नेपाल सम्वत् ११४६, तछलागाः १५ प्रतिपदा (३१ अषाढ, २०८३, १५ जुलाई, २०२६) बुधबार, बाँपिझ्याला । दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका–४ बञ्चरेकी विकुमारी तामाङले व्यावसायिक गोलभेडा खेतीबाट उल्लेखनीय सफलता हासिल गर्दै गाउँमै आत्मनिर्भरताको उदाहरण प्रस्तुत गरेकी छन्। आधुनिक कृषि प्रविधि अपनाएर फलामे टनेलभित्र गरिएको गोलभेडा खेतीबाट उनले राम्रो उत्पादनसँगै आम्दानी गर्न सफल भएकी हुन्।
परम्परागत खेतीबाट अपेक्षित आम्दानी हुन नसकेपछि विकुमारीले व्यावसायिक कृषि रोजेकी थिइन्। स्थानीय कृषक समूहकी अगुवा कृषक तथा ग्रामीण विकास टुकी संघकी सक्रिय सदस्य रहेकी उनले आधुनिक प्रविधिमा आधारित गोलभेडा खेती सुरु गरेपछि अहिले यसको सकारात्मक प्रतिफल पाइरहेकी छन्।
उनको खेतीलाई ग्रामीण विकास टुकी संघ र सिभिन नेपालद्वारा संयुक्त रूपमा सञ्चालित ‘महिला तथा बालबालिका जीवनस्तर उत्थान परियोजना’ अन्तर्गत फलामे टनेल निर्माणका लागि सहयोग गरिएको थियो। यस अभियानमा कालिञ्चोक गाउँपालिकाले समेत आवश्यक सहयोग गरेको थियो।
टनेल निर्माणका क्रममा आवश्यक पर्ने बालुवा, गिट्टी संकलनदेखि अन्य श्रममूलक काम विकुमारीले आफ्नै मेहनतले सम्पन्न गरेकी हुन्। उनले गुणस्तरीय गोलभेडाको बिउ प्रयोग गर्नुका साथै ग्रामीण विकास टुकी संघका कृषि प्राविधिकबाट नियमित प्राविधिक परामर्श र सहयोग प्राप्त गर्दै आएकी छन्।
अहिले उनको टनेलभित्र गोलभेडा लटरम्म फलेका छन्। उत्पादन भएका गोलभेडा स्थानीय बजारमा बिक्री हुन थालेपछि उनको आम्दानीमा वृद्धि भएको छ। यसले परिवारको आर्थिक अवस्था सुधारिनुका साथै व्यावसायिक कृषिप्रति उनको आत्मविश्वास पनि बढाएको छ।
ग्रामीण विकास टुकी संघका वरिष्ठ कृषि प्राविधिक केदारबहादुर खत्रीका अनुसार आधुनिक प्रविधि, प्राविधिक मार्गदर्शन र कृषकको निरन्तर मेहनत भएमा सीमित स्रोत–साधनबाट पनि राम्रो उत्पादन र आम्दानी सम्भव हुन्छ। विकुमारी तामाङको सफलता त्यसैको उदाहरण भएको उनले बताए।
विकुमारीको सफलताले कालिञ्चोक गाउँपालिकासहित आसपासका क्षेत्रका कृषकलाई पनि व्यावसायिक तथा बजारमुखी कृषि प्रणाली अपनाउन प्रेरित गरेको छ। कृषि क्षेत्रमा सम्भावना खोजिरहेका युवाका लागि समेत उनको कथा प्रेरणादायी बनेको स्थानीयवासी बताउँछन्।
आधुनिक प्रविधि, उचित सहयोग र अथक मेहनतको संयोजनले गाउँमै बसेर सम्मानजनक आम्दानी गर्न सकिन्छ भन्ने सन्देश विकुमारी तामाङको सफलताले स्पष्ट रूपमा दिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij