Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

नेपाल भाषा सिक्दै नयाँ पुस्ता, झी पुचः विराटनगरद्वारा १५ दिने प्रशिक्षण सुरु

नेपाल भाषा सिक्दै नयाँ पुस्ता, झी पुचः विराटनगरद्वारा १५ दिने प्रशिक्षण सुरु

नेपाल सम्वत् ११४६, तछलागाः १२ त्रयोदशी (२८ अषाढ, २०८३, १२ जुलाई, २०२६) आईतबार, बाँपिझ्याला । नेपाल भाषा संरक्षण, संवर्द्धन तथा नयाँ पुस्तामा मातृभाषाप्रतिको रुचि र आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले झी पुचः विराटनगरको आयोजनामा १५ दिने नेपाल भाषा प्रशिक्षण कार्यक्रम आइतबारदेखि शुभारम्भ भएको छ।

२०८३ असार २८ गते बेलुकी ४:३० बजे आयोजित उद्घाटन कार्यक्रममा झी पुचः विराटनगरका सभापति शरद श्रेष्ठको सभापतित्व तथा सुदर्शनबहादुर श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा संस्कृत तथा भाषा विद् भाजु गणेश बज्राचार्य र संस्थाका पूर्व अध्यक्ष हरिबहादुर श्रेष्ठले नेपाल भाषाको संरक्षण, पुस्तान्तरण र यसको महत्वबारे प्रकाश पार्दै मातृभाषा सिक्नु आफ्नो पहिचान, संस्कृति र सम्पदालाई जोगाउने महत्वपूर्ण माध्यम भएको बताउनुभयो।

१५ दिनसम्म सञ्चालन हुने प्रशिक्षणमा नेपाल भाषाको आधारभूत बोलचाल, पठन–पाठन, लेखन, शुद्ध उच्चारण, व्याकरण तथा भाषा–संस्कृतिसम्बन्धी विभिन्न विषयमा प्रशिक्षण दिइनेछ। प्रशिक्षणको मुख्य सहजीकरण संस्कृत तथा भाषा विद् भाजु गणेश बज्राचार्यले गर्नुहुनेछ।

प्रशिक्षणमा ३५ जना सहभागी रहेका छन्। तीमध्ये २० जना महिला र १५ जना पुरुष छन्। आयोजकका अनुसार कार्यक्रमको मुख्य उद्देश्य सहभागीलाई नेपाल भाषा सिकाउनु मात्र नभई भाषा प्रयोगमा आत्मविश्वास बढाउनु र मातृभाषाप्रति अपनत्व जगाउनु पनि हो।

कार्यक्रमको अन्त्यमा संस्थाकी सचिव मयजु सन्जु शाक्यले धन्यवाद ज्ञापन गर्दै प्रशिक्षण सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, प्रशिक्षक र सहभागीप्रति आभार व्यक्त गर्नुभयो।

झी पुचः विराटनगरले नेपाल भाषा, कला, संस्कृति र परम्पराको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरणका लागि निरन्तर यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ। आयोजकले यस प्रशिक्षणबाट सहभागीहरूले नेपाल भाषामा बोल्ने, लेख्ने र बुझ्ने सीप विकास गर्नुका साथै भाषा र संस्कृतिप्रतिको आत्मीयता अझ बलियो हुने विश्वास व्यक्त गरेको छ।

सञ्जु शाक्य, विराटनगर

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार