सूचना तथा प्रविधिको तीव्र विकाससँगै सञ्चार क्षेत्रको भूमिका, महत्व र प्रभावका विषयमा केन्द्रित अभिमुखीकरण कार्यक्रम दोलखामा सम्पन्न भएको छ। ग्रामीण सामुदायिक विकास परिषद् दोलखाको आयोजना तथा बाँपिझ्याला मिडियाको संयोजनमा असार ७ गते आयोजित कार्यक्रममा सञ्चार माध्यमले समाज, विकास र जनचेतना अभिवृद्धिमा खेलेको भूमिकाबारे व्यापक छलफल गरिएको थियो।
उपेन्द्र प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ अधिवक्ता तथा पूर्व महान्यायाधिवक्ता डा. मुक्तीनारायण प्रधान, नेपाल पत्रकार महासङ्घ दोलखा शाखाका पूर्व अध्यक्ष दीपशंकर चौलागाईं, ग्रामीण विकास टुकी संघ दोलखाका कार्यकारी निर्देशक पुरुषार्थ श्रेष्ठ, द्वाल्खा गुठीका अध्यक्ष विनोद मास्के, नेपाली कांग्रेसका युवा नेता राकेश श्रेष्ठ, नेपाल क्षयरोग निवारण संघका अध्यक्ष तीर्थबहादुर जोशी, पूर्व अध्यक्ष हर्कबहादुर श्रेष्ठ, नेवाः मिसा दबूका अध्यक्ष सकुन श्रेष्ठलगायत विभिन्न क्षेत्रका व्यक्तित्व तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा सूचना तथा सञ्चार प्रविधिको विकासले समाजमा ल्याएको परिवर्तन, सूचना प्रवाहको प्रभावकारिता, डिजिटल सञ्चारका अवसर तथा चुनौतीका विषयमा सहभागीहरूबीच अन्तरक्रिया भएको थियो। वक्ताहरूले सञ्चार क्षेत्रले लोकतन्त्रको सुदृढीकरण, जनचेतना विस्तार, सामाजिक उत्तरदायित्व अभिवृद्धि तथा विकास निर्माणका गतिविधिलाई जनस्तरसम्म पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको धारणा व्यक्त गरेका थिए।
वरिष्ठ अधिवक्ता तथा पूर्व महान्यायाधिवक्ता डा. मुक्तीनारायण प्रधानले सञ्चारलाई समाज परिवर्तनको प्रभावकारी माध्यमका रूपमा व्याख्या गर्दै सत्य, निष्पक्ष र जिम्मेवार पत्रकारिताको आवश्यकता औँल्याउनुभयो। उहाँले सूचना प्रविधिको विकाससँगै सञ्चार क्षेत्रको दायित्व पनि बढ्दै गएको उल्लेख गर्दै तथ्यमा आधारित सूचना सम्प्रेषणले समाजलाई सही दिशातर्फ डो¥याउन सहयोग पुग्ने बताउनुभयो।
नेपाल पत्रकार महासङ्घ दोलखा शाखाका पूर्व अध्यक्ष दीपशंकर चौलागाईंले आधुनिक सञ्चार प्रविधिले सूचना आदानप्रदानलाई सहज बनाएको उल्लेख गर्दै सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मको बढ्दो प्रयोगसँगै विश्वसनीय सूचनाको महत्व झनै बढेको बताउनुभयो। उहाँले सञ्चार क्षेत्रलाई जिम्मेवार, तथ्यपरक र जनउत्तरदायी बनाउनुपर्नेमा जोड दिनुभयो।
ग्रामीण विकास टुकी संघ दोलखाका कार्यकारी निर्देशक पुरुषार्थ श्रेष्ठले विकास, शिक्षा, स्वास्थ्य तथा सामाजिक रूपान्तरणका क्षेत्रमा सञ्चारको उपयोगिताबारे चर्चा गर्दै सूचना प्रविधिको प्रभावकारी प्रयोगबाट स्थानीय तहसम्म विकासका सन्देश पुर्याउन सकिने बताउनुभयो। उहाँले सञ्चार माध्यमले समुदाय र राज्यबीचको दूरी घटाउने महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो।
कार्यक्रममा भीम पुस्तकालय दोलखाका अध्यक्ष रत्न श्रेष्ठ, नेपाली काँग्रेसका युवा नेता राकेश श्रेष्ठ, युवा समाजसेवी नरेन्द्र श्रेष्ठ, निर्जना आचार्यलगायत सहभागीहरूले पनि सञ्चार क्षेत्रको विकास, सूचना प्रवाहको प्रभावकारिता तथा समाजमा यसको सकारात्मक भूमिकाबारे आ–आफ्ना धारणा व्यक्त गरेका थिए।
सहभागीहरूले दोलखामा स्थानीय समाचार, सामाजिक गतिविधि तथा जनसरोकारका विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको बाँपिझ्याला मिडियाको भूमिकाको प्रशंसा गरेका थिए। उनीहरूले स्थानीय सञ्चार माध्यमले समुदायलाई सुसूचित बनाउन तथा स्थानीय मुद्दाहरूलाई सार्वजनिक बहसको विषय बनाउन महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यले निरन्तरता पाउने विश्वास व्यक्त गरे।
कार्यक्रमको सञ्चालन संस्थाका सदस्य अजय प्रधानले गर्नुभएको थियो। सहभागीहरूले सूचना तथा प्रविधिको युगमा सञ्चार क्षेत्रलाई अझ प्रभावकारी, जिम्मेवार र जनमुखी बनाउन यस्ता अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने निष्कर्ष निकालेका थिए।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij