Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

युद्धविरामबीच दक्षिणी इरानमा अमेरिकी हवाई आक्रमण, तेल बजारमा हलचल

युद्धविरामबीच दक्षिणी इरानमा अमेरिकी हवाई आक्रमण, तेल बजारमा हलचल

नेपाल सम्वत् ११४६, तछलागाः ८ अष्ठमी (२४ अषाढ, २०८३, ०८ जुलाई, २०२६) बुधबार, बाँपिझ्याला । युद्धविरामको अवस्थाबीच अमेरिकाले बुधबार बिहान दक्षिणी इरानका विभिन्न सैन्य संरचनामाथि व्यापक हवाई आक्रमण गरेको छ। अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले हर्मुज जलडमरूमध्य हुँदै गुज्रिरहेका तीनवटा जहाजमाथि भएको आक्रमणको प्रतिक्रियास्वरूप उक्त कारबाही गरिएको जनाएको छ। अमेरिकाले ती आक्रमणमा इरानको संलग्नता रहेको आरोप लगाएको छ।

इरानी सञ्चारमाध्यमहरूका अनुसार सिरिक, केश्म टापु र बन्दर अब्बास क्षेत्रमा लगातार विस्फोटका आवाज सुनिएका छन्। हवाई आक्रमणपछि विभिन्न स्थानमा आगलागी भएको जनाइएको भए पनि क्षति तथा मानवीय हताहतबारे इरानले आधिकारिक विवरण सार्वजनिक गरेको छैन।

अमेरिकी अधिकारीहरूका अनुसार आक्रमणको मुख्य लक्ष्य इरानको वायु रक्षा प्रणाली, तटीय निगरानी राडार, मिसाइल प्रक्षेपण स्थल, ड्रोन अड्डा तथा केही बन्दरगाहका सैन्य पूर्वाधार थिए। बन्दर अब्बासस्थित शाहिद हक्कानी बन्दरगाह पनि आक्रमणको निशानामा परेको बताइएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा बन्दरगाह क्षेत्रबाट बाक्लो धुवाँ उठिरहेको देखिएको छ।

सेन्टकमले ८० भन्दा बढी इरानी सैन्य लक्ष्यमा सटीक हतियार प्रयोग गरी आक्रमण गरिएको दाबी गरेको छ। साथै हर्मुज जलडमरूमध्य क्षेत्रमा रहेका ६० भन्दा बढी साना इरानी सैन्य डुङ्गालाई पनि निशाना बनाइएको जनाएको छ।

यस घटनापछि अन्तर्राष्ट्रिय तेल बजारमा तत्काल प्रभाव परेको छ। अमेरिकी कच्चा तेलको मूल्य २.७ प्रतिशतले बढेर प्रतिव्यारेल ७२.४० अमेरिकी डलर पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

यसैबीच अमेरिकाले जुलाई १७ देखि लागू हुने गरी इरानी तेल निर्यातमाथि थप प्रतिबन्ध लगाउने घोषणा गरेको छ। यसबाट विश्व बजारमा तेल आपूर्तिमा अवरोध आउन सक्ने आशंकाले मूल्य थप उकालो लागेको विश्लेषण गरिएको छ।

बढ्दो भूराजनीतिक तनावको असर वित्तीय बजारमा पनि देखिएको छ। मुद्रास्फीति र ब्याजदर बढ्ने चिन्ताका कारण अमेरिकी १० वर्षे ट्रेजरी बन्ड फ्युचर्समा समेत गिरावट आएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार