नेपाल सम्वत् ११४६, तछलागाः ७ सप्तमी (२३ अषाढ, २०८३, ०७ जुलाई, २०२६) मंगलबार, बाँपिझ्याला । सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज मध्याह्न १२:१५ बजे बस्दैछ। बैठकमा आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालय तथा संवैधानिक निकायको बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ।
संसद् सचिवालयका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा वातावरण मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा राष्ट्रिय योजना आयोगको सचिवालयसँग सम्बन्धित बजेट शीर्षकमा उठेका प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिनेछन्।
मन्त्रीहरूको जवाफपछि राष्ट्रिय सभाका अध्यक्षले विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न शीर्षकमा सांसदहरूले दर्ता गरेका खर्च कटौतीका प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
त्यसपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ पारित गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभामा प्रस्तुत गर्नेछन्।
यसैगरी, प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८३ र राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि अर्थमन्त्री वाग्लेले बैठकमा पेश गर्ने कार्यसूची रहेको छ।
आजको बैठकलाई चालु बजेट पारित गर्ने प्रक्रियाको महत्वपूर्ण चरणका रूपमा हेरिएको छ। विनियोजन विधेयकसँगै आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकमाथिको छलफल तथा निर्णयले आगामी आर्थिक वर्षको सरकारी खर्च, राजस्व व्यवस्थापन र वित्तीय सञ्चालनको मार्ग प्रशस्त गर्नेछ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij