विश्वविद्यालय अनुदान आयोगले देशभरका विश्वविद्यालयमा एकीकृत शैक्षिक प्रणाली लागू गर्ने उद्देश्यसहित परिमार्जित राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयनमा ल्याएको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयले मंगलबार मन्त्रीस्तरीय निर्णयमार्फत उच्च शिक्षाको राष्ट्रिय शैक्षिक क्यालेन्डरसम्बन्धी प्रतिवेदन, २०८० लाई परिमार्जन गरी नयाँ राष्ट्रिय शैक्षिक क्यालेन्डर स्वीकृत गरेको हो। मन्त्रालयले उक्त क्यालेन्डर कार्यान्वयनका लागि विश्वविद्यालय अनुदान आयोगमार्फत सबै विश्वविद्यालयमा परिपत्र गर्ने निर्णयसमेत गरेको जनाएको छ।
आयोगका उपनिर्देशक रमेशप्रसाद अधिकारीका अनुसार परिमार्जित क्यालेन्डर लागू भएसँगै विश्वविद्यालयहरूमा भर्ना, कक्षा सञ्चालन, परीक्षा, उत्तरपुस्तिका परीक्षण तथा नतिजा प्रकाशनलगायत सम्पूर्ण शैक्षिक गतिविधि पूर्वनिर्धारित समयतालिकाअनुसार सञ्चालन हुनेछन्। यसले विश्वविद्यालयहरूको शैक्षिक प्रणालीलाई थप व्यवस्थित, नियमित र समयमै सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
राष्ट्रिय शैक्षिक क्यालेन्डर पहिलो पटक २०८० साल भदौ २९ गते मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भई कार्यान्वयनमा आएको थियो। त्यसयता बदलिँदो शैक्षिक आवश्यकता, विश्वविद्यालयहरूको अनुभव तथा समयानुकूल सुधारलाई समेट्न आयोगले शैक्षिक क्यालेन्डर परिमार्जन समिति गठन गरेको थियो।
समितिले २०८३ साल जेठ १२ गते गरेको निर्णय र सिफारिसका आधारमा क्यालेन्डरमा आवश्यक संशोधन गरी स्वीकृतिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा प्रस्ताव पठाइएको थियो। मन्त्रालयले सोही प्रस्तावलाई स्वीकृत गर्दै परिमार्जित राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयनमा ल्याएको हो।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij