नेपाल सम्वत् ११४६, तछलाथ्वः ३ प्रतिपदा (३ अषाढ, २०८३, १७ जुन, २०२६) बुधबार, बाँपिझ्याला । भारतले नेपाली चियाको आयातमा पटक–पटक कडाइ गर्दै निर्यात अवरुद्ध बनाइरहेका बेला चिया किसान तथा व्यवसायीहरूले यसको दीर्घकालीन समाधान तेस्रो मुलुकमा निर्यात विस्तार गर्नु नै भएको बताएका छन्। उनीहरूका अनुसार भारतमाथिको अत्यधिक निर्भरता तोडेर नयाँ अन्तर्राष्ट्रिय बजार खोज्ने अवसर अहिले सिर्जना भएको छ।
इलामको जसबिरेस्थित जसबिरे चिया उद्योगका सञ्चालक गृष्म सुब्बाले भारतमा देखिएको समस्या चुनौतीभन्दा अवसरका रूपमा लिनुपर्ने बताउनुभयो। उहाँका अनुसार नेपालको चिया बजार भारतमै सीमित छ भन्ने सोच अब परिवर्तन गर्न आवश्यक छ। चीन, जर्मनी, रुसलगायत सातभन्दा बढी मुलुकमा चिया निर्यात गर्दै आएका सुब्बाले चीनसँग सरकार–सरकार (जीटुजी) स्तरमा व्यापार सम्झौता गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले चिनियाँ बजारमा नेपाली चियाको राम्रो माग भए पनि औपचारिक व्यापारिक संयन्त्र नहुँदा कुरियरमार्फत साना परिमाणमा मात्र चिया पठाउनुपर्ने अवस्था रहेको बताउनुभयो।
सूर्योदय नगरपालिका–स्थित सुन्दरपानी टी स्टेटका सञ्चालक उदय चापागाईंले पनि तेस्रो मुलुक नै नेपाली चियाको भविष्य भएको धारणा व्यक्त गर्नुभयो। स्विट्जरल्यान्डको आइओएममार्फत अर्गानिक प्रमाणीकरण प्राप्त चिया नौ देशमा निर्यात भइरहेको भए पनि भारतले प्रयोगशाला परीक्षणका नाममा अवरोध सिर्जना गरेको उहाँको आरोप छ। अन्तर्राष्ट्रिय रूपमा प्रमाणित चिया भारतको परीक्षणमा असफल घोषित हुनु नेपाली चिया रोक्ने रणनीतिक प्रयास भएको उहाँको दाबी छ।
चापागाईंका अनुसार सीमावर्ती भारतीय उद्योगहरूले नेपाली हरियो चियापत्ती खरिद गरेर आफ्नै ब्रान्डमा चिया उत्पादन गर्ने गरेका छन्। तर नेपालमै प्रशोधित भएर भारत निर्यात हुने चियालाई भने गुणस्तरको बहानामा रोक्नुले भारतको नियतमाथि प्रश्न उठाएको उहाँको भनाइ छ।
हालै युरोपका विभिन्न देशमा चियासम्बन्धी कार्यक्रममा सहभागी भएर फर्किनुभएका चापागाईंले नेपाल सरकारले आर्थिक कूटनीति अपनाएर टर्की, पाकिस्तान, इरान तथा खाडी मुलुकजस्ता सम्भावित बजारमा नेपाली चियाको पहुँच विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले नेपाली चियाको गुणस्तर भारतीय चियाभन्दा राम्रो भएकाले भारतले आफ्नै बजार जोगाउन अवरोध खडा गरेको आरोपसमेत लगाउनुभयो।
यसैबीच, केन्द्रीय चिया सहकारी सङ्घले सरकारलाई चियाको बजार व्यवस्थापन गर्न, बन्द उद्योग सञ्चालनको वातावरण बनाउन तथा नेपालमै चिया अक्सन सेन्टर स्थापना गर्न आग्रह गरेको छ। सङ्घले तेस्रो मुलुकमा निर्यातका लागि नयाँ बजार खोल्न सरकारी पहल अपरिहार्य रहेको जनाएको छ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका प्रतिनिधि इन्द्र अधिकारीले चिया क्षेत्रमा देखिएको समस्या समाधानका लागि सरकारको सक्रिय हस्तक्षेप आवश्यक रहेको बताउनुभयो। उहाँले चियापत्ती नियमित टिप्नुपर्ने भएकाले उद्योग बन्द हुँदा किसानको उत्पादन र गुणस्तर दुवैमा गम्भीर असर पर्ने चेतावनी दिनुभयो।
असार १ गतेदेखि धेरै चिया उद्योग बन्द भएपछि हजारौँ किलो हरियो चियापत्ती बगानमै नष्ट हुने जोखिम बढेको छ। उद्योगीहरूले प्रधानमन्त्री कार्यालयसहित सम्बन्धित मन्त्रालयहरूमा समाधानका सुझाव पठाइसकेको जनाएका छन्। तर सरकारले अब के कदम चाल्छ भन्नेबारे किसान र उद्योगीहरू अझै प्रतीक्षारत छन्।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij