Aug 19 2026 | २०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

जीवन बचाउने मिसनमा समयसँगको संघर्ष: ‘ट्राफिक’

जीवन बचाउने मिसनमा समयसँगको संघर्ष: ‘ट्राफिक’

एउटा दुर्घटनाले कति मानिसको जीवन एकैपटक बदल्न सक्छ? फिल्म 'ट्राफिक' यही प्रश्नबाट सुरू हुने समयसँगको रोमाञ्चक दौडको कथा हो। यसको केन्द्रमा चार फरक पात्र छन्।

चर्चित अभिनेता देव कपूर, ट्राफिक प्रहरी रामदास गोडबोले, प्रशिक्षार्थी पत्रकार रेहान अली र मुटुरोग विशेषज्ञ डा. एबेल फर्नान्डिस। उनीहरू एकअर्कासँग कुनै सम्बन्ध नभएजस्ता देखिए पनि एउटा अप्रत्याशित दुर्घटनापछि उनीहरूको जीवन एउटै सूत्रमा गाँसिन्छ। दुर्घटनापछि रेहानलाई चिकित्सकहरूले 'ब्रेन डेड' घोषणा गर्छन्। तर उनको मुटुले भने अर्को व्यक्तिको जीवन बचाउन सक्छ। संयोगवश, अभिनेता देव कपूरकी छोरी रियालाई तत्काल मुटु प्रत्यारोपण आवश्यक परेको हुन्छ। समस्या के छ भने, समय अत्यन्त सीमित छ।

खराब मौसमका कारण हवाई मार्ग बन्द भएपछि मुम्बईबाट पुणेसम्म मुटु सडकमार्गबाट पुर्‍याउनु बाहेक अर्को विकल्प रहँदैन। यही असम्भवजस्तो देखिने जिम्मेवारी ट्राफिक प्रहरी रामदास गोडबोलेले आफ्नो काँधमा लिन्छन्। उनीसँगै चिकित्सक एबेल र रेहानका साथी राजीव पनि यात्रामा निस्किन्छन्। Ncell यो यात्रा समयसँगको प्रतिस्पर्धामा सीमित रहँदैन। बाटोमै व्यक्तिगत रहस्यहरू खुल्न थाल्छन्, अप्रत्याशित मोडहरू आउँछन् र प्रत्येक निर्णयले 'मिसन' झन् जोखिमपूर्ण बनाउँदै लैजान्छ।

एकातिर अस्पतालमा जीवन र मृत्युको संघर्ष चलिरहेको हुन्छ भने अर्कोतिर सडकमा प्रत्येक मिनेटसँग दौडिरहेको एउटा टोलीले असम्भवलाई सम्भव बनाउने प्रयास गरिरहेको हुन्छ। मानवता, पश्चात्ताप, कर्तव्यबोध र आशाको कथा बोकेको 'ट्राफिक' ले एउटा साधारण सडक यात्रालाई भावनात्मक र तनावपूर्ण अनुभवमा रूपान्तरण गर्छ। मिसन सफल हुन्छ कि हुँदैन, पात्रहरूको व्यक्तिगत संघर्षले कस्तो मोड लिन्छ र अन्ततः समयमाथि कसको जित हुन्छ भन्ने कुरा भने फिल्ममै हेर्दा अझ प्रभावकारी हुन्छ।

यो मलयालम फिल्म 'ट्राफिक' को रिमेक हो। मलयालम संस्करणका निर्देशक राजेश पिल्लईले नै हिन्दी संस्करणको निर्देशनको जिम्मेवारी सम्हालेका हुन्।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार