नेपाल सम्वत् ११४६, तछलाथ्वः ९ नवमी (९ अषाढ, २०८३, २३ जुन, २०२६) मंगलबार, बाँपिझ्याला । विश्वकप फुटबल २०२६ अन्तर्गत आज हुने खेलहरूमा पोर्चुगल, कोलम्बिया, इङ्ग्ल्यान्ड र घानामाथि सबैको ध्यान केन्द्रित रहनेछ। पहिलो खेलमा कङ्गोसँग १–१ को बराबरीमा रोकिएको पोर्चुगल आलोचनाको दबाबमा रहेको छ भने इङ्ग्ल्यान्ड र घाना नकआउट चरणको स्थान सुनिश्चित गर्ने लक्ष्यसहित मैदान उत्रनेछन्।
कङ्गोविरुद्ध बल नियन्त्रण र पासमा प्रभुत्व जमाए पनि आक्रमणमा प्रभावहीन देखिएको पोर्चुगलले उज्बेकिस्तानविरुद्ध जित निकाल्दै आलोचकलाई जवाफ दिने प्रयास गर्नेछ। कप्तान Cristiano Ronaldo अपेक्षाअनुसार चम्किन नसकेपछि टोलीको आक्रमण क्षमता र फिनिसिङमाथि प्रश्न उठेको छ। प्रशिक्षक Roberto Martínez ले उज्बेकिस्तानविरुद्ध गोलको वर्षा गर्दै टोलीले लय समात्ने विश्वास व्यक्त गर्नुभएको छ।
पहिलो खेलमा कोलम्बियासँग ३–१ ले पराजित भएको नवप्रवेशी उज्बेकिस्तानका लागि यो खेल ‘गर या मर’को अवस्थामा हुनेछ। लगातार दोस्रो हारले उसको नकआउट यात्रा समाप्त हुन सक्छ। यद्यपि एसियाली टोलीविरुद्ध पोर्चुगलको पछिल्लो कमजोर नतिजाले उज्बेकिस्तानलाई आत्मविश्वास दिएको छ।
सोही समूहमा कोलम्बिया र कङ्गोबीच पनि प्रतिस्पर्धा हुँदैछ। कङ्गोले पोर्चुगललाई बराबरीमा रोकेपछि कोलम्बिया सतर्क बनेको छ। कोलम्बियाका स्टार फरवार्ड Luis Díaz पुनः टोलीको मुख्य आशा रहनेछन्। पहिलो खेलमा एक गोल र एक एसिस्ट गरेका डियाज ‘प्लेयर अफ द म्याच’ बनेका थिए।
यता समूह ‘एल’ मा इङ्ग्ल्यान्ड र घानाको भिडन्तले पनि विशेष महत्त्व राख्छ। पहिलो खेलमा इङ्ग्ल्यान्डले क्रोएसियालाई ४–२ तथा घानाले पनामालाई १–० ले हराएका थिए। आजको खेल जित्ने टोली नकआउट चरण नजिक पुग्नेछ।
प्रशिक्षक Thomas Tuchel को नेतृत्वमा रहेको इङ्ग्ल्यान्डलाई उपाधि दाबेदारका रूपमा हेरिएको छ। टोलीमा Harry Kane, Jude Bellingham, Marcus Rashford, Bukayo Saka र Declan Rice जस्ता स्टार खेलाडी छन्।
घानाका लागि भने अनुभवी मिडफिल्डर Thomas Partey टोलीमा फर्किनु सकारात्मक पक्ष हो। तीव्र गतिमा प्रत्याक्रमण गर्ने र शारीरिक रूपमा बलियो घानाले इङ्ग्ल्यान्डलाई कडा चुनौती दिने अपेक्षा गरिएको छ।
समूह ‘एल’ अन्तर्गत अर्को खेलमा पहिलो खेल हार्ने पनामा र क्रोएसिया आमनेसामने हुँदैछन्। नकआउट सम्भावना जीवित राख्न दुवै टोलीलाई जित आवश्यक भए पनि अनुभव र इतिहासका आधारमा क्रोएसियालाई खेलको दाबेदार मानिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij