Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

जलवायु परिवर्तनको असरले भृकुटी हिमालका १०८ कुण्ड संकटमा

जलवायु परिवर्तनको असरले भृकुटी हिमालका १०८ कुण्ड संकटमा

नेपाल सम्वत् ११४६, तछलाथ्वः २ प्रतिपदा (२ अषाढ, २०८३, १६ जुन, २०२६) मंगलबार, बाँपिझ्याला । उपल्लो मुस्ताङस्थित लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ सुर्खाङ आसपास रहेको भृकुटी हिमाल क्षेत्रका ऐतिहासिक तथा धार्मिक महत्व बोकेका १०८ कुण्डहरू जलवायु परिवर्तनको प्रभावका कारण संकटमा परेका छन्। स्थानीयवासी तथा सरोकारवालाले तापक्रम वृद्धिसँगै हिमपहिरो, ढुंगा र गेग्रान खस्दा धेरै कुण्ड पुरिएको तथा केही मात्र देखिने अवस्थामा रहेको बताएका छन्।

दामोदर कुण्ड क्षेत्रमा डेढ दशकदेखि घोडा व्यवसाय गर्दै आएका पासाङ गुरुङका अनुसार पहिले स्पष्ट रूपमा देखिने साना–ठूला १०८ कुण्डमध्ये अधिकांश अहिले पुरिएका छन्। उहाँले दामोदर कुण्डबाट करिब तीन घण्टाको घोडा यात्रापछि पुगिने भृकुटी हिमालको फेदी क्षेत्रमा पछिल्ला वर्षहरूमा हिमपहिरो र भूक्षय बढेकाले कुण्डहरू संकटमा परेको बताउनुभयो।

मुस्ताङ, मनाङ र चीनको तिब्बत सीमाना नजिक ६ हजार ४७६ मिटर उचाइमा अवस्थित भृकुटी हिमालको आसपासको क्षेत्र जलवायु परिवर्तनको प्रत्यक्ष असरमा परेको स्थानीय जनप्रतिनिधिहरूको भनाइ छ। लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ का वडाध्यक्ष झयाङ छेसा गुरुङले जलवायु परिवर्तनले हिमालदेखि जमिनसम्म व्यापक प्रभाव पारेको बताउँदै पहिले देखिने धेरै ताल तथा कुण्ड अहिले हराउँदै गएको जानकारी दिनुभयो।

उहाँका अनुसार उक्त क्षेत्र दुर्गम र उच्च हिमाली भूभाग भएकाले अध्ययन तथा अनुसन्धान गर्न कठिन भए पनि जलवायु परिवर्तनको प्रभावबारे विस्तृत अनुसन्धान आवश्यक छ। “जलवायु परिवर्तनले जमिनदेखि हिमालसम्म असर गरेको छ, पहिले देखिने तालहरू अहिले हराएका छन्,” उहाँले भन्नुभयो।

हालै भृकुटी हिमाल क्षेत्रको अवलोकन गरेर फर्किनुभएका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय लोमान्थाङका प्रमुख उमेश पौडेलले केही साना ताल मात्र देख्न पाएको बताउनुभयो। उहाँका अनुसार कतिपय तालहरू पुरिएको अवस्थामा छन् भने केही अस्थायी रूपमा सुख्खा देखिए पनि हिमपहिरो तथा प्राकृतिक प्रक्रियापछि पुनः पुरानै स्वरूपमा फर्किन सक्ने सम्भावना छ।

पौडेलका अनुसार मानव गतिविधि न्यून हुने भएकाले भृकुटी हिमाल आसपासको क्षेत्र वन्यजन्तुका लागि सुरक्षित बासस्थानका रूपमा समेत परिचित छ। दामोदर कुण्ड पुग्ने धार्मिक तीर्थयात्री तथा साहसिक पदयात्रामा आउने विदेशी पर्यटकहरू समेत भृकुटी हिमाल र त्यहाँका कुण्डहरूको अवलोकन गर्न जाने गरेका छन्।

नेपालका सबैभन्दा कठिन र साहसिक उच्च हिमाली पदमार्गमध्ये एक मानिने सरीबुङ भञ्ज्याङ हुँदै मनाङ जाने विदेशी पर्यटकहरूले पनि दामोदर कुण्ड क्षेत्रमा बसाइका क्रममा भृकुटी हिमालको भ्रमण गर्ने गरेका छन्।

धार्मिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण मानिने भृकुटी हिमालको नाम नेपालकी राष्ट्रिय विभूति तथा लिच्छवी राजा अंशुवर्माकी छोरी राजकुमारी भृकुटीको नामबाट राखिएको मानिन्छ। इतिहासअनुसार सातौँ शताब्दीमा भृकुटीको विवाह तिब्बती राजा स्रोङचोङ गम्पोसँग भएको थियो। बौद्ध परम्पराअनुसार गुरु रिन्पोछेले यस क्षेत्रमै ध्यान र साधना गरेको अभिलेखहरूमा उल्लेख पाइन्छ।

मुक्तिनाथ मन्दिरका पूजारी कृष्णप्रसाद सुबेदीका अनुसार हिन्दू धर्मग्रन्थहरूमा भृकुटी हिमाल र दामोदर कुण्ड क्षेत्रलाई भगवान विष्णुको पवित्र वासस्थानका रूपमा वर्णन गरिएको छ। हिमालबाट पग्लिने हिउँको जलबाट कालीगण्डकी नदीको उत्पत्ति भएको धार्मिक विश्वास रहिआएको छ।

उहाँले हिन्दू धर्मावलम्बीहरूमा भृकुटी हिमाललाई साक्षी राखेर १०८ कुण्डमा स्नान गर्दा पाप नष्ट भई मोक्ष प्राप्त हुने जनविश्वास रहेको बताउनुभयो। श्रीमद्भागवत महापुराण, भागवत पुराण तथा वराह पुराणमा समेत मुक्तिनाथ–दामोदरकुण्ड क्षेत्रलाई देवभूमिका रूपमा उल्लेख गरिएको छ।

जलवायु परिवर्तनका कारण धार्मिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदाका रूपमा रहेका यी कुण्डहरू संकटमा पर्दै जाँदा संरक्षण र वैज्ञानिक अध्ययनको आवश्यकता झन् बढ्दै गएको स्थानीय सरोकारवालाहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार