Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

पोर्चुगलमा समस्यामा परेका दुई हजार नेपालीलाई राहत, टीआरसी प्राप्त

पोर्चुगलमा समस्यामा परेका दुई हजार नेपालीलाई राहत, टीआरसी प्राप्त

नेपाल सम्वत् ११४६, तछलागाः ७ सप्तमी (२३ अषाढ, २०८३, ०७ जुलाई, २०२६) मंगलबार, बाँपिझ्याला । पोर्चुगलमा कन्सुलर प्रमाणीकरणको नक्कली छापका कारण कानुनी समस्यामा परेका दुई हजारभन्दा बढी नेपालीको समस्या समाधान भएको छ। पोर्चुगल सरकारले प्रभावित नेपालीलाई पुनः सक्कल प्रहरी चारित्रिक प्रमाणपत्र पेस गर्ने अवसर दिएपछि अधिकांशले अस्थायी बसोबास कार्ड (टीआरसी) प्राप्त गरेका छन्।

पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलका अनुसार लामो समयसम्म दुई देशबीच विभिन्न तहमा भएको कूटनीतिक पहल र वार्तापछि पोर्चुगल सरकारले पुनः कागजात बुझाउने सुविधा उपलब्ध गराएको हो। त्यसपछि समस्यामा परेका झण्डै सबै नेपालीले टीआरसी प्राप्त गरी पोर्चुगलमै कानुनी रूपमा बस्न पाएका छन्।

यो समस्या सन् २०२५ को डिसेम्बरदेखि देखिन थालेको थियो। पोर्चुगलको एजेन्सी फर इन्टिग्रेसेन, माइग्रेसन एन्ड असाइलम (एआईएमए)ले टीआरसीका लागि आवेदन दिएका करिब दुई हजार नेपालीको प्रहरी चारित्रिक प्रमाणपत्रमा रहेको कन्सुलर प्रमाणीकरणको छाप नक्कली भएको भन्दै आवेदन अस्वीकार गरेको थियो। त्यसपछि धेरै नेपालीलाई देश छाड्नुपर्ने अवस्था सिर्जना भएको थियो।

समस्या समाधानका लागि नेपाल र पोर्चुगलबीच परराष्ट्र सचिव तथा परराष्ट्रमन्त्री तहसम्म छलफल भएको थियो। नेपाली राजदूत पौडेलले पनि पोर्चुगलको विदेश मन्त्रालयसँग पटक–पटक वार्ता गर्दै समाधानका लागि पहल गरेका थिए। त्यसको परिणामस्वरूप सन् २०२६ को अप्रिलदेखि प्रभावित नेपालीलाई पुनः सक्कल कागजात बुझाउने अवसर दिइएको थियो।

अनुसन्धानका क्रममा विशेषगरी सन् २०२४ को जुलाईदेखि २०२५ को अप्रिलसम्म प्रमाणीकरण गरिएका केही प्रहरी रिपोर्टमा नयाँ दिल्लीस्थित प्रक्रिया क्रममा प्रयोग गरिएका नक्कली छाप भेटिएको खुलासा भएको थियो। नेपालमा पोर्चुगलको दूतावास नहुँदा त्यतिबेला कागजात प्रमाणीकरणका लागि भारतको नयाँ दिल्ली वा फ्रान्सस्थित नेपाली दूतावासको सहारा लिनुपर्ने अवस्था थियो।

हाल पोर्चुगलमै नेपाली दूतावास सञ्चालनमा आइसकेकाले प्रहरी चारित्रिक प्रमाणपत्रलगायत कन्सुलर प्रमाणीकरणका काम सहज बनेका छन्। यससँगै भविष्यमा यस्ता समस्या दोहोरिन नदिन दूतावासले आवश्यक सतर्कता अपनाइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार