Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

दही–चिउराको उत्सवले बढायो व्यापार, भक्तपुरको ताइचिन चिउरा ४० टन बिक्री

दही–चिउराको उत्सवले बढायो व्यापार, भक्तपुरको ताइचिन चिउरा ४० टन बिक्री

राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने परम्परासँगै आज भक्तपुरको प्रसिद्ध स्थानीय उत्पादन ताइचिन चिउराको बिक्रीले नयाँ रेकर्ड कायम गरेको छ। असार १५ को अवसरमा काठमाडौँ उपत्यकाका तीन जिल्ला तथा काभ्रेपलाञ्चोकसम्म गरी एकै दिन करिब ४० टन ताइचिन चिउरा बिक्री भएको छ।

चिउरा व्यवसायी तथा भक्तपुर घरेलु तथा साना उद्योग सङ्घका निवर्तमान अध्यक्ष वीरेन्द्र जतिका अनुसार दहीसँग ताइचिन चिउरा खाने परम्पराका कारण असार १५ मा यसको माग अत्यधिक बढ्ने गरेको छ। स्वाद, गुणस्तर र स्वास्थ्यका दृष्टिले उत्कृष्ट मानिने ताइचिन चिउरा वर्षौँदेखि उपभोक्ताको पहिलो रोजाइमा पर्दै आएको उहाँले बताउनुभयो।

हाल भक्तपुरमा सञ्चालित करिब २५ वटा चिउरा मिलबाट दैनिक झण्डै २५ टन ताइचिन चिउरा उत्पादन हुँदै आएको छ। भक्तपुर नगरपालिका–६ भालाछेँस्थित लक्ष्मी चिउरा उद्योगमा मात्रै दैनिक करिब ८०० किलो चिउरा बिक्री हुने गरेको छ।

वीरेन्द्र जतिका अनुसार असार १५ का लागि मात्रै आफ्नो उद्योगमा एक हजार किलो चिउराको माग आएको भए पनि उत्पादन सीमित भएकाले ८०० किलो मात्रै आपूर्ति गर्न सकिएको थियो। आजको दिन काठमाडौँ उपत्यकाका व्यापारी, होटल तथा रेष्टुरेन्टहरूबाट ताइचिन चिउराको माग उल्लेखनीय रूपमा बढेको उहाँले जानकारी दिनुभयो।

हाल भक्तपुरबाट ताइचिन चिउरा प्रतिकिलो २५० रुपैयाँका दरले बिक्री भइरहेको छ। स्वादिलो, पोषिलो र स्वास्थ्यवर्धक भएकाले दहीसँग ताइचिन चिउरा खाने परम्परा अझै लोकप्रिय रहेको व्यवसायीहरूको भनाइ छ।

व्यवसायीका अनुसार भक्तपुरबाट वार्षिक करिब ३०० टन ताइचिन चिउरा काठमाडौँ उपत्यकामा बिक्री हुने गरेको छ। यसको उत्पादनका लागि चैते धानका साथै चितवन, नुवाकोट, पनौती, नाला र भक्तपुरलगायत विभिन्न स्थानबाट मौसमी रूपमा धान खरिद गरेर प्रशोधन गरिने गरिएको छ।

असार १५ मा दही–चिउरा खाने नेपाली परम्पराले स्थानीय उत्पादनको बजार विस्तारमा समेत महत्वपूर्ण योगदान पुर्‍याएको व्यवसायीहरूको विश्वास छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार