Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

दोलखाको पहिचान बन्दै रातो हाब्रे (रेड पण्डा)

दोलखाको पहिचान बन्दै रातो हाब्रे (रेड पण्डा)

हिमाली प्राकृतिक सम्पदा र जैविक विविधताले भरिपूर्ण दोलखा जिल्ला अब दुर्लभ वन्यजन्तु रातो हाब्रे (रेड पाण्डा) को संरक्षण र जिम्मेवार पर्यापर्यटन विकासको उत्कृष्ट गन्तव्य बन्न सक्ने सम्भावना देखिएको छ। रेड पाण्डा संरक्षणमा अनुसन्धानरत पोस्ट–डक्टोरेट विद्वान् डा. अनिता श्रेष्ठले दोलखाको प्राकृतिक सम्पदा, जैविक विविधता र स्थानीय समुदायको समृद्धिलाई जोड्दै रातो हाब्रेको संरक्षण र पर्यापर्यटन विकासलाई सँगसँगै अघि बढाउनुपर्ने आवश्यकता औंल्याएकी छन्।

रातो हाब्रे विश्वमै लोपोन्मुख अवस्थामा रहेको आकर्षक वन्यजन्तु हो। यसको वैज्ञानिक नाम Ailurus fulgens हो। रातो–खैरो बाक्लो भुत्ला, सेतो अनुहार र लामो धर्से पुच्छर यसको मुख्य विशेषता हुन्। यो मुख्यतः चिसो, ओसिलो तथा बाँस–निगालो प्रशस्त पाइने वन क्षेत्रमा बसोबास गर्छ। बाँसका कोमल टुसा र पात यसको प्रमुख आहार भए पनि यसले फलफूल, जामुन, किराफट्याङ्ग्रा तथा चराका अण्डासमेत खाने गर्छ। अत्यन्त लजालु स्वभावका कारण मानिसको आँखामा कमै पर्ने यो वन्यजन्तु स्वस्थ हिमाली वनको सूचक प्रजातिका रूपमा समेत चिनिन्छ।

दोलखाको गौरीशंकर संरक्षण क्षेत्रमा गरिएको अध्ययनले मार्बु र कालिञ्चोक क्षेत्रमा रातो हाब्रेको उपस्थिति पुष्टि गरेको छ। अनुसन्धानका क्रममा यसको दिसा, पाइला र अन्य जैविक संकेत प्रशस्त मात्रामा फेला परेका थिए। अध्ययनअनुसार समुद्री सतहबाट करिब ३ हजारदेखि ३ हजार ६ सय मिटर उचाइसम्म रहेका बाँस–निगालोयुक्त वन क्षेत्र रातो हाब्रेका लागि सबैभन्दा उपयुक्त बासस्थान हुन्। स्थानीय बासिन्दाको जानकारीका आधारमा बिगु, तातोपानी र घोर्थली आसपासका वन क्षेत्रमा पनि यसको बसोबास हुन सक्ने सम्भावना रहेको उल्लेख गरिएको छ। यसैगरी रोल्वालिङ क्षेत्रमा जडान गरिएका क्यामेरा ट्र्यापमा समेत रातो हाब्रे अभिलेख भएको तथ्यले दोलखा यसको संरक्षणका लागि महत्वपूर्ण जिल्ला भएको पुष्टि गरेको छ।

डा. श्रेष्ठका अनुसार रातो हाब्रेको संरक्षण केवल एउटा वन्यजन्तुलाई बचाउने अभियान मात्र होइन। यसको संरक्षणसँग हिमाली वन, पानीका मुहान, बाँस–निगालो, चराचुरुङ्गी तथा सम्पूर्ण जैविक विविधताको संरक्षण प्रत्यक्ष रूपमा जोडिएको छ। त्यसैले रातो हाब्रे सुरक्षित रहनु भनेको समग्र हिमाली पारिस्थितिक प्रणाली सुरक्षित रहनु हो।

उनले दोलखामा धार्मिक पर्यटनसँगै प्रकृति–आधारित पर्यापर्यटन विकास गर्ने पर्याप्त सम्भावना रहेको बताएकी छन्। कालिञ्चोक, गौरीशंकर हिमाल, रोल्वालिङ उपत्यका, च्छोरोल्पा हिमताल र आसपासका वन क्षेत्रलाई समेटेर जिम्मेवार प्रकृति पर्यटन कार्यक्रम सञ्चालन गर्न सकिने उनको भनाइ छ। वन पदयात्रा, चराचुरुङ्गी अवलोकन, बाँस–निगालो वनको अध्ययन, वन्यजन्तुका संकेत पहिचान, स्थानीय संस्कृति, परम्परागत खानाका परिकार र होमस्टे अनुभवलाई एउटै पर्यटन प्याकेजमा समेट्न सकिने उनले उल्लेख गरेकी छन्।

यस्ता कार्यक्रम सञ्चालन भए स्थानीय युवाले प्रकृति पथप्रदर्शक, वन्यजन्तु अनुगमनकर्ता, संरक्षण स्वयंसेवक, होमस्टे सञ्चालक तथा पर्यटन उद्यमीका रूपमा रोजगारीका अवसर प्राप्त गर्न सक्ने विश्वास व्यक्त गरिएको छ। यसले स्थानीय आयआर्जन बढाउनुका साथै गाउँबाट हुने बसाइँसराइ कम गर्न पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ।

तर पर्यटन विस्तार गर्दा संरक्षणलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा डा. श्रेष्ठले जोड दिएकी छन्। संवेदनशील वन क्षेत्रमा पर्यटकको संख्या सीमित गर्नुपर्ने, तालिमप्राप्त स्थानीय पथप्रदर्शक अनिवार्य गर्नुपर्ने, ठूलो आवाज, ड्रोन प्रयोग, वन्यजन्तुलाई लखेट्ने वा खाना खुवाउने गतिविधिमा पूर्ण प्रतिबन्ध लगाउनुपर्ने र फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्ने उनको सुझाव छ।

उनका अनुसार पर्यटनबाट प्राप्त हुने आम्दानीको निश्चित हिस्सा बाँस–निगालो पुनःरोपण, वन संरक्षण, डढेलो नियन्त्रण, वन्यजन्तु अनुगमन, घरपालुवा कुकुरको नियमित खोप तथा स्थानीय समुदायको जीविकोपार्जनमा लगानी गर्न सके संरक्षण अभियान थप प्रभावकारी बन्न सक्छ।

रातो हाब्रेको बासस्थानमा पछिल्ला वर्षहरूमा जलवायु परिवर्तन, वन विनाश, डढेलो, बाँस–निगालोको कमी, अव्यवस्थित चरिचरन, अवैध सिकार तथा घरपालुवा कुकुरबाट सर्ने रोगजस्ता चुनौती बढ्दै गएको उनले उल्लेख गरेकी छन्। सडक, होटल, केबलकार तथा अन्य पूर्वाधार निर्माणअघि वातावरणीय प्रभाव मूल्याङ्कन गरी वन्यजन्तुको प्राकृतिक आवतजावतका मार्ग सुरक्षित राख्नुपर्ने आवश्यकता पनि उनले औंल्याएकी छन्।

डा. श्रेष्ठका अनुसार स्थानीय सरकार, गौरीशंकर संरक्षण क्षेत्र, सामुदायिक वन उपभोक्ता समूह, पर्यटन व्यवसायी, विद्यालय, अनुसन्धान संस्था तथा स्थानीय समुदायबीच प्रभावकारी सहकार्य हुन सके दोलखालाई नेपालकै अग्रणी रातो हाब्रे संरक्षण तथा जिम्मेवार पर्यापर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिन्छ।

उनले अन्त्यमा सबै सरोकारवालालाई एकताबद्ध भएर प्राकृतिक सम्पदाको संरक्षणमा जुट्न आग्रह गर्दै भनिन्, "रातो हाब्रे जोगाऔँ, दोलखाको प्रकृति चिनाऔँ र पर्यापर्यटनमार्फत स्थानीय समृद्धिको नयाँ आधार निर्माण गरौँ।"

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार