Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

दोलखा भीमेश्वरको महिमा कसले जोगाउने ? रेलिङ विवादपछि पुरातत्व विभागको सातदिने अल्टिमेटम

दोलखा भीमेश्वरको महिमा कसले जोगाउने ? रेलिङ विवादपछि पुरातत्व विभागको सातदिने अल्टिमेटम

रेलिङ विवादपछि पुरातत्व विभागको सातदिने अल्टिमेटम, सम्पदाको मौलिकता संरक्षणको विषय फेरि बहसमा

नेपाल सम्वत् ११४६, तछलाथ्वः १५ प्रतिपदा (१६ अषाढ, २०८३, ३० जुन, २०२६) मंगलबार, बाँपिझ्याला । दोलखाको पहिचान, जनआस्था, इतिहास र सभ्यतासँग अभिन्न रूपमा जोडिएको भगवान श्री भीमेश्वर मन्दिर फेरि एकपटक चर्चाको केन्द्रमा आएको छ। यसपटक विवादको विषय बनेको छ मन्दिर परिसरमा निर्माण गरिएको फलामे रेलिङ। भक्तजनहरूको लाइन व्यवस्थापन सहज बनाउने उद्देश्यले नेपाली सेनाको गरुडदल गण, चरिकोटले निर्माण गरेको रेलिङ पुरातत्व विभागको पूर्वस्वीकृतिबिना निर्माण गरिएको भन्दै विभागले तत्काल हटाउन निर्देशन दिएको छ। विभागको यस निर्णयसँगै मन्दिरको संरक्षण, व्यवस्थापन, पुरातात्त्विक महत्व र धार्मिक मौलिकतामाथि फेरि बहस सुरु भएको छ।

पुरातत्व विभागका संग्रहालय अधिकृत पुरुषोत्तम आचार्यद्वारा हस्ताक्षरित पत्रमा भीमेश्वर नगरपालिका, वडा नं. २ को कार्यालय दोलखा तथा भीमेश्वर मन्दिर व्यवस्थापन समितिलाई सम्बोधन गर्दै मन्दिर परिसरमा राखिएको फलामे रेलिङ तत्काल हटाउन तथा सात दिनभित्र त्यससम्बन्धी यथार्थ विवरण विभागमा उपलब्ध गराउन भनिएको छ। विभागले प्राचीन स्मारक संरक्षण ऐन, २०१३ (पाँचौँ संशोधनसहित) तथा प्राचीन स्मारक संरक्षण कार्यविधि, २०६४ अनुसार सम्पदा क्षेत्रमा कुनै पनि नयाँ संरचना निर्माण गर्नुअघि विभागबाट ड्रइङ, डिजाइन, लागत अनुमान स्वीकृत गराई सहमति लिनुपर्ने कानुनी व्यवस्था रहेको स्पष्ट पारेको छ।

reling.jpg

नेपाली सेनाले भने भक्तजनहरूको सहज व्यवस्थापन, नागरिक–सैनिक सम्बन्ध सुदृढीकरण तथा धार्मिक सम्पदाको संरक्षणमा सहयोग पु¥याउने उद्देश्यले उक्त रेलिङ निर्माण गरिएको जनाएको छ। गरुडदल गणका अनुसार करिब ७ लाख ४० हजार रुपैयाँको लागतमा ८७ मिटर स्टिल तथा ५० मिटर फलामको रेलिङ निर्माण गरिएको हो। रेलिङ हस्तान्तरण कार्यक्रममा मध्यपूर्व पृतनाका पृतनापति उपरथी भुवन खत्री, भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वरनारायण मानन्धर, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर श्रेष्ठ तथा पदाधिकारीहरूले रेलिङले दर्शनार्थीको लाइन व्यवस्थापनलाई थप सुरक्षित, व्यवस्थित र सहज बनाउने विश्वास व्यक्त गरेका थिए।

तर, पुरातत्व विभागको पत्र सार्वजनिक भएसँगै अर्को महत्वपूर्ण प्रश्न उठेको छ। नेपालको महत्वपूर्ण धार्मिक तथा पुरातात्त्विक सम्पदामध्ये एक मानिने भीमेश्वर मन्दिर परिसरमा निर्माण कार्य गर्दा कानुनी प्रक्रिया किन पालना गरिएन? सम्बन्धित निकायबीच आवश्यक समन्वय किन हुन सकेन? यति ठूलो महत्वको सम्पदामा स्थानीय समुदाय, इतिहासविद् तथा सरोकारवालासँग पर्याप्त छलफल किन गरिएन? यिनै प्रश्न अहिले दोलखामा व्यापक रूपमा उठ्न थालेका छन्।

स्थानीयवासीहरूका अनुसार यो पहिलो विवाद भने होइन। विगतका वर्षहरूमा मन्दिरका त्रिशूल बिक्रीको विषय, बली प्रथासम्बन्धी बहस, सिङ्का धुप बाल्ने विषय, सम्पदाक्षेत्रभित्र भवन निर्माण लगायतका निर्णयले पनि विवाद सिर्जना गरेका थिए। ती विषयमा बेला–बेलामा सार्वजनिक चासो व्यक्त भए पनि दीर्घकालीन समाधान र स्पष्ट सार्वजनिक संवाद हुन नसकेको स्थानीयको गुनासो छ। मन्दिर व्यवस्थापनसँग सम्बन्धित निर्णयहरू कानुनी प्रक्रिया, ऐतिहासिक प्रमाण र विज्ञहरूको सुझावका आधारमा हुनुपर्ने उनीहरूको धारणा छ।

रेलिङ विवादसँगै भगवान श्री भीमेश्वरको इतिहास र धार्मिक महिमासँग सम्बन्धित केही विषय पनि पुनः चर्चामा आएका छन्। पछिल्ला केही वर्षयता शैलुङ क्षेत्रमा रहेको एउटा तरवारलाई “भीमसेनको तरवार“का रूपमा प्रचार गरिएको तथा भीमेश्वरको दर्शन गर्नुअघि त्यसको दर्शन गर्नुपर्ने भन्ने अभिव्यक्ति सार्वजनिक गराइएको विषयमा पनि स्थानीय संस्कृतिप्रेमीहरूले प्रश्न उठाउँदै आएका छन्। उनीहरूका अनुसार धार्मिक आस्था र ऐतिहासिक तथ्य फरक विषय हुन्। कुनै पनि नयाँ दाबी वा व्याख्या ऐतिहासिक, पुरातात्विक तथा शास्त्रीय प्रमाणका आधारमा मात्र स्थापित गरिनुपर्छ, अन्यथा त्यसले वास्तविक इतिहासमाथि भ्रम सिर्जना गर्न सक्छ।

त्यसैगरी, परम्परादेखि “एक शिला तीन अवतार“का रूपमा चिनिँदै आएको भगवान श्री भीमेश्वरलाई पछिल्ला वर्षहरूमा “एक शिला सहस्र अवतार“ भनेर व्याख्या गर्ने प्रयास भएको विषयले पनि स्थानीयवासीको ध्यान तानेको छ। दोलखावासीका अनुसार सयौँ वर्षदेखि भीमेश्वरको पहिचान “एक शिला तीन अवतार“कै रूपमा स्थापित छ र यही मान्यता आजसम्म जीवित रहेको छ।

धार्मिक परम्पराअनुसार एउटै शिलामा भगवान भीमेश्वर, भगवती र महादेवको ईश्वरत्व रहने विश्वास गरिन्छ। यही कारणले यसलाई “एक शिला तीन अवतार“ भनिएको हो। प्रत्येक दिन बिहान करिब चार बजे मन्दिरको मूलढोका खोलिएपछि हुने नित्य पूजामा भगवान भीमेश्वरको स्वरूपमा पूजा गरिन्छ। यस क्रममा ओखलमा कुटिएको चामल चढाउने परम्परा छ भने ढिकीले कुटिएको चामल चढाइँदैन। नित्य पूजा सम्पन्न भएपछि बिहान करिब १० बजेसम्म बलिपूजा गरिन्छ। यस अवधिमा शिलामा भगवतीको ईश्वरत्व रहेको जनविश्वास छ। बलिपूजा सम्पन्न भएपछि मध्यान्ह पूजासम्म रुद्री पाठ गरिन्छ, जसलाई महादेवको स्वरूप मानेर पूजा गर्ने परम्परा रहिआएको छ। मध्यान्ह पूजा सम्पन्न भएपछि पुनः भगवान भीमेश्वर (भीमसेन) कै स्वरूपमा नियमित पूजा गरिन्छ। यही धार्मिक परम्परा, पूजा–विधि र जनविश्वासका कारण भगवान श्री भीमेश्वरलाई “एक शिला तीन अवतार“का रूपमा सम्मान र श्रद्धाका साथ पूजा गरिँदै आएको छ।

भगवान श्री भीमेश्वरको अर्को विशेषता भनेको शिलाबाट पसिना आउने जनविश्वास हो। स्थानीय परम्परा अनुसार देशमा कुनै ठूलो राजनीतिक परिवर्तन, प्राकृतिक विपत्ति, महामारी, युद्ध वा अन्य महत्वपूर्ण घटना घट्नुअघि भगवान भीमेश्वरको शिलामा पसिनाका थोपा देखिने विश्वास रहिआएको छ। यस्तो अवस्था देखिएपछि विशेष पूजा गर्ने परम्परा अहिले पनि कायम छ। इतिहासका विभिन्न कालखण्डमा पनि यस्ता घटना भएको स्थानीयवासी र मन्दिरसँग सम्बन्धित व्यक्तिहरूले उल्लेख गर्दै आएका छन्। यही विशेषताले भगवान श्री भीमेश्वरलाई जीवित शक्तिको प्रतीक र अटल जनआस्थाको केन्द्रका रूपमा स्थापित गरेको विश्वास गरिन्छ।

इतिहासकारहरूको भनाइमा दोलखा भीमेश्वर मन्दिर धार्मिक दृष्टिले मात्र नभई नेपालको मध्यकालीन इतिहास, कला, वास्तुकला र सांस्कृतिक अध्ययनका लागि पनि अत्यन्त महत्वपूर्ण सम्पदा हो। यही कारणले मन्दिर परिसरभित्र हुने कुनै पनि निर्माण, परिवर्तन वा नयाँ व्याख्या गर्दा प्राचीन स्मारक संरक्षण ऐन, पुरातात्विक मापदण्ड, ऐतिहासिक प्रमाण र परम्परागत धार्मिक मान्यतालाई सम्मान गर्नुपर्ने आवश्यकता रहेको उनीहरूको धारणा छ।

स्थानीयवासीहरूका अनुसार भगवान श्री भीमेश्वरको महिमा कुनै नयाँ कथा, प्रचार वा व्यक्तिगत व्याख्याले स्थापित भएको होइन। शताब्दीयौँदेखि जनआस्था, धार्मिक विश्वास, सांस्कृतिक परम्परा र इतिहासले निर्माण गरेको गरिमाले नै भीमेश्वरलाई आजको उचाइमा पु¥याएको हो। त्यसैले सम्पदाको संरक्षण भनेको केवल मन्दिरको भौतिक संरचना जोगाउनु मात्र होइन, यसको मौलिक इतिहास, धार्मिक परम्परा, “एक शिला तीन अवतार“को मान्यता, शिलामा पसिना आउने जनविश्वास तथा सांस्कृतिक पहिचानलाई पनि भावी पुस्तासम्म सुरक्षित राख्नु हो।

पुरातत्व विभागको पछिल्लो निर्देशनसँगै भीमेश्वर मन्दिरको संरक्षण र व्यवस्थापनबारे नयाँ बहस सुरु भएको छ। दोलखावासीले सम्बन्धित सबै निकायलाई कानुनी प्रक्रिया पालना गर्दै भगवान श्री भीमेश्वरको पुरातात्विवक महत्व, धार्मिक गरिमा र ऐतिहासिक मौलिकतालाई जोगाउन गम्भीर र जिम्मेवार बन्न आग्रह गरेका छन्। उनीहरूको विश्वास छ—भगवान श्री भीमेश्वरको वास्तविक महिमा संरक्षण गर्न सके मात्र दोलखाको पहिचान, आस्था र इतिहास भावी पुस्तासम्म अक्षुण्ण रहनेछ।

यस सम्पूर्ण घटनाक्रमले दोलखावासीबीच पनि आत्ममन्थनको विषय खडा गरेको छ। भगवान श्री भीमेश्वर केवल एउटा मन्दिर वा धार्मिक आस्थाको केन्द्र मात्र होइन, दोलखाको पहिचान, इतिहास, संस्कृति र गौरवको प्रतीक पनि हुन्। त्यसैले भीमेश्वर मन्दिरसँग सम्बन्धित कुनै पनि विषयमा सम्बन्धित निकाय मात्र होइन, सम्पूर्ण दोलखावासी पनि उत्तिकै जिम्मेवार हुनुपर्छ भन्ने आवाज उठ्न थालेको छ।

स्थानीयवासीहरूको भनाइमा मन्दिरसँग सम्बन्धित विषयमा सामाजिक सञ्जाल वा व्यक्तिगत भेटघाटमा असन्तुष्टि व्यक्त गर्ने तर सार्वजनिक रूपमा आफ्नो धारणा राख्न हिच्किचाउने प्रवृत्तिले पनि समस्याको समाधानमा सहयोग पुग्दैन। सम्पदा संरक्षण कुनै एक संस्था वा व्यक्तिको मात्र दायित्व होइन, यो सम्पूर्ण समुदायको साझा जिम्मेवारी हो।

भगवान श्री भीमेश्वरको ऐतिहासिक महिमा, "एक शिला तीन अवतार"को मौलिक परम्परा, शिलामा पसिना आउने अद्वितीय जनविश्वास तथा मन्दिरको पुरातात्त्विक महत्व जोगाउनु आजको आवश्यकता बनेको छ। त्यसका लागि सत्य, तथ्य र इतिहासका आधारमा आवश्यक प्रश्न उठाउनु, रचनात्मक सुझाव दिनु र गलत देखिएको विषयमा जिम्मेवार ढंगले आवाज उठाउनु पनि नागरिक दायित्व हो।

सम्पदा, पहिचान र अभिव्यक्ति फरक–फरक विषय भए पनि यी एकअर्काका परिपूरक हुन्। भगवान श्री भीमेश्वरको अस्तित्व र गरिमाले नै दोलखालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा विशेष पहिचान दिलाएको छ। त्यसैले यसको मौलिक इतिहास, धार्मिक मान्यता र सांस्कृतिक गरिमा जोगाउनु भनेको सम्पूर्ण दोलखावासीको स्वाभिमान, सम्मान र पहिचानको संरक्षण गर्नु हो। यही सन्देशलाई आत्मसात् गर्दै सम्बन्धित निकाय र सम्पूर्ण दोलखावासीले समयमै जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता अहिले झन् महसुस गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार