने, गाउँपालिकाबाट प्रवाह हुने सेवा–सुविधा तथा विकास निर्माणको गुणस्तर थप सुधार गर्ने र विगतमा गाउँपालिकामा भएको आगजनी घटनाको छानबिन गर्ने प्रतिबद्धता पनि सार्वजनिक गरिएको छ।

करिब २५० भन्दा बढी स्थानीयको सहभागिता रहेको कार्यक्रममा तीन घण्टासम्म खुला छलफल भएको थियो। सहभागीहरूले सुकुम्बासी समस्या, अलपत्र खानेपानी आयोजना, सडकमा ग्राभेलको आवश्यकता, वडा नम्बर ५ को स्वास्थ्य चौकीमा ल्याब कर्मचारीको अभाव, नागरिकसम्म सूचना नपुगेको अवस्था तथा वडा नम्बर १ को हिरमिनियास्थित खडैचा टोलको सडकको दयनीय अवस्थालगायत विषय उठाएका थिए।

उठेका प्रश्न र जिज्ञासाको जवाफ गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले दिएका थिए। कार्यक्रममा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत गर्दै कार्यक्रमको उद्देश्यबारे जानकारी गराएका थिए भने बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार बर्माले सार्वजनिक सुनुवाइको सहजीकरण गरेका थिए।

सार्वजनिक सुनुवाइमार्फत स्थानीय नागरिकका गुनासा, सुझाव र अपेक्षालाई प्रत्यक्ष रूपमा सुन्ने तथा त्यसका आधारमा सेवा प्रवाह र विकास निर्माणलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको गाउँपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार