नेपाल सम्वत् ११४६, तछलाथ्वः १० दशमी (१० अषाढ, २०८३, २४ जुन, २०२६) बुधबार, बाँपिझ्याला । दोलखाको जिरी नगरपालिका ले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५९ करोड ७१ लाख ९८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १८औँ नगरसभामा उपप्रमुख कृष्णमाया बुढाथोकी खड्काले बजेट प्रस्तुत गर्नुभएको हो।
प्रस्तुत बजेटमध्ये चालुतर्फ ४१ करोड ३९ लाख ७९ हजार ५ सय रुपैयाँ (६९.३२ प्रतिशत) र पुँजीगततर्फ १७ करोड २२ लाख १८ हजार ५ सय रुपैयाँ (२८.८३ प्रतिशत) विनियोजन गरिएको छ।
बजेटले वडा स्तरीय योजना तथा कार्यक्रम सञ्चालनका लागि ५ करोड ४९ लाख २४ हजार रुपैयाँ छुट्याएको छ। कृषि तथा पशु विकास कार्यक्रमका लागि १ करोड १ लाख २५ हजार, स्वास्थ्य क्षेत्रका लागि २ करोड ३९ लाख ७८ हजार, शिक्षा कार्यक्रमका लागि २ करोड २५ लाख ९७ हजार तथा पूर्वाधार विकासतर्फ नगरस्तरीय योजनाका लागि १ करोड १२ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ।
नगरपालिकाले प्रारम्भिक बालविकास केन्द्रका शिक्षक, विद्यालय कर्मचारी तथा लेखा कर्मचारीलाई थप प्रोत्साहनस्वरूप ५८ लाख रुपैयाँ, जिरी अस्पताल मा जनशक्ति व्यवस्थापन तथा प्रोत्साहनका लागि ४५ लाख ६० हजार रुपैयाँ छुट्याएको छ।
त्यस्तै विपद् व्यवस्थापन कोष, अत्यावश्यक औषधि खरिद, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक कार्यक्रम, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, सामाजिक सुरक्षा तथा पञ्जीकरण, नक्सा पास तथा प्राविधिक सेवासम्बन्धी कार्यक्रमका लागि पनि बजेट विनियोजन गरिएको छ।
नगरपालिकाले विद्यालयमा सञ्चालन हुँदै आएको दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिँदै १७ लाख ४८ हजार रुपैयाँ विनियोजन गरेको छ। सूचना प्रविधि, योजना व्यवस्थापन, अर्गानिक उत्पादन प्रमाणीकरण, दुग्ध उत्पादनमा आधारित कृषक अनुदान, ज्येष्ठ नागरिक तथा अशक्त नागरिकलाई घरमै स्वास्थ्य सेवा, खेलकुद विकास, साना उद्योग प्रवर्द्धन, फोहोर व्यवस्थापन, सर्भर स्थापना तथा इ–लर्निङ कार्यक्रमलाई समेत प्राथमिकतामा राखिएको छ।
नगरपालिकाले चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको आय–व्यय विवरण पनि सार्वजनिक गरेको छ। आन्तरिक राजस्वतर्फ १ करोड २७ लाख रुपैयाँ संकलन हुने लक्ष्य रहेकामा हालसम्म ८२ लाख ८४ हजार रुपैयाँ मात्रै संकलन भएको छ।
संघीय र प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँट रकम पनि अनुमानभन्दा कम प्राप्त भएको नगरपालिकाले जनाएको छ। यद्यपि चालुतर्फ ६४.५९ प्रतिशत र पुँजीगततर्फ ३३.७१ प्रतिशत खर्च भइसकेको छ।
धेरै विकास आयोजना सम्पन्न हुने अन्तिम चरणमा रहेकाले आर्थिक वर्षको अन्त्यसम्म कुल बजेटको करिब ८० प्रतिशत खर्च हुने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ।
नगरसभामा आर्थिक विधेयक २०८३ प्रस्तुत गरिएको थियो भने सभाको अध्यक्षता नगर प्रमुख मित्रबहादुर जिरेल ले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजकुमारी खत्री, वडाध्यक्ष, कार्यपालिका सदस्य तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij