Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

तनहुँमा सामी कार्यक्रममार्फत ३५ करोडभन्दा बढी क्षतिपूर्ति वितरण

तनहुँमा सामी कार्यक्रममार्फत ३५ करोडभन्दा बढी क्षतिपूर्ति वितरण

नेपाल सम्वत् ११४६, तछलाथ्वः ९ नवमी ९९ अषाढ, २०८३, २३ जुन, २०२६० मंगलबार, बाँपिझ्याला । वैदेशिक रोजगारीका क्रममा ठगी तथा विभिन्न समस्यामा परेका तनहुँका आप्रवासी श्रमिक र उनीहरूका परिवारले सुरक्षित आप्रवासन (सामी) कार्यक्रममार्फत हालसम्म ३५ करोड ६४ लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति तथा आर्थिक सहायता प्राप्त गरेका छन्।

नेपाल सरकार, गण्डकी प्रदेश सरकार, स्थानीय तह र हेल्भेटास नेपालको सहकार्यमा सञ्चालित कार्यक्रमले विसं २०७६ मङ्सिरदेखि हालसम्म जिल्लाका १० वटै स्थानीय तहमा सेवा प्रदान गर्दै आएको छ। सामी कार्यक्रममार्फत विभिन्न प्रकृतिका मुद्दामा ३२ करोड १४ लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति तथा सहायता उपलब्ध गराइएको छ।

आप्रवासी स्रोत केन्द्रकी जिल्ला संयोजक लुना रानामगरका अनुसार चालु आर्थिक वर्षमा मात्रै ३ करोड ४९ लाख ८३ हजार रुपैयाँ सहायता पीडित परिवारलाई उपलब्ध गराइएको छ। यस अवधिमा केन्द्रमा दर्ता भएका ११९ उजुरीमध्ये ५५ वटाको समाधान भइसकेको छ भने ६४ वटा प्रक्रियामा छन्।

पालिकागत रूपमा चालु वर्षमा सबैभन्दा बढी क्षतिपूर्ति आँबुखैरेनी गाउँपालिकाका पीडितले प्राप्त गरेका छन्। म्याग्दे गाउँपालिका र भानु नगरपालिकाका पीडितले पनि उल्लेखनीय रकम सहायता पाएका छन्।

केन्द्रको तथ्याङ्क अनुसार हालसम्म सबैभन्दा धेरै ठगीसम्बन्धी ३९५ मुद्दामा ५ करोड ४६ लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति दिलाइएको छ। वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका १२८ कामदारका परिवारलाई २० करोड ४३ लाख रुपैयाँभन्दा बढी आर्थिक सहायता उपलब्ध गराउन समन्वय गरिएको छ। साथै दुर्घटना, स्वास्थ्य समस्या, करार उल्लङ्घन लगायतका मुद्दामा पनि लाखौं रुपैयाँ क्षतिपूर्ति दिलाइएको छ।

विदेशी जेलमा परेका, अलपत्र परेका तथा सम्पर्कविहीन भएका कामदारहरूको उद्धार र समस्या समाधानका लागि सम्बन्धित राजदूतावास तथा सरोकारवाला निकायसँग समन्वय गरिएको केन्द्रले जनाएको छ।

चालु आर्थिक वर्षमा मात्रै तनहुँका ७ हजार ९६७ जनाले सुरक्षित वैदेशिक रोजगारसम्बन्धी परामर्श सेवा लिएका छन्। व्यास, शुक्लागण्डकी र भानु नगरपालिकाका सेवाग्राहीको संख्या सबैभन्दा बढी रहेको छ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सुरक्षित आप्रवासन कार्यक्रमले वैदेशिक रोजगारीमा जाने नागरिकलाई सही सूचना, सीप र वित्तीय साक्षरता प्रदान गर्दै ठगीका घटना न्यूनीकरण गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले समस्यामा परेका श्रमिक तथा परिवारलाई समयमै न्याय, परामर्श र सहयोग उपलब्ध गराउन कार्यक्रम प्रभावकारी बनेको उल्लेख गर्नुभयो।

यसैबीच, व्यास नगरपालिकाले मङ्गलबार सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै सामी कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार