Aug 19 2026 | २०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

होर्मुज जलडमरूमध्य बन्द गर्ने इरानको घोषणा, अमेरिका–इरान तनाव थप चुलियो

होर्मुज जलडमरूमध्य बन्द गर्ने इरानको घोषणा, अमेरिका–इरान तनाव थप चुलियो

नेपाल सम्वत् ११४६, तछलागाः १२ त्रयोदशी (२८ अषाढ, २०८३, १२ जुलाई, २०२६) आईतबार, बाँपिझ्याला । विश्वकै महत्वपूर्ण समुद्री व्यापारिक मार्ग मानिने स्ट्रेट अफ होर्मुज अनिश्चितकालका लागि बन्द गरिएको इरानको घोषणासँगै अमेरिका–इरानबीचको तनाव थप चर्किएको छ। दुवै देशले एकअर्काविरुद्ध कडा चेतावनी दिएका छन् भने क्षेत्रमा सैन्य गतिविधि पनि बढेको छ।

इरानले होर्मुज जलडमरूमध्य अर्को सूचना नआएसम्म बन्द गरिएको जनाएको छ। इरानी इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का अनुसार स्वीकृत मार्ग छाडेर यात्रा गरिरहेको साइप्रसको झण्डा बोकेको एक व्यापारिक जहाजलाई पटक–पटक चेतावनी दिँदा अटेर गरेपछि त्यसमा क्रुज मिसाइल प्रहार गरिएको थियो।

यता, अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले उक्त जहाजमाथिको आक्रमणलाई आधार बनाउँदै इरानविरुद्ध यस साताको तेस्रो चरणको हवाई कारबाही सञ्चालन गरिएको जनाएको छ। अमेरिकी पक्षका अनुसार आक्रमणबाट जहाजको इन्जिन कक्षमा गम्भीर क्षति पुगेको छ भने एक चालकदल सदस्य बेपत्ता छन्।

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले इरानले "गलत निर्णय गरेको" भन्दै त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्। जवाफमा आईआरजीसीले अमेरिका सैन्य हस्तक्षेपमा उत्रिए खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य आधारहरूलाई समेत निशाना बनाइने चेतावनी दिएको छ।

यसअघि पनि खाडी क्षेत्रमा व्यापारिक तेल ट्यांकरमाथि आक्रमण भएका थिए। ती घटनापछि अमेरिकाले गरेको हवाई आक्रमणमा १७ जनाको मृत्यु र ११५ जना घाइते भएको इरानको दाबी छ। त्यसको प्रत्युत्तरस्वरूप इरानले अमेरिकी साझेदार मुलुकहरूलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ।

यस घटनाक्रमपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम समाप्त भएको घोषणा गरेका छन्। यद्यपि कूटनीतिक वार्ता पुनः सुरु गराउने प्रयास जारी रहेको उनले बताएका छन्।

यसैबीच, इरानका नयाँ सर्वोच्च नेता आयतुल्लाह मोज्तबा खामेनीले पहिलो सार्वजनिक सम्बोधन गर्दै अमेरिका र इजरायलविरुद्ध "बदला लिने" चेतावनी दिएका छन्। उता, अमेरिकी सञ्चारमाध्यमहरूले इरानले राष्ट्रपति ट्रम्पमाथि आक्रमण गर्ने योजना बनाएको गुप्त सूचना इजरायलले वासिङ्टनलाई दिएको दाबी गरेका छन्, तर यसको स्वतन्त्र पुष्टि भने भएको छैन।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार