नेपाल सम्वत् ११४६, तछलागाः ४ चौथी (२० अषाढ, २०८३, ०४ जुलाई, २०२६) शनिवार, बाँपिझ्याला । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट प्रदेशसभाबाट बहुमतले पारित भएको छ। सत्तारूढ दलभित्र बजेटलाई लिएर मतभेद देखिएको र नेपाली कांग्रेसले आफ्ना सांसदलाई ‘ह्वीप’ जारी गरेको अवस्थाबीच शनिबार (असार २०) बजेट पारित गरिएको हो।
प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले प्रदेश आर्थिक विधेयक, २०८३ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त प्रस्तावलाई उपसभामुख अप्सरा चापागाईंले निर्णयार्थ प्रस्तुत गरेपछि बहुमतले स्वीकृत गरेको हो।
मन्त्री तामाङले गत असार १ गते प्रदेशसभामा बजेट प्रस्तुत गरेका थिए। बजेटमाथि असार १६ गतेदेखि निरन्तर छलफल भएको थियो। छलफलका क्रममा सत्तापक्षकै केही सांसदले योजना छनोट, बजेट वितरण र प्राथमिकता निर्धारणप्रति असन्तुष्टि जनाएका थिए।
सांसदहरूको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बजेट सरकारको नीति तथा कार्यक्रमअनुरूप तयार गरिएको स्पष्ट पार्नुभयो। उहाँका अनुसार बजेट कुनै व्यक्ति, समूह वा क्षेत्र विशेषलाई लक्षित नभई प्रदेशको समग्र आवश्यकता, विकास प्राथमिकता र दीर्घकालीन नीतिलाई केन्द्रमा राखेर निर्माण गरिएको हो।
मुख्यमन्त्री बानियाँले प्रदेश सरकारको मुख्य उद्देश्य गरिबी न्यूनीकरण, उत्पादन वृद्धि, रोजगारी सिर्जना र पूर्वाधार विकास रहेको उल्लेख गर्दै बजेटको केन्द्रमा गरिब, विपन्न तथा सीमान्तकृत समुदाय रहेको बताउनुभयो।
उहाँले बजेट कार्यान्वयनमा ढिलाइ नहुने दाबी गर्दै साउन महिनाको सुरुदेखि नै आवश्यक कार्यविधि स्वीकृत गरी ठेक्का प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो। अधिकांश विकास निर्माणका आयोजना वर्षायामपछि तीव्र रूपमा कार्यान्वयन गरिने र हिउँदको अनुकूल मौसमलाई लक्षित गरी निर्माण कार्य सम्पन्न गर्ने रणनीति सरकारले अपनाएको पनि उहाँले बताउनुभयो।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij