Aug 19 2026 | २०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

हातमा हँसिया, काँधमा जनप्रतिनिधिको जिम्मेवारी : गुल्मीका छविलालको फलफूल क्रान्ति

हातमा हँसिया, काँधमा जनप्रतिनिधिको जिम्मेवारी : गुल्मीका छविलालको फलफूल क्रान्ति

नेपाल सम्वत् ११४६, तछलागाः १ प्रतिपदा (१७ अषाढ, २०८३, ०१ जुलाई, २०२६) बुधबार, बाँपिझ्याला । साँझ–बिहान चिया पसलमा राजनीतिक गफमा रमाउने नेताहरूको भीडभन्दा अलग छन् गुल्मीको सत्यवती गाउँपालिका–६ का वडा सदस्य छविलाल भट्टराई। दोस्रो कार्यकालका लागि निर्वाचित उनी नेपाली कांग्रेसका वडा सभापति पनि हुन्। तर उनको अधिकांश समय बैठक, भाषण वा राजनीतिक जमघटमा होइन, आफ्नै खेतबारीमा हँसिया र कोदालोसँग बित्छ।

राजनीतिलाई सेवाको माध्यम र कृषिलाई जीवनको आधार मानेका छविलाल अहिले गाउँपालिकाभरि उदाहरणीय कृषकका रूपमा चिनिन्छन्। विगत आठ वर्षदेखि उनले चोरकाटेमा रहेको १५ रोपनी जग्गामा लिची, आँप र एभोकाडोको व्यावसायिक बगैंचा विस्तार गर्दै आएका छन्।

जेठ–असारमा लटरम्म पाक्ने लिची र असारदेखि भदौसम्म फल्ने आँपले अहिले उनको बगैंचा भरिभराउ छ। पछिल्ला पाँच वर्षदेखि एभोकाडो खेती पनि थपेपछि उनको बगैंचा अझ आकर्षक बनेको छ।

"विदेश गएर मात्रै पैसा कमाइन्छ भन्ने सोच गलत हो," छविलाल भन्छन्, "आफ्नै खेतबारीका कान्लामा फलफूल रोपेर चार–पाँच वर्ष धैर्य गर्न सकियो भने त्यसले जीवनभर आम्दानी दिन सक्छ।"

उनका लागि फलफूल खेती भविष्यको 'पेन्सन' हो। सरकारी जागिरमा लामो समय सेवा गरेपछि मात्रै पेन्सन पाइने भए पनि बहुवर्षीय फलफूल खेतीमा सुरुवाती केही वर्षको मेहनतपछि दशकौंसम्म आम्दानी लिन सकिने उनको अनुभव छ।

"आफ्नै माटोमा पसिना बगाउन सक्ने हो भने नेपालमै सुन फलाउन सकिन्छ," उनी दृढतापूर्वक भन्छन्।

तरकारीबाट फलफूलतर्फ

छविलालले २०६८ सालदेखि व्यावसायिक तरकारी खेती सुरु गरेका थिए। त्यसबेला वार्षिक पाँचदेखि छ लाख रुपैयाँसम्म आम्दानी हुन्थ्यो। तर तरकारी खेतीमा दैनिक सिँचाइ, गोडमेल, बजार व्यवस्थापन र जनशक्तिको आवश्यकता धेरै थियो।

२०७४ मा वडा सदस्य निर्वाचित भएपछि जनप्रतिनिधिको जिम्मेवारी बढ्दै गयो। वडा कार्यालयका काम, गाउँपालिका बैठक र सामाजिक गतिविधिका कारण खेतीलाई पर्याप्त समय दिन कठिन हुन थाल्यो।

यही क्रममा २०७५ सालमा किसानहरूको टोलीसँग सर्लाहीस्थित बागवानी केन्द्रको अवलोकन भ्रमणमा पुगेपछि उनको सोच बदलियो।

त्यहाँ सयौं रोपनीमा फैलिएको आँप र लिचीको बगैंचा देखेपछि उनले पहाडमा पनि यस्तो खेती सम्भव रहेको निष्कर्ष निकाले।

"तरकारीजस्तो दैनिक रेखदेख गर्न नपर्ने भएकाले जनप्रतिनिधिको जिम्मेवारीसँगै फलफूल खेती सहज हुने देखेँ," उनी सम्झन्छन्।

भ्रमणबाट फर्केलगत्तै उनले ५०–६० वटा आँप र लिचीका बिरुवा रोपे। अहिले त्यही बगैंचामा १२० भन्दा बढी फलफूलका बोट छन्। सबैभन्दा पुराना बोटले प्रतिवोट करिब एक क्विन्टलसम्म उत्पादन दिन थालेका छन्।

एभोकाडोको सम्भावना

आँप र लिचीबाट उत्साहित बनेपछि उनले पाँच वर्षअघि एभोकाडो खेती पनि सुरु गरे। अहिले बगैंचामा १५० वटा एभोकाडोका बिरुवा छन्। एक–दुई वर्षभित्र २०० वटा पुर्‍याउने लक्ष्य छ।

उनले बगैंचाको प्रत्येक इन्च जमिन उपयोग गरेका छन्। सुरुका वर्षमा बिरुवाबीच धान खेती गरे। अहिले पनि खाली ठाउँमा अदुवा, बेसार, खुर्सानी र अन्य तरकारी लगाएर अतिरिक्त आम्दानी गरिरहेका छन्।

बहुवर्षीय फलफूल खेतीको अर्को विशेषता भनेको दैनिक धेरै समय दिन नपर्ने हो। पुस–माघमा मल हाल्ने र आवश्यक स्याहार गरेपछि नियमित काम निकै कम हुने उनी बताउँछन्।

बजारको समस्या छैन

धेरै किसान उत्पादन बेच्ने बजार नपाएर चिन्तित हुने गर्छन्। तर छविलालका लागि यो समस्या छैन।

चोरकाटे बजार नजिकै भएकाले ग्राहकहरू सिधै बगैंचामै पुग्छन्।

अहिले लिची बोटबाटै प्रतिकिलो २०० रुपैयाँमा बिक्री भइरहेको छ। आँप पनि असारदेखि भदौसम्म बजारमा पुग्छ। सामान्यतया प्रतिकिलो १०० रुपैयाँमा बिक्री हुने आँप भदौतिर भने १५० देखि २०० रुपैयाँसम्ममा बिक्ने गरेको उनी बताउँछन्। एभोकाडोको माग र मूल्य झनै राम्रो रहेको उनको अनुभव छ।

वास्तविक किसानलाई प्राथमिकता दिनुपर्ने माग

राजनीति र कृषि दुवै क्षेत्रमा सक्रिय रहेका छविलाल सरकारी अनुदानको दुरुपयोगप्रति चिन्तित छन्।

उनका अनुसार केही व्यक्तिले केवल अनुदान लिनकै लागि कृषि फर्म दर्ता गर्ने तर वास्तविक खेती नगर्ने प्रवृत्तिका कारण मेहनती किसान ओझेलमा परेका छन्।

"सरकारले वास्तविक किसानका लागि छुट्याएको बजेट कागजमा खेती गर्नेहरूका गोजीमा पुग्ने गरेको छ। यस्तो प्रवृत्ति अन्त्य हुनुपर्छ," उनी भन्छन्।

उनले गाउँपालिकाबाट ५० प्रतिशत अनुदानमा केही बिरुवा लिए पनि अनुदानको पछि लागेर झन्झटिलो प्रशासनिक प्रक्रियामा अल्झिन चाहेनन्।

युवाका लागि सन्देश

छविलाल आफूलाई जनप्रतिनिधिभन्दा पनि मेहनती कृषकका रूपमा चिनिन रुचाउँछन्।

"म वडाको कामबाहेक बाँकी समय खेतमै बिताउँछु। मैले गरेको काम देखेर गाउँका युवा र किसानलाई प्रेरणा मिलोस् भन्ने चाहना हो," उनी भन्छन्।

उनका अनुसार वडा नम्बर–६ मा मात्रै करिब १,८०० रोपनी उर्वर जमिन बाँझै छ। सबैले थोरै–थोरै भए पनि फलफूल खेती सुरु गर्ने हो भने विदेशबाट आयात हुने फलफूलको परिमाण घटाउन सकिने उनको विश्वास छ।

"आफ्नै माटोको स्वच्छ फलफूल खान पाइन्छ, नेपाली पैसा विदेश जानबाट पनि जोगिन्छ," उनी भन्छन्।

सत्यवती गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डे पनि छविलालको खुलेर प्रशंसा गर्छन्।

उनका अनुसार छविलाल भाषणभन्दा व्यवहारमा विश्वास गर्ने जनप्रतिनिधि हुन्।

"उहाँ गाउँपालिकाकै लागि प्रेरणादायी कृषक हुनुहुन्छ। बोलेर होइन, गरेर देखाउनुभएको छ," अध्यक्ष पाण्डे भन्छन्।

गाउँपालिकाले आगामी दिनमा वास्तविक किसानलाई प्रोत्साहन गर्ने, बाँझो जमिनको उपयोग बढाउने र छविलालजस्ता कृषक–जनप्रतिनिधिलाई प्रोत्साहित गर्ने नीति अघि बढाउने उनले बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार