Aug 21 2026 | २०८३, भाद्र ५ गते

Aug 21 2026 | २०८३, भाद्र ५ गते

पशुपति क्षेत्रको सम्पत्ति संरक्षणमा चुनौती, हजारौँ रोपनी जग्गा विवादमा

पशुपति क्षेत्रको सम्पत्ति संरक्षणमा चुनौती, हजारौँ रोपनी जग्गा विवादमा

नेपाल सम्वत् ११४६, तछलागाः १२ त्रयोदशी (२८ अषाढ, २०८३, १२ जुलाई, २०२६) आईतबार, बाँपिझ्याला । आराध्यदेव भगवान् पशुपतिनाथको नाममा रहेको १८ हजार रोपनीभन्दा बढी जग्गामध्ये ठूलो हिस्सा भूमाफियाको कब्जामा परेको तथा केही जग्गा अलपत्र अवस्थामा रहेको तथ्य सार्वजनिक भएको छ। पशुपति क्षेत्र विकास कोषले गठन गरेको ‘पशुपतिनाथको सम्पत्ति तथा गुठी जग्गा अध्ययन एवं छानबिन समिति’को प्रतिवेदनले काठमाडौँ, सिन्धुपाल्चोक, मोरङ, सुनसरीलगायत विभिन्न जिल्लामा रहेका जग्गा संरक्षणमा गम्भीर चुनौती देखिएको जनाएको हो।

प्रतिवेदनअनुसार पशुपतिनाथसँग सम्बन्धित कुल १८ हजार ३८२ रोपनी दुई आना दुई दाम जग्गा रहेको छ। तर तीमध्ये सयौँ रोपनी जग्गा अवैध भोगचलन, प्रशासनिक कमजोरी र राजनीतिक दबाबका कारण कोषको प्रत्यक्ष नियन्त्रणबाहिर रहेको उल्लेख गरिएको छ।

समितिले चाबहिलको जोसमणि मठ, गोपीकृष्ण हल नजिकको नौ रोपनी, बालाजुको नौ रोपनी, सिन्धुपाल्चोकको चार सय रोपनी तथा गोलढुङ्गाको १५० रोपनी जग्गाबारे तत्काल कानुनी छानबिन गरी कोषको स्वामित्व सुनिश्चित गर्न सिफारिस गरेको छ।

समितिका संयोजक तथा कोषका पूर्वसदस्यसचिव डा. मिलनकुमार थापाका अनुसार कोषमातहतका तीन कार्यालयसँग दर्ता प्रमाणित तीन हजार ६६७ रोपनीभन्दा बढी जग्गा रहेको छ भने २३१ रोपनीभन्दा बढी जग्गाको दर्ता प्रक्रिया अझै पूरा हुन बाँकी छ। त्यस्तै एक हजार १६१ रोपनीभन्दा बढी जग्गा ९९ वर्षका लागि सम्झौता गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गल्फ कोर्सलाई प्रयोगका लागि दिइएको छ भने तारागाउँ रिजेन्सी होटलले पनि १७ रोपनी जग्गा भोगचलन गरिरहेको प्रतिवेदनमा उल्लेख छ।

२०७५ सालमा तयार गरिएको उक्त प्रतिवेदनमा विगतमा जग्गा अधिग्रहण र सट्टाभर्ना प्रक्रियामा गम्भीर लापर्बाही भएको दाबी गरिएको छ। कतिपय अवस्थामा जग्गाधनी वा मोहीलाई आवश्यकभन्दा दोब्बर जग्गा उपलब्ध गराएर कोषलाई आर्थिक क्षति पुर्‍याइएको निष्कर्ष पनि प्रतिवेदनमा समेटिएको छ।

प्रतिवेदनले पशुपतिनाथसँग सम्बन्धित पूजा, जात्रा, गुठी तथा धार्मिक सम्पत्तिको व्यवस्थापन एकद्वार प्रणालीबाट सञ्चालन गर्न सुझाव दिएको छ। साथै पशुपति गौशाला धर्मशालासँग सम्बन्धित केही जग्गासमेत कोषमातहत ल्याउन सिफारिस गरिएको छ।

हालका सदस्यसचिव तीर्थ श्रेष्ठले प्रतिवेदनका विषयमा अध्ययन र छलफल भइरहेको बताउँदै आवश्यक निर्णय प्रक्रियामा अघि बढ्ने जानकारी दिएका छन्। गुठी संस्थान काठमाडौँका प्रमुख हरिप्रसाद सुवेदीले पनि पशुपतिनाथको जग्गा संरक्षणका लागि थप अध्ययन र पहल जारी रहेको बताएका छन्।

धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको पशुपतिनाथ क्षेत्रको विशाल सम्पत्ति संरक्षणका लागि प्रभावकारी छानबिन, कानुनी कारबाही र व्यवस्थित व्यवस्थापनको आवश्यकता पुनः उजागर भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार