Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

असार ४ मा ३३ वर्षपछि दोलखा ल्याइँदै हाथ्व (आकाश) भैरवको मूर्ति

असार ४ मा ३३ वर्षपछि दोलखा ल्याइँदै हाथ्व (आकाश) भैरवको मूर्ति

नेपाल सम्वत् ११४६, तछलाथ्वः ३ प्रतिपदा (३ अषाढ, २०८३, १७ जुन, २०२६) बुधबार, बाँपिझ्याला । प्राचीन दोलखा शहरको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग जोडिएको नक्छे प्रधान परिवारको कुलदेवता हाथ्व (आकाश भैरव) को मूर्ति ३३ वर्षपछि आफ्नै थलो फर्किने भएको छ। २०७२ सालको भूकम्पले क्षतिग्रस्त कुलघर पुनःनिर्माण सम्पन्न भएसँगै मूर्तिलाई असार ४ गते दोलखा ल्याई प्रतिष्ठापन गरिने तयारी गरिएको छ।

नक्छे प्रधान परिवारको कुलघरबाट २०५० र २०५१ सालमा चोरी भएका दुई आकाश भैरव मूर्तिहरू लामो समयसम्म हराइरहेका थिए। पछि अमेरिकामा रहेको पत्ता लागेपछि स्वदेश फिर्ताका लागि अभियान सुरु गरिएको थियो। अमेरिकास्थित नेवाः गुठी, लस्ट आर्ट अफ नेपाल तथा सम्पदा संरक्षणमा सक्रिय विभिन्न संस्थाको पहलमा मूर्ति नेपाल फर्काइएको हो।

मूर्ति फिर्ता भएसँगै दोलखावासीमा उत्साह छाएको छ। कुलघरका थाकती यज्ञकुमार प्रधानले यसलाई केवल मूर्ति फिर्ता भएको घटना नभई पुर्खाको आस्था, संस्कृति र पहिचानको पुनरागमन भएको बताउनुभएको छ। अभियानमा सक्रिय युवा समाजसेवी अनिलचन्द्र श्रेष्ठले डेढ वर्षको निरन्तर प्रयासपछि यो सफलता प्राप्त भएको उल्लेख गर्नुभयो।

स्थानीयवासीका अनुसार आकाश भैरवको मूर्ति सम्पूर्ण दोलखावासीको साझा सांस्कृतिक धरोहर हो। करिब तीन दशकपछि आफ्नै जन्मभूमि फर्किएको यो सम्पदाले दोलखाको धार्मिक तथा सांस्कृतिक जीवनमा नयाँ उत्साह थप्ने विश्वास गरिएको छ।

असार ४ गते हुने मूर्ति प्रतिष्ठापन तथा कुलघर प्रवेश र असार ५ गते आयोजना गरिने क्षमापूजा कार्यक्रमलाई स्थानीयवासीले ऐतिहासिक पर्वका रूपमा मनाउने तयारी गरेका छन्।

मुर्ति प्रतिष्ठापन कार्यक्रममा सम्पूर्ण दोलखावासीको उपस्थितीको लागि कुलका जेष्ठ नागरिक अध्यक्ष सुरेन्द्रबहादुर प्रधानले उपस्थितीको लागि हार्दिक आग्रह सहीत अनुरोध गर्नु भएको छ । 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार