नेपाल सम्वत् ११४६, तछलागाः १० एकादशी (२६ अषाढ, २०८३, १० जुलाई, २०२६) शुक्रबार, बाँपिझ्याला । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले उमा भुजेलको नेतृत्वमा ९१ सदस्यीय राष्ट्रिय भेला आयोजक समिति गठन गरेको छ। पार्टीले बिहीबार जारी गरेको विज्ञप्तिमार्फत आगामी भदौ मसान्तभित्र राष्ट्रिय भेला सम्पन्न गर्ने लक्ष्यसहित समिति गठन गरिएको जनाएको हो।
संयोजक उमा भुजेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा वर्तमान राष्ट्रिय राजनीति, वैदेशिक हस्तक्षेप तथा नेपाली कम्युनिस्ट आन्दोलनभित्र देखिएका चुनौती र विचलनबारे गम्भीर समीक्षा गरिएको उल्लेख गरिएको छ। पार्टीले नेपालको राष्ट्रिय स्वाधीनतामाथि बाह्य शक्तिहरूको बढ्दो प्रभाव रहेको दाबी गर्दै जलस्रोत, खनिज सम्पदा र नेपालको भू–राजनीतिक अवस्थालाई केन्द्रमा राखेर विदेशी शक्तिहरूबीच प्रतिस्पर्धा बढिरहेको जनाएको छ। साथै, चीनलाई घेर्ने रणनीतिअन्तर्गत नेपाली कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउने प्रयास भइरहेको आरोप पनि विज्ञप्तिमा गरिएको छ।
नेकपाले बालेन नेतृत्वको सरकारप्रति पनि असन्तुष्टि व्यक्त गरेको छ। विज्ञप्तिमा सरकारले सुकुमबासीमाथि दमन गरेको, धर्मनिरपेक्षता र सङ्घीयतामाथि प्रहार गरेको, मजदुर तथा किसान हितविपरीत बजेट ल्याएको तथा वैदेशिक ऋणको भार बढाएको आरोप लगाइएको छ।
पार्टीले नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध र सशक्त बनाउन विभिन्न माओवादी धाराबीच एकता आवश्यक रहेको धारणा पनि सार्वजनिक गरेको छ। यसका लागि राष्ट्रिय भेलाले आगामी राजनीतिक कार्यदिशा तय गर्ने विश्वास व्यक्त गरिएको छ।
उमा भुजेल यसअघि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) सँग आबद्ध हुनुहुन्थ्यो। पछि उहाँलाई उक्त पार्टीबाट निष्कासन गरिएको थियो। अहिले उहाँकै नेतृत्वमा गठन गरिएको राष्ट्रिय भेला आयोजक समितिले आगामी दिनमा पार्टीको संगठन विस्तार र राजनीतिक गतिविधिलाई अघि बढाउने जनाएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij