नेपाल सम्वत् ११४६, तछलाथ्वः १३ त्रयोदशी (१३ अषाढ, २०८३, २७ जुन, २०२६) शनिवार, बाँपिझ्याला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को एक सातादेखि चितवनमा जारी प्रथम राष्ट्रिय महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै शुक्रबार सम्पन्न भएको छ। महाधिवेशनबाट सभापतिसहित ६ जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्।
सभापतिमा रवि लामिछाने यसअघि नै सर्वसम्मत निर्वाचित भए पनि निर्वाचन आयोगले शुक्रबार आयोजना गरेको घोषणा सभामार्फत उहाँको निर्वाचित नेतृत्वलाई औपचारिक घोषणा गरेको हो। सभापति पदमा लामिछानेको एकल उम्मेदवारी परेको थियो।
निर्वाचनपछि सम्बोधन गर्दै सभापति लामिछानेले लोकतन्त्रका आधारभूत मूल्य, शक्ति पृथकीकरणको सिद्धान्त र राज्यका संस्थाको सम्मानलाई पार्टीको मुख्य मार्गदर्शन बनाइने बताउनुभयो। उहाँले मतको बलमा विगतका शासकहरूले गरेका गलत अभ्यास दोहोरिन नहुने उल्लेख गर्दै लोकतान्त्रिक अभ्यास सही दिशामा अघि बढाउनुपर्नेमा जोड दिनुभयो। लोकतन्त्र कमजोर भए त्यसको असर पार्टीमा मात्र नभई आगामी पुस्तासम्म पर्ने चेतावनी पनि उहाँले दिनुभयो।
महाधिवेशनबाट उपाध्यक्ष (खुला) मा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सर्वसम्मत निर्वाचित हुनुभयो। उपाध्यक्षमा उम्मेदवारी दिने तयारीमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले समर्थन जनाएपछि वाग्ले निर्विरोध निर्वाचित हुनुभएको हो। यसअघि केन्द्रीय सदस्य निर्वाचनमा पनि उहाँले सबैभन्दा बढी दुई हजार ६५६ मत प्राप्त गर्नुभएको थियो।
महिला उपाध्यक्षमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम ७८९ मतसहित निर्वाचित हुनुभयो। उहाँकी प्रतिस्पर्धी डा. तोसिमा कार्कीले ५७२ मत प्राप्त गर्नुभयो।
महामन्त्रीमा विपिनकुमार आचार्य ६२१ मतसहित निर्वाचित हुनुभयो। उहाँले निकटतम प्रतिस्पर्धी मनीष झालाई २९७ मतान्तरले पराजित गर्नुभयो। मनीष झाले ३२४ मत प्राप्त गर्नुभएको थियो। गणेश कार्की र सागर ढकाल पनि प्रतिस्पर्धामा रहनुभएको थियो भने अन्तिम समयमा कवीन्द्र बुर्लाकोटी, गणेश पराजुली, प्रमोद न्यौपाने, जगदीश खरेल, शिशिर खनाल तथा रञ्जु दर्शनालगायतले उम्मेदवारी फिर्ता लिनुभएको थियो।
सहमहामन्त्री (खुला) मा अशिम शाह ४३६ मत र हरि ढकाल ३७२ मतसहित निर्वाचित हुनुभयो। महिला सहमहामन्त्रीमा निशा डाँगी ७०१ मत प्राप्त गर्दै विजयी हुनुभयो।
पदाधिकारीतर्फको दोस्रो चरणको निर्वाचनमा एक हजार ३६१ मत खसेको थियो। केन्द्रीय सदस्य निर्वाचनमा भने दुई हजार ९५९ प्रतिनिधिले मतदान गरेका थिए।
सरकारमा सहभागी अधिकांश रास्वपा मन्त्री महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, कानुनमन्त्री सोविता गौतम, महिला तथा सामाजिक सुरक्षामन्त्री सीता वादी, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल तथा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो।
यद्यपि युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव भने खुला मधेशी कोटाबाट प्रतिस्पर्धा गर्दा ८६९ मतसहित पराजित हुनुभयो।
महाधिवेशनबाट निर्वाचित ९९ सदस्यीय केन्द्रीय समितिमा ४९ जना महिला निर्वाचित भएका छन्। यससँगै पार्टीको केन्द्रीय समितिमा महिलाको प्रतिनिधित्व करिब ५० प्रतिशत पुगेको छ। महिला केन्द्रीय सदस्यका लागि ८० जनाले उम्मेदवारी दिएका थिए।
रास्वपाको नयाँ केन्द्रीय समितिमा सातै प्रदेशबाट पाँच–पाँच जनाका दरले ३५ जना निर्वाचित भएका छन्। खुला प्रतिस्पर्धाबाट ३५ जना सदस्य चयन भएका छन् भने बाँकी सदस्य महिला, आदिवासी जनजाति, मधेशी, दलित, मुस्लिम, थारूलगायत समावेशी क्लस्टरबाट निर्वाचित भएका छन्।
२०७८ सालको राष्ट्रिय जनगणनालाई आधार बनाएर समावेशी क्लस्टर निर्धारण गरिएको थियो। सोही व्यवस्थाअनुसार मुस्लिम र थारू समुदायबाट दुई–दुई जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्।
केन्द्रीय सदस्यका ९९ पदका लागि कुल ३८४ जनाले उम्मेदवारी दिएका थिए। तीमध्ये १७४ जना भूगोलतर्फ र २१० जना खुलातर्फका उम्मेदवार थिए।
पार्टी विधानअनुसार निर्वाचित ९९ सदस्यसँगै सभापतिले थप १२ जना पदाधिकारी र ५० जना केन्द्रीय सदस्य मनोनयन गर्न सक्ने व्यवस्था रहेको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij