नेपालमा अटोमोबाइल तथा औद्योगिक इन्जिनियरिङ क्षेत्रले विस्तारै गति लिइरहेका बेला केही व्यक्तित्वहरूले आफ्नो मेहनत, सीप र लगनशीलताका बलमा यस क्षेत्रमा छुट्टै पहिचान स्थापित गरेका छन्। त्यस्ता सफल र प्रेरणादायी व्यक्तित्वमध्ये एक हुन् श्यामकृष्ण प्रधान।
दोलखा जिल्ला, भीमेश्वर नगरपालिका–२, नागदह निवासी ७३ वर्षीय श्यामकृष्ण प्रधान स्वर्गीय पदमबहादुर श्रेष्ठ र धर्मकुमारी श्रेष्ठका जेठा सुपुत्र हुन्। सामान्य परिवारबाट जीवनको यात्रा सुरु गरेका उनले कठिन परिश्रम, प्राविधिक दक्षता र इमानदार व्यवसायिक अभ्यासका माध्यमबाट नेपालकै प्रतिष्ठित इन्जिनियरिङ व्यवसायीका रूपमा आफूलाई स्थापित गरेका छन्।
करिब पाँच दशकअघिको नेपालमा आधुनिक मेसिन र प्राविधिक सुविधा सीमित थिए। त्यही कठिन समयमा विदेशबाट इन्जिनियरिङसम्बन्धी तालिम हासिल गरी वि.सं. २०३६ सालमा उनले प्रधान इन्जिनियरिङ इन्डस्ट्रिज स्थापना गरे। पाटनको सुन्धाराबाट सुरु भएको सानो कार्यशाला आज महालक्ष्मी नगरपालीका वडा न. १, ईमाडोलस्थित आधुनिक उद्योगका रूपमा विकसित भएको छ।
प्रधानको विश्वास सधैं एउटै रह्यो—गुणस्तरीय काम नै व्यवसायको सबैभन्दा ठूलो विज्ञापन हो। यही सिद्धान्तका कारण उनको उद्योगले देशभरका हजारौं ग्राहकको विश्वास जित्न सफल भएको छ।
आज प्रधान इन्जिनियरिङ इन्डस्ट्रिजमा इन्जिनियर, दक्ष प्राविधिक र मिस्त्रीसहित करिब २५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। संस्थाले अटोमोबाइल, औद्योगिक मेसिन, हेभी इक्विपमेन्ट तथा जेनेरेटर इन्जिनको मर्मत, पुनःनिर्माण, मेसिनिङ, स्पेयर पाट्र्स निर्माण तथा आपूर्तिसहित सम्पूर्ण इन्जिनियरिङ सेवा प्रदान गर्दै आएको छ।
इन्जिन बोरिङ, सिलिन्डर होनिङ, क्र्याङ्कसाफ्ट ग्राइन्डिङ, सिलिन्डर हेड सिट कटिङ, फ्युल इन्जेक्सन पम्प मर्मत, इन्जिन ओभरहोलिङ, औद्योगिक गियर निर्माण, बकेट पुनःनिर्माण, चेन स्प्रोकेट निर्माण तथा हेभी इक्विपमेन्ट मर्मतजस्ता जटिल प्राविधिक कार्यहरू संस्थाको प्रमुख विशेषज्ञता हुन्।
मारुति, टोयोटा, टाटा, आइशर, कोमात्सु, क्याटरपिलर, हुन्डाई, कमिन्स, माज्दा, मर्सिडिजलगायत विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका सवारीसाधन र औद्योगिक उपकरणमा सेवा प्रदान गर्दै आएको यस उद्योगले पछिल्लो समय जलविद्युत् आयोजना तथा एअरलाइन्स क्षेत्रमा समेत आफ्नो सेवा विस्तार गरिसकेको छ।
श्यामकृष्ण प्रधान केवल सफल व्यवसायी मात्र होइनन्, सामाजिक उत्तरदायित्वप्रति पनि उत्तिकै संवेदनशील व्यक्तित्व हुन्। दोलखाको ऐतिहासिक संस्था द्वाल्खा गुठीको वि.सं. २०६५÷६६ को कार्यसमिति सदस्यका रूपमा उनले समाजसेवामा योगदान दिएका थिए। औपचारिक जिम्मेवारीबाट अलग भए पनि आजसम्म सामाजिक तथा सांस्कृतिक गतिविधिमा सहयोग गर्दै आएका छन्।
प्रधान आफ्नो सफलताको आधार परिवारलाई मान्छन्। उनकी पत्नीहरू कृष्णलक्ष्मी श्रेष्ठ प्रधान र विजयालक्ष्मी श्रेष्ठ प्रधानले व्यवसायिक यात्रामा निरन्तर साथ दिएका छन्।
उनका तीन छोरा र एक छोरी आफ्ना–आफ्ना क्षेत्रमा स्थापित छन्। जेठा छोरा सुरज प्रधान इन्जिनियर, माइला छोरा डा. सुजन प्रधान चिकित्सक, कान्छा छोरा सुमन श्रेष्ठ लेखक तथा छोरी सुमिता प्रधान समाजशास्त्रमा स्नातकोत्तर उत्तीर्ण हुन्। आफ्ना सन्तानलाई योग्य र आत्मनिर्भर बनाउन सकेकोमा उनी गर्व महसुस गर्छन्।
करिब पाँच दशकदेखि उद्योग व्यवसायमा सक्रिय रहेका प्रधान नेपालको आर्थिक र औद्योगिक अवस्थालाई नजिकबाट नियालिरहेका छन्। उनका अनुसार राजनीतिक अस्थिरता, नीतिगत अनिश्चितता र भ्रष्टाचारका कारण निजी क्षेत्रले अपेक्षित वातावरण पाउन सकेको छैन।
एक समय देशको औद्योगिक मेरुदण्ड मानिएका धेरै सरकारी उद्योग बन्द हुँदा उत्पादन घटेको, रोजगारीका अवसर खुम्चिएको र युवाहरू वैदेशिक रोजगारीतर्फ जान बाध्य भएको उनको बुझाइ छ।

भूकम्प, कोभिड–१९, डेंगुजस्ता प्राकृतिक तथा स्वास्थ्यजन्य संकटले पनि नेपालको अर्थतन्त्रलाई ठूलो क्षति पु¥याएको उनी बताउँछन्। त्यसैले उत्पादनमुखी अर्थतन्त्र, उद्योगमैत्री नीति, सुशासन र स्थिर सरकार नै नेपालको समृद्धिको आधार हुने उनको विश्वास छ।
श्यामकृष्ण प्रधानको जीवनले एउटा सन्देश दिन्छ—सफलता भाग्यले होइन, मेहनत, सीप, इमानदारी र निरन्तरताले प्राप्त हुन्छ।
करिब ४७ वर्षको व्यवसायिक यात्रामा उनले ग्राहकको विश्वासलाई सम्पत्तिभन्दा ठूलो पूँजी माने। यही मूल्य र मान्यताले उनलाई नेपालको इन्जिनियरिङ क्षेत्रमा विशिष्ट स्थान दिलाएको छ।
आज पनि उनी नयाँ पुस्तालाई सीप सिक्न, स्वदेशमै उद्यम गर्न र गुणस्तरीय उत्पादनमार्फत राष्ट्र निर्माणमा योगदान दिन प्रेरित गरिरहेका छन्।
जीवनको उत्तरार्धमा पुगे पनि उनको उत्साह, कर्मशीलता र भविष्यप्रतिको आशावादिता युवा पुस्ताका लागि प्रेरणाको स्रोत बनेको छ। संघर्षबाट सफलता हासिल गर्न चाहने जो–कोहीका लागि श्यामकृष्ण प्रधानको जीवनयात्रा एउटा प्रेरणादायी उदाहरण हो।
व्यवसायका सिलसिलामा काठमाडौंमा स्थायी बसोबास गर्दै आए पनि श्यामकृष्ण प्रधानको मन भने सधैं आफ्नै जन्मभूमि दोलखामै जोडिएको छ। उनी दोलखाको समग्र विकास, समृद्धि र ऐतिहासिक पहिचान अझ सुदृढ बनेको हेर्न चाहन्छन्।
उनका अनुसार स्थानीय विकासका गतिविधिमा जनभावना र साझा हितभन्दा राजनीतिक प्रभाव बढी हाबी हुने प्रवृत्तिले अपेक्षित परिणाम दिन सकेको छैन। विकासका योजनाहरू राजनीतिक स्वार्थभन्दा माथि उठेर जनताको आवश्यकता र क्षेत्रको दीर्घकालीन हितलाई केन्द्रमा राखी अघि बढाइनुपर्ने उनको धारणा छ।
ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको प्राचीन दोलखा शहरको आफ्नै मौलिक पहिचान रहेको उल्लेख गर्दै प्रधानले यसको संरक्षण, संवद्र्धन र व्यवस्थित विकासका लागि भीमेश्वर नगरपालिका तथा वडा नं. २ ले दीर्घकालीन र प्रभावकारी योजना ल्याउनुपर्ने आवश्यकता औँल्याउँछन्। उनका विचारमा दोलखाको मौलिक सम्पदा जोगाउँदै पर्यटनसँग जोडेर विकास गर्न सके जिल्लाको आर्थिक समृद्धिमा उल्लेखनीय योगदान पुग्न सक्छ।
प्रधान दोलखाको विकासका लागि सबैभन्दा आवश्यक पक्ष जिल्लावासीबीचको आपसी एकता भएको बताउँछन्। राजनीतिक विचार फरक हुन सक्छन्, तर जिल्लाको समृद्धिका लागि सबै एकजुट हुनुपर्ने उनको भनाइ छ। सानो भूगोल भए पनि दोलखा राजनीतिक रूपमा अत्यन्त सक्रिय जिल्ला भएकाले विकासका मुद्दालाई साझा एजेन्डाका रूपमा अघि बढाउनुपर्ने उनको सुझाव छ।
आफ्नो जन्मस्थान नागदहलाई प्राकृतिक सौन्दर्य र पर्यटकीय सम्भावना बोकेको महत्वपूर्ण गन्तव्यका रूपमा चित्रण गर्दै उनले त्यहाँ अझै गुणस्तरीय पक्की सडक नपुग्नु दुःखद भएको बताए। चालु आर्थिक वर्षमा केही बजेट विनियोजन भए पनि त्यसले सडक निर्माणलाई पूर्णता दिन पर्याप्त नहुने उनको भनाइ छ। नागदहलगायतका पर्यटकीय क्षेत्रको पूर्वाधार विकासमा राज्यले प्राथमिकता दिए स्थानीय पर्यटन, रोजगारी र आर्थिक गतिविधिमा उल्लेखनीय वृद्धि हुने विश्वास उनले व्यक्त गरेका छन्।
अन्त्यमा श्यामकृष्ण प्रधानले आफ्ना विचार र अनुभवलाई नेपाल दाजुभाई, दिदीबहीनीहरु बिच पु¥याउने अवसर प्रदान गरेकोमा बाँपिझ्याला मिडिया परिवारप्रति विशेष आभार व्यक्त गरेका छन्। उनले दोलखाको नेपाल (नेवार) भाषा, कला, संस्कृति तथा सम्पदाको संरक्षण र प्रवद्र्धनमा बाँपिझ्याला मिडियाले निरन्तर निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गर्दै यस्तो अभियानमा सम्पूर्ण दोलखावासीको साथ, सहयोग र सहभागिता आवश्यक रहेको बताएका छन्। आफू पनि यस्ता सामाजिक तथा सांस्कृतिक अभियानमा सधैं सहयोग गर्न प्रतिबद्ध रहेको उनको भनाइ छ।
साथै, करिब पाँच दशकको आफ्नो व्यवसायिक यात्रामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग, विश्वास र हौसला प्रदान गर्ने परिवार, आफन्त, कर्मचारी, शुभेच्छुक, ग्राहक तथा सम्पूर्ण सहयोगीप्रति उनले हार्दिक कृतज्ञता व्यक्त गरेका छन्। उनी भन्छन्, “आज म जुन स्थानमा पुगेको छु, त्यो केवल मेरो प्रयासले मात्र सम्भव भएको होइन, मप्रति विश्वास गर्ने सम्पूर्ण शुभेच्छुकहरूको साथ र सद्भावकै परिणाम हो।”

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij