नेपाल सम्वत् ११४६, तछलागाः ८ अष्ठमी (२४ अषाढ, २०८३, ०८ जुलाई, २०२६) बुधबार, बाँपिझ्याला । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सञ्चालित ‘हेलो सरकार’ शाखाको अवलोकन तथा निरीक्षण गर्नुभएको छ। मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहसँगै मन्त्रीद्वयले शाखाको अवलोकन गर्दै गुनासो व्यवस्थापन प्रणाली, सेवा प्रवाह र गुनासो फछ्र्योटको अवस्थाबारे जानकारी लिनुभएको हो।
अवलोकनका क्रममा मन्त्रीद्वयले नागरिकबाट प्राप्त हुने प्रत्येक गुनासोप्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै सम्बन्धित मन्त्रालयहरूले समयमै समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो। उहाँहरूले प्रभावकारी समन्वयका साथ गुनासो व्यवस्थापन गर्न कर्मचारीलाई निर्देशन दिँदै नागरिकको विश्वास कायम राख्न छिटो र गुणस्तरीय सेवा प्रवाह आवश्यक रहेको बताउनुभयो।
उहाँहरूका अनुसार ‘हेलो सरकार’मा गुनासोको सङ्ख्या बढ्दै जानुले सरकारी सेवाप्रति नागरिकको पहुँच र विश्वास दुवै बढेको संकेत गर्दछ। त्यसैले प्राप्त उजुरीलाई प्राथमिकताका साथ समयमै फछ्र्योट गर्नु सरकारको मुख्य दायित्व भएको उहाँहरूले स्पष्ट पार्नुभयो।
मन्त्री श्रेष्ठ र पौडेलले मन्त्रालयसँग सम्बन्धित गुनासोको शीघ्र समाधानका लागि समन्वय संयन्त्रलाई अझ प्रभावकारी बनाइने जानकारी पनि दिनुभयो। पछिल्लो समय ‘हेलो सरकार’ सरकारी निकाय र नागरिकबीच प्रत्यक्ष संवाद गर्ने प्रभावकारी केन्द्रीय प्लेटफर्मका रूपमा स्थापित हुँदै गएको सरकारको भनाइ छ।
सरकारको शासकीय सुधारसम्बन्धी सयदिने कार्यसूचीअनुसार ‘हेलो सरकार’ सेवा अहिले चौबिसै घण्टा सञ्चालनमा रहेको छ। बहुच्यानल प्रणाली, आधुनिक प्रविधि र सबै मन्त्रालयसँग प्रत्यक्ष जोडिएको एकीकृत प्रणालीमार्फत गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउने काम भइरहेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आगामी दिनमा कृत्रिम बौद्धिकता (एआई) मा आधारित प्रणाली लागू गरी गुनासो दर्ता, सम्बन्धित निकायमा स्वचालित रूपमा पठाउने तथा सेवाग्राहीलाई प्रगति अवस्थाबारे नियमित जानकारी दिने व्यवस्था गरिने तयारी गरिएको छ।
कार्यालयका अनुसार असार २४ गतेसम्म ‘हेलो सरकार’ प्रणालीमा १ लाख ३१ हजार ८७५ गुनासा तथा उजुरी दर्ता भएका छन्। तीमध्ये करिब ७० प्रतिशत गुनासा फछ्र्योट भइसकेका छन्।
त्यसैगरी, वर्तमान सरकार गठन भएको गत चैत १३ गतेयता ‘हेलो सरकार’मा दर्ता हुने गुनासा तथा उजुरीको सङ्ख्या ८३८ प्रतिशत ले वृद्धि भएको छ भने सोही अवधिमा गुनासा फछ्र्योटको दर ९७५ प्रतिशत ले बढेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। सरकारले गुनासो व्यवस्थापनलाई सुशासन र सेवा प्रवाह सुधारको प्रमुख आधारका रूपमा अघि बढाइरहेको कार्यालयको भनाइ छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij