Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

दोलखामा पहिरोको दुःखद घटना : चार महिनाकी बालिकाको मृत्यु, आमा गम्भीर घाइते

दोलखामा पहिरोको दुःखद घटना : चार महिनाकी बालिकाको मृत्यु, आमा गम्भीर घाइते

नेपाल सम्वत् ११४६, तछलागाः १३ चर्तुदशी (२९ अषाढ, २०८३, १३ जुलाई, २०२६) सोमबार, बाँपिझ्याला । अविरल वर्षापछि आएको पहिरोमा परी दोलखाको कालिञ्चोक गाउँपालिकामा चार महिनाकी बालिकाको मृत्यु भएको छ भने उनकी आमा गम्भीर घाइते भएकी छन्।

जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार गएराति करिब ९ बजे कालिञ्चोक गाउँपालिका–१ क्याङ्पोलस्थित सुनखानी–साङवा सडक खण्डमा पहिरो जाँदा चार महिनाकी एलिना थामीको घटनास्थलमै मृत्यु भएको हो। उनकी १९ वर्षीया आमा शर्मिला थामी गम्भीर घाइते भएकी छन्।

प्रहरीका सूचना अधिकारी सन्तोषकुमार खड्काका अनुसार शर्मिला आफ्नी छोरी एलिनालाई लिएर भीमेश्वर नगरपालिका–१ सुस्पास्थित माइतीबाट बोलेरोमार्फत घर फर्किँदै थिइन्। सडक पहिरोका कारण अवरुद्ध भएपछि उनीहरू सवारीबाट ओर्लिएर पैदल घरतर्फ जाँदै गर्दा घर नजिकै पुगेपछि माथिबाट आएको पहिरोले आमाछोरीलाई बगाएको थियो।

स्थानीयवासीले तत्काल उद्धार गरी घाइते शर्मिलालाई उपचारका लागि अस्पताल पुर्‍याएका थिए। कालिञ्चोक गाउँपालिका–१ का वडा अध्यक्ष पदमबहादुर थामीका अनुसार उनको दोलखास्थित धुलिखेल अस्पताल शाखामा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ।

लगातारको वर्षासँगै दोलखाका विभिन्न स्थानमा पहिरो खस्ने क्रम बढिरहेको छ। प्रशासनले वर्षायाममा अनावश्यक यात्रा नगर्न, विशेष गरी पहिरोको उच्च जोखिम भएका सडक र बस्ती आसपास अत्यधिक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार