Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

दोलखाको अलौकिक ‘नित्पुल’ र रहस्यमय ‘बार लुङ्गा’ पूजा सम्पन्न, लोपोन्मुख परम्परा संरक्षणको चुनौती

दोलखाको अलौकिक ‘नित्पुल’ र रहस्यमय ‘बार लुङ्गा’ पूजा सम्पन्न, लोपोन्मुख परम्परा संरक्षणको चुनौती

नेपाल सम्वत् ११४६, तछलागाः ९ नवमी (२५ अषाढ, २०८३, ०९ जुलाई, २०२६) बिहीबार, बाँपिझ्याला । प्राचिन शहर भीमेश्वर नगरपालिका–२ दोलखामा अवस्थित ऐतिहासिक नित्पुल खेतमा यस वर्ष पनि परम्पराअनुसार तान्त्रिक विधिबाट नित्पुल पूजा तथा रहस्यमय बार लुङ्गा पूजा सम्पन्न भएको छ। दोलखाको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग गाँसिएको यो परम्परा सयौं वर्षदेखि निरन्तर चल्दै आएको मानिन्छ।

स्थानीय परम्पराअनुसार सिंगो गाउँको धान रोपाइँ सम्पन्न नभएसम्म नित्पुल खेतमा रोपाइँ गरिँदैन। गाउँभरका किसानले आफ्नो खेतमा रोपाइँ सकाएपछि मात्रै निश्चित शुभ साइतमा नित्पुल खेतमा तान्त्रिक विधिअनुसार विशेष पूजा, बलि अर्पण र सामूहिक रूपमा धान रोप्ने चलन रहिआएको छ। स्थानीय विश्वासअनुसार यो विधि पूरा नगरी रोपाइँ गरे गाउँमा प्राकृतिक विपत्ति, रोगव्याधि वा अन्नबालीमा क्षति पुग्न सक्ने जनविश्वास रहेको छ। त्यसैले यस परम्परालाई धार्मिक आस्था र सामुदायिक एकताको प्रतीकका रूपमा लिइन्छ।

यस पूजासँग जोडिएको ‘बार लुङ्गा’ नामक रहस्यमय ढुङ्गाको कथा अझ रोचक र अलौकिक मानिन्छ। किंवदन्तीअनुसार सत्ययुगदेखि गाउँमा हुने विवाह, भोजभतेर, जात्रा तथा अन्य शुभकार्यका लागि आवश्यक सुन–चाँदीका गरगहना, तामाका तथा पित्तलका भाँडाकुँडा यही बार लुङ्गाबाट माग्ने प्रचलन थियो। आवश्यक सामग्रीको सूची ढुङ्गामा चढाएर पूजा गरेपछि अर्को दिन ती सामग्री प्राप्त हुने र कार्यक्रम सम्पन्न भएपछि पुनः सफा गरी सोही स्थानमा फिर्ता राख्ने चलन रहेको स्थानीय बुढापाकाहरू बताउँछन्। यस कथालाई पुस्तौंदेखि मौखिक रूपमा संरक्षण गर्दै आइएको भए पनि यसको ऐतिहासिक तथ्यबारे औपचारिक अध्ययन भने हुन सकेको छैन।

नित्पुल र बार लुङ्गा पूजा दोलखाको मौलिक सांस्कृतिक सम्पदाका रूपमा चिनिन्छ। यसले स्थानीय समाजमा धार्मिक आस्था मात्र होइन, आपसी सहकार्य, विश्वास र सामुदायिक सद्भावलाई पनि बलियो बनाउँदै आएको छ। प्रत्येक वर्ष पालो प्रणालीअनुसार सम्बन्धित परिवारले पूजा व्यवस्थापन गर्ने परम्परा छ। यस वर्ष उक्त पूजा सम्पन्न गराउने जिम्मेवारी माने निवासी बद्रीदेवी श्रेष्ठको पालो परेको थियो। उहाँको नेतृत्वमा स्थानीयवासीको सक्रिय सहभागितामा सम्पूर्ण धार्मिक विधि सम्पन्न गरिएको हो।

यद्यपि पछिल्ला वर्षहरूमा बसाइँसराइ, आधुनिक जीवनशैली, कृषिप्रतिको घट्दो आकर्षण र नयाँ पुस्तामा परम्परागत संस्कृतिप्रतिको कम चासोका कारण यस्ता ऐतिहासिक र अलौकिक परम्परा संकटमा पर्दै गएको स्थानीयको भनाइ छ। पहिले गाउँका अधिकांश परिवारको सक्रिय सहभागिता रहने यो परम्परामा अहिले सहभागी हुने संख्या घट्दै गएको उनीहरू बताउँछन्।

स्थानीय अग्रजहरूका अनुसार नित्पुल र बार लुङ्गा पूजा दोलखाको सांस्कृतिक पहिचान र ऐतिहासिक गौरवसँग जोडिएको अमूल्य सम्पदा भएकाले यसको संरक्षण आवश्यक छ। उनीहरूले स्थानीय सरकार, संस्कृति संरक्षणसँग सम्बन्धित निकाय तथा युवा पुस्ताले यसको इतिहास, धार्मिक मान्यता र सांस्कृतिक महत्वलाई दस्तावेजीकरण गर्दै भावी पुस्तासम्म पुर्‍याउन विशेष पहल गर्नुपर्नेमा जोड दिएका छन्।

सयौं वर्षदेखि निरन्तर चल्दै आएको यो अलौकिक परम्परा दोलखाको मौलिक सभ्यता, संस्कृति र धार्मिक विश्वासको जीवन्त उदाहरणका रूपमा आज पनि कायम रहेको छ। यसको संरक्षण र निरन्तरताले दोलखाको ऐतिहासिक पहिचानलाई अझ सुदृढ बनाउने विश्वास स्थानीय समुदायले व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार