नेपाल सम्वत् ११४६, तछलाथ्वः ८ अष्टमी (८ अषाढ, २०८३, २२ जुन, २०२६) सोमबार, बाँपिझ्याला । चितवनको भरतपुरमा आइतबारदेखि सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी प्रतिनिधि, शुभेच्छुक र अवलोकनकर्ताले देशको राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरणका विषयलाई प्रमुख प्राथमिकताका रूपमा उठाएका छन्। उनीहरूले महाधिवेशनलाई केवल नेतृत्व चयनको प्रक्रिया नभई जनअपेक्षालाई सम्बोधन गर्ने अवसरका रूपमा हेरेका छन्।
महाधिवेशन स्थलमा भेटिएका हेटौँडा उपमहानगरपालिका–१ का ७५ वर्षीय शिवराम रिजालले युवाहरू रोजगारीको खोजीमा विदेशिनुपर्ने बाध्यता अन्त्य हुनुपर्ने बताउनुभयो। देशभित्रै रोजगारी र अवसर सिर्जना गर्न सके मात्र राजनीतिक परिवर्तनको वास्तविक उपलब्धि महसुस गर्न सकिने उहाँको भनाइ थियो। सुशासन, पारदर्शिता र उत्तरदायी शासन प्रणाली स्थापना गर्न महाधिवेशनले स्पष्ट मार्गचित्र प्रस्तुत गर्ने अपेक्षा उहाँले व्यक्त गर्नुभयो।
बागलुङको काँठेखोला गाउँपालिका–६ का महाधिवेशन प्रतिनिधि परेश्वर कँडेलले राष्ट्रियताको सवालमा पार्टीले स्पष्ट र दृढ धारणा प्रस्तुत गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले राष्ट्रिय हितलाई केन्द्रमा राखेर किसान, श्रमिक र उत्पादनशील वर्गका पक्षमा ठोस कार्यक्रम ल्याउनुपर्ने धारणा राख्नुभयो। कृषि क्षेत्रलाई आधुनिक र व्यावसायिक बनाउँदै किसानको मनोबल उकास्न सके देशको आर्थिक आधार बलियो बन्ने उहाँको विश्वास छ।
नवलपरासीको गैँडाकोटबाट महाधिवेशन अवलोकन गर्न आउनुभएकी शुभद्रा पराजुली अधिकारीले पार्टीभित्रको एकता र सामूहिक नेतृत्वलाई विशेष महत्व दिनुपर्ने बताउनुभयो। लोकतान्त्रिक अभ्यासमा बहस र छलफल स्वाभाविक भए पनि त्यसले विभाजन होइन, साझा निष्कर्ष दिन सक्नुपर्ने उहाँको धारणा थियो। नयाँ पुस्ताको ऊर्जा र अनुभवी पुस्ताको मार्गदर्शनलाई सन्तुलित रूपमा समेट्न सक्ने नेतृत्वको आवश्यकता रहेको उहाँले बताउनुभयो।
झापाको गौरीगन्ज गाउँपालिका–३ का पार्टी सभापति तथा महाधिवेशन प्रतिनिधि सङ्गीत दासले उत्पादन वृद्धि नै देशको समृद्धिको आधार भएको बताउनुभयो। कृषि, उद्योग र उद्यमशीलतालाई प्राथमिकतामा राखेर आर्थिक रूपान्तरण गर्नुपर्ने भन्दै उहाँले किसानले उत्पादन गरेको वस्तुको बजार सुनिश्चित गर्न राज्यले प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
भरतपुर महानगरपालिका–१ का मोहम्मद अली मियाँले भ्रष्टाचार नियन्त्रणलाई मुलुकको प्रमुख आवश्यकता बताउनुभयो। भ्रष्टाचारमा संलग्नलाई कानुनी दायरामा ल्याउने, इमानदार र परिणाममुखी कार्यशैलीलाई प्रोत्साहन गर्ने संस्कार विकास गर्नुपर्ने उहाँको भनाइ थियो। महाधिवेशनले पार्टीलाई थप एकताबद्ध बनाउँदै जनविश्वास बढाउने अपेक्षा पनि उहाँले व्यक्त गर्नुभयो।
महाधिवेशनमा सहभागीहरूको भनाइले सुशासन, राष्ट्रियता, रोजगारी, उत्पादनमुखी अर्थतन्त्र, कृषि विकास र भ्रष्टाचार नियन्त्रणजस्ता विषय जनस्तरमा प्रमुख चासोका रूपमा रहेको देखाएको छ। सहभागीहरूले नेतृत्व चयनसँगै जनताका दैनिक सरोकार सम्बोधन गर्न सक्ने नीति र कार्यक्रम तय गर्न महाधिवेशन केन्द्रित हुनुपर्ने धारणा राखेका छन्।
यसैबीच, उद्घाटन कार्यक्रमअघि परेको वर्षाले व्यवस्थापनमा केही चुनौती थपेको थियो। कार्यक्रम स्थलमा जमेको पानी हटाएर तथा बालुवा हालेर स्थल तयार पारिएको थियो। उद्घाटन समारोह सुरु हुँदासमेत वर्षा भइरहेकाले सहभागीहरू पानीमै उभिएर कार्यक्रम सुनेका थिए।
महाधिवेशन स्थलमा सहभागीहरूलाई गोरखापत्र दैनिक निःशुल्क वितरण गरिएको थियो भने स्थानीय किसानहरूले आफ्ना उत्पादनको प्रदर्शनी तथा बिक्रीसमेत गरेका थिए। भरतपुरमा सुरु भएको रास्वपाको यो महाधिवेशन नेतृत्व चयनसँगै जनअपेक्षा सम्बोधन गर्ने राजनीतिक परीक्षाका रूपमा समेत हेरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij