बलिउडमा प्रेमकथामा आधारित फिल्मको कमी छैन। तर सन् १९७४ मा प्रदर्शनमा आएको 'रजनीगन्धा' प्रेमलाई नाटकीय मोड वा चर्का संवादमार्फत होइन, मानवीय मनोविज्ञानको सूक्ष्म तहमा पुगेर प्रस्तुत गर्ने दुर्लभ फिल्म हो। निर्देशक बासु चटर्जी ले सामान्य मध्यमवर्गीय युवतीको मनमा चलिरहेको प्रेम, सम्झना र निर्णयको अन्तर्द्वन्द्वलाई अत्यन्त सहज तर प्रभावशाली ढंगले पर्दामा उतारेका छन्।
फिल्मको सुरुवातमै नायिका दीपा ले देखेको एउटा सपनाले कथाको भावभूमि निर्माण गर्छ। रेल छुटेर आफू एक्लै परिरहेको सपना उनको अवचेतन मनको डर र असुरक्षाको प्रतीक हो। कुनै संवादबिनै पात्रको मानसिक अवस्था दर्शकसम्म पुर्याउने निर्देशकको यो शैली फिल्मको सबैभन्दा सशक्त पक्षमध्ये एक हो।
दीपा शिक्षित, आत्मनिर्भर र जागिरको खोजीमा रहेकी युवती हुन्। उनी आफ्ना प्रेमी संजय सँग विवाहको तयारीमा रहँदै मुम्बई जागिरको अन्तर्वार्ताका लागि पुग्छिन्। त्यहाँ वर्षौँपछि उनको भेट पूर्वप्रेमी नवीन सँग हुन्छ। नवीनले जागिरका लागि सहयोग गर्नुका साथै मुम्बई घुमाउँछन्। यही पुनर्मिलनसँगै दीपाको मनमा पुराना भावना फेरि जाग्न थाल्छन्।
फिल्मको मुख्य शक्ति प्रेम त्रिकोण होइन, दीपाको मनभित्रको द्वन्द्व हो। एकातिर जिम्मेवार तर केही लापरवाह स्वभावका वर्तमान प्रेमी संजय छन् भने अर्कोतर्फ संवेदनशील, समयको कदर गर्ने र दीपाको भावना सहजै बुझ्ने नवीन। यी दुई पात्रबीचको तुलना दीपाको मनमा निरन्तर चलिरहन्छ। यही मनोवैज्ञानिक संघर्षले फिल्मलाई गहिराइ दिन्छ।
यस द्वन्द्वलाई संगीतले अझ प्रभावशाली बनाएको छ। 'कही बार यूँ भी देखा है...' गीतले दीपाको असमञ्जस र भावनात्मक अन्योललाई सुन्दर ढंगले व्यक्त गर्छ। त्यसैगरी 'रजनीगन्धा फूल तुम्हारे...' गीत प्रेम, सम्झना र भावनाको प्रतीकका रूपमा फिल्मभरि गुञ्जिरहन्छ।
नायिका विद्या सिन्हा ले दीपाको भूमिकामा अत्यन्त स्वाभाविक अभिनय गरेकी छन्। आँखाको हाउभाउ, मौनता र सामान्य भावभङ्गिमामार्फत उनले पात्रको मनोदशा प्रभावकारी रूपमा प्रस्तुत गरेकी छन्। यसै फिल्मले उनलाई बलिउडमा स्थापित अभिनेत्रीका रूपमा चिनायो। अमोल पालेकर (संजय) र दिनेश ठाकुर (नवीन) ले पनि आ–आफ्ना भूमिकालाई विश्वसनीय बनाएका छन्।
फिल्मको कथा प्रसिद्ध साहित्यकार मन्नू भण्डारी को चर्चित कथा 'यही सच है' मा आधारित छ। हिन्दी साहित्यको 'नई कहानी' आन्दोलनकी प्रमुख सर्जक भण्डारीको कथालाई निर्देशक बासु चटर्जीले उत्कृष्ट पटकथामा रूपान्तरण गरेका छन्। यही कारण फिल्म केवल प्रेमकथा नभई मानवीय सम्बन्धको मनोवैज्ञानिक अध्ययन पनि बनेको छ।
त्यतिबेलाका व्यावसायिक हिन्दी फिल्महरूमा गीत, नाच, एक्सन र नायक केन्द्रित कथाले प्रभुत्व जमाइरहेका बेला 'रजनीगन्धा' ले मध्यमवर्गीय जीवन, यथार्थपरक प्रेम र महिलाको दृष्टिकोणलाई केन्द्रमा राख्यो। दीपा आफ्नै निर्णय आफैं लिने, पढाइ र करियरलाई प्राथमिकता दिने तथा आफ्नो भावनाबारे खुलेर सोच्ने स्वतन्त्र महिलाका रूपमा प्रस्तुत भएकी छन्। यही विशेषताले फिल्मलाई आफ्नो समयभन्दा अगाडि रहेको सिर्जना बनाउँछ।
कम बजेट, नयाँ कलाकार र सरल प्रस्तुतिका बाबजुद 'रजनीगन्धा' ले आलोचक र दर्शक दुवैको मन जित्यो। फिल्मले फिल्मफेयर सर्वोत्कृष्ट चलचित्र पुरस्कार तथा क्रिटिक्स अवार्ड समेत प्राप्त गरेको थियो।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij