नेपाल सम्वत् ११४६, तछलाथ्वः ८ अष्टमी (८ अषाढ, २०८३, २२ जुन, २०२६) सोमबार, बाँपिझ्याला । फ्लाइ दुबईले आगामी असोज ७ गतेदेखि पोखरा–दुबई सिधा उडान सेवा सुरु गर्ने भएको छ । विश्वव्यापी हवाई ट्रान्जिट हब दुबईसँग प्रत्यक्ष हवाई सम्पर्क स्थापित भएसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिने भएको हो ।
सञ्चालनमा आएको तीन वर्ष बितिसक्दा पनि नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान हुन नसकेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यो दोस्रो नियमित व्यावसायिक उडान हुनेछ । यसअघि सन् २०२५ को मार्चमा हिमालय एयरलाइन्सले पोखरा–ल्हासा उडान सुरु गरे पनि यात्रु सङ्ख्या न्यून भएपछि सेवा स्थगित भएको थियो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार दुबई–पोखरा–दुबई उडान तालिका स्वीकृत भइसकेको छ भने फ्लाइ दुबईले टिकट बुकिङसमेत खुला गरिसकेको छ । उहाँले यो उडानले गण्डकी प्रदेश र मुलुकको पर्यटन, व्यापार तथा अन्तर्राष्ट्रिय आवागमनमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।
“पोखराबाट दुबई हुँदै युरोप, अमेरिका लगायतका विभिन्न गन्तव्यमा यात्रा गर्ने यात्रुका लागि समय र खर्च दुवै बचत हुनेछ,” निरौलाले भन्नुभयो ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फ्लाइ दुबई र इमिरेट्स एयरलाइन्सबीचको रणनीतिक कोडसेयर साझेदारीले यात्रुलाई थप सुविधा दिने बताउनुभयो । उहाँका अनुसार पोखराबाट अस्ट्रेलिया, युरोप वा अमेरिकाका विभिन्न सहरमा जाने यात्रुले एउटै टिकटमार्फत सहज यात्रा गर्न सक्नेछन् ।
कोडसेयर साझेदारीका कारण यात्रुले दुबई ट्रान्जिटका क्रममा पुनः लगेज व्यवस्थापन गर्नुपर्ने झन्झट पनि नहुने विमानस्थल प्रशासनले जनाएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले गत जेठ २५ गते फ्लाइ दुबईलाई पोखरा–दुबई उडानका लागि अनुमति दिएको थियो । अनुमति अघि एयरलाइन्सको प्राविधिक टोलीले विमानस्थलको सुरक्षा, सेफ्टी तथा सञ्चालन अवस्थाको निरीक्षण गरेको थियो ।
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक आकर्षित गर्न कूटनीतिक पहल गर्ने घोषणा गरेको केही समयपछि फ्लाइ दुबईले उडान अनुमति पाएको हो ।
महाप्रबन्धक निरौलाका अनुसार एयर अरेबियाले पनि पोखराबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनमा चासो देखाएको छ । उहाँले नियमित अन्तर्राष्ट्रिय उडानको दिगोपनाका लागि सरकारी तथा निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताउनुभयो ।
सन् २०२३ जनवरी १ मा उद्घाटन गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल झण्डै २२ अर्ब रुपैयाँ ऋण लगानीमा निर्माण गरिएको हो । हाल विमानस्थलबाट काठमाडौं, भरतपुर, भैरहवालगायत गन्तव्यमा आन्तरिक उडान सञ्चालन हुँदै आएको छ ।
पोखरा–दुबई सिधा उडानसँगै मध्यपूर्व, युरोप, अफ्रिका लगायतका ३०० भन्दा बढी सहरसँग पोखराको पहुँच विस्तार हुने अपेक्षा गरिएको छ । पर्यटन व्यवसायी र उद्योगीहरूले यसलाई गण्डकी प्रदेशको पर्यटन, वैदेशिक रोजगार, शिक्षा तथा आर्थिक गतिविधि विस्तारका लागि महत्वपूर्ण अवसरका रूपमा लिएका छन् ।
उद्योग वाणिज्य महासङ्घ गण्डकीका अध्यक्ष नरेश कँडेलले पोखरा–दुबई उडानले विदेशमा रहेका नेपाली र विदेशी पर्यटक दुवैलाई लाभ पुग्ने बताउनुभयो । उहाँका अनुसार गण्डकी प्रदेशबाट अध्ययन, रोजगारी र व्यवसायका लागि विदेश जाने तथा फर्किने यात्रुका लागि यो सेवा सहज, छिटो र कम खर्चिलो हुनेछ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij