नेपाल सम्वत् ११४६, तछलागाः ३ तृर्तिया (१९ अषाढ, २०८३, ०३ जुलाई, २०२६) बिहीबार, बाँपिझ्याला । नेपाली कफीको उत्पादन, बजारीकरण र अन्तर्राष्ट्रिय ब्रान्ड प्रवर्द्धन गर्ने उद्देश्यका साथ पोखरामा शनिबार राष्ट्रिय कफी प्रदर्शनी तथा राष्ट्रिय कपिङ च्याम्पियनसिप आयोजना हुँदैछ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डको क्षेत्रीय कार्यालय पोखराले नेपाल कफी व्यवसायी महासंघ र केन्द्रीय कफी सहकारी संघसँगको सहकार्यमा कार्यक्रम आयोजना गरेको हो।
बोर्डका क्षेत्रीय निर्देशक चन्द्र पुरीले पोखरा नेपाली कफीको प्रमुख केन्द्रका रूपमा विकास हुँदै गएको बताउँदै यस कार्यक्रमले नेपाली कफीको विशिष्ट स्वाद, गुणस्तर र अन्तर्राष्ट्रिय पहिचानलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।
नेपालमा हाल ४३ जिल्लामा कफी खेती विस्तार भइसकेको छ भने ३० हजारभन्दा बढी किसान यस व्यवसायमा आबद्ध छन्। आर्थिक वर्ष २०८१/८२ मा ५ हजार ५०१ हेक्टर क्षेत्रफलबाट ६४२ मेट्रिक टन ग्रिन बिन कफी उत्पादन भएको थियो। सोही अवधिमा ६४ मेट्रिक टन कफी निर्यात हुँदा करिब १४ करोड ४१ लाख रुपैयाँ बराबरको २३० मेट्रिक टन कफी आयात भएको बोर्डले जनाएको छ।
बोर्डका अनुसार नेपालमा मुख्यतः अर्गानिक अरेबिका जातको कफी उत्पादन हुने भएकाले यसको स्वाद र गुणस्तरका आधारमा अन्तर्राष्ट्रिय बजारमा उच्च मूल्य पाइरहेको छ। नेपाली कफी जर्मनी, जापान, स्विट्जरल्यान्ड, दक्षिण कोरिया र अष्ट्रेलियालगायतका देशमा निर्यात हुँदै आएको छ।
गण्डकी प्रदेश कफी उत्पादन र उपभोग दुवै हिसाबले अग्रणी प्रदेशका रूपमा रहेको छ। प्रदेशका ११ जिल्लामध्ये ९ जिल्लामा कफी खेती भइरहेको छ। गत आर्थिक वर्ष १ हजार ५५१ हेक्टर क्षेत्रफलमा कफी खेती गरी १५६ मेट्रिक टन ग्रिन बिन उत्पादन भएको थियो। पोखरामा मात्रै १ हजार ५०० भन्दा बढी कफी क्याफेमार्फत नेपाली कफीको खपत भइरहेको बोर्डको दाबी छ।
‘चिनौँ, चाखौँ, अपनाऔँ, प्रवर्द्धन गरौँ’ भन्ने नारासहित आयोजना हुने कार्यक्रममा देशभरका कफी उत्पादक, व्यवसायी, प्रशोधनकर्ता, उपभोक्ता तथा सरोकारवालाको सहभागिता रहनेछ। कार्यक्रममा उत्कृष्ट कफीको निःशुल्क कपिङ, कफी नर्सरी तथा बोटको अवलोकन, बीउदेखि कपसम्मको मूल्य शृंखला प्रदर्शन, कफीसम्बन्धी उपकरण प्रदर्शनी, प्राविधिक अन्तरक्रिया तथा राष्ट्रिय कपिङ च्याम्पियनसिपका विजेतालाई सम्मान गरिनेछ।
राष्ट्रिय कपिङ च्याम्पियनसिपमा कफी सहकारी संघ लिमिटेड, ललितपुर प्रथम भएको छ। महाभारत साना किसान कृषि सहकारी संस्था, काभ्रे दोस्रो भएको छ भने कोट थोक कफी उत्पादक कृषक समूह, गोरखा, महादेवटार योग कृषि फार्म, काभ्रे र गुल्मी कफी स्टेट प्रालि, गुल्मी संयुक्त रूपमा तेस्रो भएका छन्।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij