नेपाल सम्वत् ११४६, तछलाथ्वः १० दशमी (१० अषाढ, २०८३, २४ जुन, २०२६) बुधबार, बाँपिझ्याला । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा ९९ केन्द्रीय सदस्य पदका लागि तेब्बरभन्दा बढी आकांक्षीले उम्मेदवारी दर्ता गराएका छन्। मंगलबार साँझ ७ बजेदेखि सुरु भएको उम्मेदवारी दर्ता प्रक्रिया बुधबार बिहान २ बजेसम्म चलेको थियो।
रास्वपा निर्वाचन आयोगका उपप्रमुख राम गुरुङका अनुसार केन्द्रीय सदस्य पदका लागि प्रारम्भिक रूपमा ४ सयभन्दा बढी उम्मेदवारी दर्ता भएको छ। उम्मेदवारहरूको नामावली रुजु गर्ने काम जारी रहेकाले अन्तिम संख्या अझै सार्वजनिक गरिएको छैन।
उनका अनुसार केन्द्रीय सदस्य पदका लागि अधिकांश मन्त्री र सांसदहरूले पनि उम्मेदवारी दिएका छन्। रास्वपाका १८२ जना सांसद र १६ जना मन्त्री रहेका छन्।
पार्टी विधानअनुसार पहिलो चरणमा सभापति र ९९ जना केन्द्रीय सदस्य पदका लागि निर्वाचन हुने व्यवस्था छ। सभापति पदमा अन्य कुनै उम्मेदवारी नपरेपछि रवि लामिछाने मंगलबार नै निर्विरोध निर्वाचित भइसकेका छन्।
निर्वाचन आयोगले उम्मेदवारमाथि दाबी–विरोध र उम्मेदवारी फिर्ताको समय दिएपछि बुधबार नै केन्द्रीय सदस्य पदका लागि मतदान गराउने तयारी गरेको छ। मतदान चितवन उद्योग संघ परिसरस्थित प्रदर्शनी केन्द्रको हलमा हुनेछ।
उम्मेदवारी दर्तापछि आकांक्षीहरूले मंगलबार बेलुकादेखि नै मतदातासँग समर्थन माग्ने अभियान चलाएका थिए। धेरै उम्मेदवार रातभर मत माग्न व्यस्त देखिएका थिए।
रास्वपाले निर्वाचन प्रक्रियामा कडाइ अपनाउँदै उम्मेदवारका प्रस्तावक र समर्थक स्वयं उम्मेदवार बन्न नपाउने व्यवस्था गरेको छ। निर्वाचन आयोगका प्रमुख भुवन केसी द्वारा जारी सूचनाअनुसार यो नियमविपरीत दर्ता भएका मनोनयन स्वतः अमान्य हुनेछन्।
पार्टीले सभापति पदका लागि १ जना प्रस्तावक र ५१ जना समर्थक तथा केन्द्रीय सदस्य पदका लागि १ जना प्रस्तावक र २१ जना समर्थक अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ। महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारहरूको अत्यधिक आकर्षण देखिएपछि प्रतिस्पर्धा निकै रोचक हुने अनुमान गरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij