Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

साउदीसँग नेपालको आग्रह : नेपाली श्रमिकको एसभीएफ प्रक्रिया तत्काल रोक्न अनुरोध

साउदीसँग नेपालको आग्रह : नेपाली श्रमिकको एसभीएफ प्रक्रिया तत्काल रोक्न अनुरोध

नेपाल सम्वत् ११४६, तछलाथ्वः १३ त्रयोदशी (१३ अषाढ, २०८३, २७ जुन, २०२६) शनिवार, बाँपिझ्याला । नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (Skill Verification Program–SVF) प्रक्रिया तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ। उक्त प्रक्रियाका कारण नेपाली श्रमिकको भिसा प्रक्रिया प्रभावित नहोस् तथा वैदेशिक रोजगारीमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले सरकारले यो आग्रह गरेको हो।

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए. म्निखरसँग भएको शिष्टाचार भेटका क्रममा सीप प्रमाणीकरण प्रक्रिया तत्काल स्थगन गरी नेपाली श्रमिकको भिसा प्रक्रिया यथावत् सञ्चालन गर्न विशेष अनुरोध गरेका हुन्।

मन्त्री यादवले हाल साउदी अरब जान तयारी अवस्थामा रहेका नेपाली श्रमिकहरू सीप प्रमाणीकरण प्रक्रियासम्बन्धी अन्योलका कारण समस्यामा परेको उल्लेख गर्दै उनीहरूको रोजगारीमा कुनै असर नपर्ने वातावरण सुनिश्चित गर्न आग्रह गरेका थिए। उनका अनुसार, नयाँ प्रक्रिया लागू हुँदा हजारौँ श्रमिकको भिसा र रोजगार प्रक्रियामा अनिश्चितता सिर्जना हुने चिन्ता व्यक्त गरिएको छ।

उनले सीप प्रमाणीकरणसँग सम्बन्धित सम्पूर्ण विषय नेपाल र साउदी अरबबीचको द्विपक्षीय परामर्श तथा सहमतिका आधारमा स्थापित संयन्त्रमार्फत समाधान गरिनुपर्नेमा जोड दिए।

भेटका क्रममा साउदी राजदूत म्निखरले नेपाल सरकारको चासोबारे साउदी सरकारसँग आवश्यक परामर्श गरी थप जानकारी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको युवा, श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ।

सरकारको यो पहलले साउदी रोजगारीका लागि तयारी गरिरहेका नेपाली श्रमिकको हित संरक्षण गर्दै वैदेशिक रोजगारीको प्रक्रिया सहज बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार