नेपाल सम्वत् ११४६, तछलाथ्वः ८ अष्टमी (८ अषाढ, २०८३, २२ जुन, २०२६) सोमबार, बाँपिझ्याला । आगामी मंसिर ११ देखि १५ गतेसम्म काठमाडौंमा हुने केन्द्रीय महाधिवेशनको तयारीलाई तीव्र बनाउँदै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले देशभर संगठन समायोजन, सदस्यता नवीकरण तथा अधिवेशन केन्द्रित गतिविधि अघि बढाएको छ। साबिक माओवादी, एकीकृत समाजवादीसहित विभिन्न २७ राजनीतिक समूहको एकताबाट बनेको नेकपाले प्रदेशदेखि वडा तहसम्म संगठनात्मक संरचना एकीकृत गर्ने कामलाई प्राथमिकताका साथ अघि बढाएको हो।
पार्टीले प्रदेश, जिल्ला, पालिका र वडा तहका कमिटीहरूको समायोजनसँगै जनवर्गीय संगठनहरूको एकीकरण प्रक्रिया पनि तीव्र बनाएको जनाएको छ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, उपत्यका विशेष प्रदेश, सम्पर्क प्रदेश तथा विभिन्न प्रवास कमिटीमा नेतृत्व टोली गठन गरी समायोजनको काम सञ्चालन भइरहेको छ।
पार्टीका प्रदेश इन्चार्ज, सहइन्चार्ज, संयोजक तथा सहसंयोजकहरूको नेतृत्वमा तल्लो तहसम्म संगठन विस्तार र एकीकरणको काम भइरहेको नेकपाले जनाएको छ। कोशी प्रदेश इन्चार्ज राजेन्द्र राईका अनुसार तल्लो तहको समायोजन आगामी असार १० गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
प्रचार विभाग प्रमुख रेखा शर्माले अधिकांश जिल्लामा समायोजनको काम सम्पन्न भइसकेको र हाल पालिका तथा वडा तहमा प्रक्रिया जारी रहेको जानकारी दिइन्। उनका अनुसार भदौभित्र वडा, पालिका र जिल्ला अधिवेशन सम्पन्न गर्ने लक्ष्यका साथ पार्टी अघि बढिरहेको छ। त्यसपछि असोजसम्म जिल्ला तथा कात्तिकभित्र प्रदेश अधिवेशन सम्पन्न गरी मंसिरमा राष्ट्रिय महाधिवेशन आयोजना गरिनेछ।
पार्टीले महिला, किसान, युवा, विद्यार्थी, शिक्षक, प्रेस, दलित, आदिवासी जनजाति, खेलकुद, बुद्धिजीवी, सांस्कृतिक तथा अन्य ३२ वटा जनवर्गीय संगठनको समायोजन प्रक्रिया पनि अघि बढाएको छ। केही संगठनको एकता सम्पन्न भइसकेको र बाँकी संगठनको एकीकरण कार्य अन्तिम चरणमा पुगेको नेकपाले जनाएको छ।
महाधिवेशनलाई लक्षित गर्दै नेकपाले डिजिटल सदस्यता नवीकरण अभियान पनि औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले संयुक्त रूपमा अभियानको शुभारम्भ गरेका हुन्। पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार सदस्यता व्यवस्थापनलाई आधुनिक, व्यवस्थित र पारदर्शी बनाउन डिजिटल प्रणाली लागू गरिएको हो।
नयाँ प्रणालीमार्फत सदस्यहरूले अनलाइन माध्यमबाट सहज रूपमा सदस्यता नवीकरण गर्न सक्ने व्यवस्था गरिएको छ। सदस्यहरूको विवरण एकीकृत डिजिटल अभिलेखमा सुरक्षित राखिने र प्रविधिको पहुँच कम भएका क्षेत्रमा आवश्यक सहजीकरणको व्यवस्था गरिने बताइएको छ।
नेकपाले असार र साउन महिनाभर सदस्यता नवीकरण तथा नयाँ सदस्यता विस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। पार्टीले डिजिटल अभियानमार्फत सदस्यता अभिलेखलाई अद्यावधिक, व्यवस्थित र तथ्यमा आधारित बनाउँदै संगठनलाई थप प्रविधिमैत्री बनाउने लक्ष्य लिएको जनाएको छ।
पार्टी एकीकरणपछि संगठनात्मक आधार मजबुत बनाउने, कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउने तथा वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित हुने लक्ष्यसहित नेकपाले महाधिवेशनको तयारीलाई तीव्र बनाएको छ। मंसिरमा हुने महाधिवेशनलाई पार्टी एकता प्रक्रियाको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij