Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

गौरीशंकर गाउँपालिकाको ५९ करोड ६४ लाख बजेट, सडक, पर्यटन र कृषिमा विशेष जोड

गौरीशंकर गाउँपालिकाको ५९ करोड ६४ लाख बजेट, सडक, पर्यटन र कृषिमा विशेष जोड

नेपाल सम्वत् ११४६, तछलाथ्वः १० दशमी (१० अषाढ, २०८३, २४ जुन, २०२६) बुधबार, बाँपिझ्याला । दोलखाको गौरीशंकर गाउँपालिका ले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५९ करोड ६४ लाख ३८ हजार ५ सय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाकी उपाध्यक्ष उमा लुंगेली मगर शेर्पाले गाउँसभाको १९औँ अधिवेशनमा उक्त बजेट प्रस्तुत गरेकी हुन्।

बजेटअनुसार संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ १२ करोड २६ लाख, सशर्त अनुदान २१ करोड ९७ लाख, समपूरक अनुदान २ करोड १२ लाख तथा राजस्व बाँडफाँडबाट ११ करोड ८३ लाख ६ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

त्यस्तै प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान १ करोड ४ लाख ६ हजार, सशर्त अनुदान १ करोड १५ लाख ४ हजार, समपूरक अनुदान २ करोड ८० लाख तथा राजस्व बाँडफाँडबाट ४ करोड १७ लाख २२ हजार ५ सय रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। आन्तरिक राजस्वबाट ४० लाख रुपैयाँ संकलन हुने र एक करोड रुपैयाँ मौज्दात रहने उल्लेख गरिएको छ।

यसैबीच गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पनि सार्वजनिक गरेको छ। गाउँपालिका अध्यक्ष विश्वास कार्कीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भोर्लेदेखि गाउँपालिका कार्यालय जोड्ने सडक कालोपत्रे योजनालाई विशेष प्राथमिकतामा राखिएको छ।

पर्यटनतर्फ च्योरोल्पा ताल, गौरीशंकर बेसक्याम्प लगायतका पर्यटकीय क्षेत्रको पूर्वाधार विकास र सेवा विस्तारलाई निरन्तरता दिइने भएको छ। कृषि क्षेत्रमा खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार, ‘एक गाउँ–एक पोखरी’ अवधारणाअन्तर्गत वर्षाको पानी संकलन तथा जल पुनर्भरण कार्यक्रमलाई पनि प्राथमिकतामा राखिएको छ।

यस्तै ‘एक वडा–एक उत्पादन’ कार्यक्रम, फलफूल खेती विस्तार, स्थानीय उत्पादनको संरक्षण, ब्रान्डिङ तथा बजारीकरणलाई प्रोत्साहन गर्ने योजना अघि सारिएको छ। गाउँपालिकाले व्यावसायिक याक तथा चौँरी पालन, वैदेशिक रोजगारीबाट फर्किएका युवा तथा बेरोजगार युवालाई लक्षित अनुदान र उद्यम प्रवर्द्धन कार्यक्रमका लागि समेत बजेट विनियोजन गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार