नेपाल सम्वत् ११४६, तछलागाः ४ चौथी (२० अषाढ, २०८३, ०४ जुलाई, २०२६) शनिवार, बाँपिझ्याला । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र डा. शेखर कोइरालाबीच शनिबार भेटवार्ता भएको छ। संस्थापन इतर समूहका शीर्ष नेताहरूको बैठक सम्पन्न भएको एक दिनपछि दुई नेताबीच भएको यो भेटलाई कांग्रेसको आन्तरिक राजनीतिक गतिविधिसँग जोडेर हेरिएको छ।
डा. कोइराला पूर्वउपसभापति निधिलाई भेट्न बानेश्वर हाइटस्थित उनको निवास पुगेका थिए। दुई नेताबीच करिब एक घण्टा समसामयिक राजनीतिक विषय र पार्टीको भावी रणनीतिबारे छलफल भएको निधिनिकट स्रोतले जनाएको छ।
स्रोतका अनुसार शुक्रबार पूर्णबहादुर खड्काको निवासमा भएको संस्थापन इतर समूहको बैठक, पार्टीलाई आगामी दिनमा कसरी प्रभावकारी रूपमा अघि बढाउने तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा संघीयतासम्बन्धी उठेका विषयमा समेत उनीहरूबीच विचारविमर्श भएको थियो।
यसअघि बिहीबार डा. शेखर कोइरालाले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग गल्फुटारस्थित निवासमा भेटवार्ता गरेका थिए। सोही दिन खड्का र कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाबीच महाराजगञ्जस्थित कोइराला निवासमा पनि छलफल भएको थियो।
बिहीबार नै पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री डा. शशांक कोइराला र अर्का पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच पनि छुट्टै छलफल भएको थियो। त्यसलगत्तै शुक्रबार पूर्णबहादुर खड्काको नेतृत्वमा संस्थापन इतर समूहको बैठक गल्फुटारमा बसेको थियो।
बैठकले असार २२ गते चुनदेवीमा सञ्चालनमा ल्याइएको सम्पर्क कार्यालयमा अर्को बैठक बोलाई राष्ट्रिय भेलाको तयारीबारे विस्तृत छलफल गर्ने निर्णय गरेको थियो।
गल्फुटार बैठकपछि नेता मीन विश्वकर्माले असार २२ गते बस्ने बैठकले राष्ट्रिय भेलाको मिति तय गर्ने जानकारी दिएका थिए। यद्यपि, शुक्रबारको उक्त बैठकमा डा. शेखर कोइराला भने सहभागी भएका थिएनन्।
पछिल्ला दिनहरूमा कांग्रेसभित्र संस्थापन इतर समूहका नेताहरूबीच निरन्तर भइरहेको भेटघाट र छलफललाई आगामी संगठनात्मक रणनीति तथा राष्ट्रिय भेलाको तयारीसँग जोडेर हेरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij