Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

रूसको भीषण हवाई आक्रमणमा किभ थर्रियो, मृत्यु हुने २७ पुग्यो

रूसको भीषण हवाई आक्रमणमा किभ थर्रियो, मृत्यु हुने २७ पुग्यो

रूसले युक्रेनको राजधानी किभमा गरेको भीषण हवाई आक्रमणमा मृत्यु हुनेको संख्या २७ पुगेको छ भने ९१ जना घाइते भएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सका अनुसार यो हमला सन् २०२६ यताकै युक्रेनमाथिको सबैभन्दा घातक आक्रमण मानिएको छ।

रूसी सेनाले बिहीबार राति सयौं ड्रोन र दर्जनौं मिसाइल प्रहार गरेपछि राजधानी किभका हजारौं नागरिकले बंकर र भूमिगत मेट्रो स्टेसनमा रात बिताएका थिए। आक्रमणबाट करिब १३० वटा भवनमा क्षति पुगेको युक्रेनी अधिकारीहरूले बताएका छन्।

किभ सैन्य प्रशासनका प्रमुख तिमुर तकाचेन्कोका अनुसार घाइतेमध्ये एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या २७ पुगेको हो। उद्धार टोली अझै भग्नावशेष हटाउँदै बेपत्ता व्यक्तिको खोजीमा रहेकाले मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ। किभको पूर्वी क्षेत्रमा रहेको एक आवासीय भवनबाट पाँच जनाको शव फेला परेको छ भने आठ जना अझै बेपत्ता छन्।

आक्रमणपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलिन्स्की आयरल्यान्ड भ्रमण छोट्याएर स्वदेश फर्किएका छन्। उनले क्षतिग्रस्त नौतले आवासीय भवनको निरीक्षण गर्दै सहयोगी राष्ट्रहरूले समयमै हवाई सुरक्षा प्रणाली उपलब्ध नगराएकै कारण ठूलो क्षति भएको आरोप लगाए।

राष्ट्रका नाममा सम्बोधन गर्दै जेलिन्स्कीले आगामी साता टर्कीमा हुने नेटो शिखर सम्मेलनमा युक्रेनको हवाई सुरक्षाको विषय प्रमुख एजेन्डा बन्ने बताएका छन्।

युक्रेनी वायुसेनाका अनुसार रूसले एकै रात ७४ वटा मिसाइल र ४९६ वटा ड्रोन प्रहार गरेको थियो। वायुसेनाले यसपटक ब्यालेस्टिक मिसाइलको प्रयोग असामान्य रूपमा धेरै भएकाले ती रोक्न कठिन भएको जनाएको छ। पछिल्ला महिनादेखि युक्रेनसँग अमेरिकी प्याट्रियट हवाई रक्षा प्रणालीको अभाव रहेको बताइएको छ।

उता रुसी रक्षा मन्त्रालयले भने किभसहित विभिन्न स्थानका सैन्य, ऊर्जा तथा विमानस्थलसँग सम्बन्धित संरचनालाई उच्च सटीकताका हतियार र ड्रोनमार्फत निशाना बनाइएको दाबी गरेको छ। मस्कोले यसलाई हालै युक्रेनले रुसमाथि गरेका ड्रोन आक्रमणको जवाफ भनेको छ।

युक्रेनले पनि राति रुसको निज्नी नोभगोरोद क्षेत्रमा रहेको तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको जनाएको छ। स्थानीय गभर्नरका अनुसार उक्त आक्रमणमा एक जनाको मृत्यु भएको छ।

आक्रमणपछि किभका मेयर भिटाली क्लिच्कोले शुक्रबारलाई शोक दिवस घोषणा गरेका छन्। राजधानीका अधिकांश क्षेत्रमा क्षति पुगेको र धेरै भवन गम्भीर रूपमा ध्वस्त भएको उनले बताएका छन्।

युक्रेनी रेड क्रसका अनुसार आक्रमणमा संस्थाको मानवीय सहायता गोदाम पूर्ण रूपमा नष्ट भएको छ। करिब तीन लाख २० हजारभन्दा बढी राहत सामग्री नष्ट हुँदा उद्धार तथा राहत वितरणमा असर परेको जनाइएको छ।

युरोपेली संघकी युक्रेनस्थित राजदूत कातारिना माथेर्नोभाले कूटनीतिक कर्मचारी बस्ने आवासमा समेत आक्रमण भएको बताएकी छन्। कर्मचारीहरू सुरक्षित रहे पनि भवनमा आगलागीबाट क्षति पुगेको उनले उल्लेख गरेकी छन्।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सर्वसाधारण बसोबास गर्ने क्षेत्रमा भएको आक्रमणको निन्दा गरेका छन्। युरोपेली संघले पनि रूसमाथि थप प्रतिबन्ध लगाउने तयारी गरेको जनाएको छ।

युद्ध अन्त्यका लागि राष्ट्रपति जेलिन्स्कीले फेरि शान्तिवार्ताको प्रस्ताव राखे पनि क्रेमलिनले त्यसलाई अस्वीकार गरेको छ। उनले आगामी नेटो शिखर सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट हुने अपेक्षा व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार