Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

भारतको प्रभावले नेपाली बजारमा चामल महँगियो, दशैंसम्म थप मूल्य बढ्ने संकेत

भारतको प्रभावले नेपाली बजारमा चामल महँगियो, दशैंसम्म थप मूल्य बढ्ने संकेत

नेपाली बजारमा पछिल्लो दुई महिनायता चामलको मूल्य उल्लेख्य रूपमा बढेको छ। उद्योगदेखि खुद्रा बजारसम्म सबै प्रकारका चामलको मूल्य वृद्धि भएको व्यवसायीहरूले बताएका छन्। उनीहरूका अनुसार २५ किलोको एक बोरा चामलमा ३ सयदेखि ४ सय रुपैयाँसम्म मूल्य बढेको छ भने दशैंसम्म अझै १–२ सय रुपैयाँले थप वृद्धि हुन सक्ने अनुमान गरिएको छ।

उद्योगी तथा व्यवसायीहरूका अनुसार भारतको धान तथा चामल सम्बन्धी नीतिगत परिवर्तन, धानको न्यूनतम समर्थन मूल्य (एमएसपी) वृद्धि, उत्पादनमा आएको कमी तथा बंगलादेशतर्फ बढेको निर्यातका कारण नेपाली बजारमा पनि चामल महँगिएको हो। नेपाल धान तथा चामलमा ठूलो मात्रामा भारतमा निर्भर भएकाले त्यहाँको मूल्यवृद्धिको प्रत्यक्ष असर यहाँ देखिएको उनीहरूको भनाइ छ।

नेपाल चामल, तेल तथा दाल उद्योग संघका सदस्य विभोर अग्रवालका अनुसार नेपालमा स्वदेशी उत्पादनले माग धान्न नसक्ने भएकाले भारतबाट आयात गर्नुपर्छ। यस वर्ष भारतमै धान उत्पादन घटेको, बंगलादेशका लागि ठूलो परिमाणमा निर्यात खुला गरिएको र धानको समर्थन मूल्य बढाइएकाले मूल्य आकासिएको उनले बताए।

उनका अनुसार दुई महिनाअघि प्रतिक्विन्टल २ हजार ६ सय रुपैयाँ रहेको जिरा मसिनो धान अहिले भारतमै ३ हजार २ सय रुपैयाँ पुगेको छ। त्यसैगरी २५ किलो जिरा मसिनो चामलको मूल्य १ हजार ८ सय–१ हजार ९ सय रुपैयाँबाट बढेर २ हजार ३ सयदेखि २ हजार ४ सय रुपैयाँ पुगेको छ।

सोना मन्सुली धानको मूल्य पनि प्रतिक्विन्टल ३ हजार १ सय–३ हजार २ सय रुपैयाँबाट बढेर ३ हजार ६ सय–३ हजार ७ सय रुपैयाँ पुगेको छ। यसको २५ किलो चामलको बोरा १ हजार ३ सय ५० रुपैयाँबाट बढेर करिब १ हजार ६ सय रुपैयाँ पुगेको उद्योगीहरूको भनाइ छ।

त्यस्तै, २० किलो लङग्रेन (बासमती) चामलको मूल्य ३ हजार ४ सयदेखि ३ हजार ५ सय रुपैयाँसम्म पुगेको छ भने १४४२ जातको चामल पनि १ हजार १ सय २५ रुपैयाँबाट बढेर १ हजार २ सय ५० रुपैयाँ पुगेको छ।

उद्योगी अग्रवालका अनुसार ठूला डिलरले मिलबाट सिधै खरिद गर्ने भएकाले उनीहरूमा मूल्यवृद्धि तत्काल लागू हुन्छ। तर खुद्रा व्यापारीसँग पुरानो मौज्दात रहने भएकाले उपभोक्ताले केही ढिलो मूल्यवृद्धिको असर महसुस गर्ने गरेका छन्।

खुद्रा व्यापारीहरू पनि मिल र होलसेलबाटै महँगोमा चामल आउँदा बाध्य भएर उपभोक्तालाई बढी मूल्यमा बिक्री गर्नुपरेको बताउँछन्। नयाँ बानेश्वरस्थित खाद्य मार्ट सञ्चालक मनोज दंगालका अनुसार अहिले बजारमा सबै प्रकारका चामलको मूल्य प्रतिबोरा ३ सय ५० देखि ४ सय रुपैयाँसम्म बढेको छ। सामान्य चामलको मूल्य नै प्रतिकिलो १ सय रुपैयाँ पुगिसकेको उनले बताए।

उनका अनुसार चामल मात्र नभई अन्य खाद्यान्नको मूल्यसमेत लगातार बढिरहेको छ। बजारमा मन्दीका कारण व्यापार सुस्त भए पनि उपभोक्ताले अत्यावश्यक सामग्रीबाहेक अन्य सामान खरिद गर्न छाडेका छन्।

नेपाल खाद्य किराना तथा थोक व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले पनि भारतीय बजारमै धानको मूल्य बढेकाले त्यसको प्रत्यक्ष प्रभाव नेपालमा परेको बताए। नेपालमा स्वदेशी उत्पादनले माग पूरा गर्न नसक्ने भएकाले भारतीय मूल्यकै आधारमा बजार चल्न बाध्य भएको उनको भनाइ छ।

भारतमा किन बढ्यो मूल्य?

भारत सरकारले आर्थिक वर्ष २०२६/२७ का लागि धानसहित १४ कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य बढाएको छ। सामान्य धानको समर्थन मूल्य प्रतिक्विन्टल ७२ भारतीय रुपैयाँ बढाएर २ हजार ४ सय ४१ रुपैयाँ र ग्रेड–ए धानको मूल्य २ हजार ४ सय ६१ रुपैयाँ कायम गरिएको छ।

यससँगै भारतीय बजारमा धान तथा चामलको मूल्य बढेको छ। उत्पादन लागतमा वृद्धि, मलखाद र इन्धन महँगिनु, मजदुर अभाव, मनसुन ढिलो हुनु तथा ‘एल निनो’ को प्रभावले उत्पादन घट्ने चिन्ताले पनि मूल्य वृद्धि भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

यसबाहेक बंगलादेशले आफ्नो खाद्य भण्डारण बढाउन भारतबाट थप २ लाख टन चामल आयातका लागि निजी आयातकर्तालाई अनुमति दिएको छ। आयातमा कर छुट र सहुलियत दिइएकाले भारतीय चामलको माग अझै बढेको छ, जसले भारतीय बजारमै मूल्य चुलिएको विश्लेषण गरिएको छ।

दशैंसम्म थप महँगिने सम्भावना

उद्योगी तथा व्यवसायीका अनुसार भारतमै धानको मूल्य उच्च रहेकाले नेपाली बजारमा पनि दशैंसम्म चामलको मूल्य प्रतिबोरा कम्तीमा १ सयदेखि २ सय रुपैयाँसम्म थप बढ्न सक्छ।

उनीहरूले सरकारले बजार अवस्था, आयात व्यवस्थापन तथा खाद्य सुरक्षाबारे समयमै नीति नल्याए उपभोक्ताले अझै महँगो मूल्य तिर्नुपर्ने चेतावनी दिएका छन्। साथै, बजारमा देखिएको मूल्यवृद्धिका विषयमा छलफल गर्न कृषि मन्त्रालयसँग समय माग्दा पनि हालसम्म पर्याप्त चासो नदिएको उद्योगीहरूको गुनासो छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार