Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

३० वर्षपछि स्वदेश फर्कियो दोलखाको आकाश भैरव, असार ४ गते ऐतिहासिक रूपमा दोलखा ल्याइने

३० वर्षपछि स्वदेश फर्कियो दोलखाको आकाश भैरव, असार ४ गते ऐतिहासिक रूपमा दोलखा ल्याइने

नेपाल सम्वत् ११४६, अनलागाः १२ द्वादसी (२९ जेष्ठ, २०८३, १२ जुन, २०२६) शुक्रबार, बाँपिझ्याला । प्राचीन दोलखा शहरको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग गाँसिएको नक्छे प्रधान खलकको कुलदेवता हाथ्व (आकाश भैरव) को मूर्ति करिब ३० वर्षपछि स्वदेश फर्किएको छ। लामो समयअघि चोरी भई विदेश पुगेको उक्त अमूल्य सम्पदा नेपाल फिर्ता ल्याइएपछि अब असार ४ गते औपचारिक रूपमा दोलखा ल्याउने तयारी गरिएको छ।

मूर्ति दोलखा ल्याउने प्रक्रिया अघि बढाउन नक्छे प्रधान खलकका ज्येष्ठ नागरिक तथा थाकती यज्ञकुमार प्रधानको नेतृत्वमा खलकका प्रतिनिधिहरूले राष्ट्रिय संग्रहालय छाउनी पुगेर औपचारिक निवेदन दिएका छन्। आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी असार ४ गते मूर्ति दोलखा ल्याउने तयारी भइरहेको यज्ञकुमार प्रधानले जानकारी दिनुभयो।

hatho12.jpg

उहाँका अनुसार मूर्ति दोलखा भित्र्याउने कार्यक्रमलाई व्यवस्थित, गरिमामय र ऐतिहासिक बनाउने उद्देश्यले आवश्यक व्यवस्थापन, स्वागत तथा धार्मिक कार्यक्रमबारे छलफल गर्न जेठ ३० गते दिउँसो ३ बजे नक्छे प्रधान खलकको बैठक बस्ने निर्णय गरिएको छ।

नक्छे प्रधान खलकको गुर्कोट टोलस्थित कुलघरबाट २०५० साल फागुन २२ गते र २०५१ साल फागुन २४ गते गरी दुईवटा हाथ्व (आकाश भैरव) मूर्ति हराएका थिए। धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेका ती मूर्तिहरू चोरी भई विदेश पुगेपछि लामो समयसम्म तिनको अवस्था अज्ञात थियो। पछि विभिन्न अनुसन्धान तथा खोजी अभियानमार्फत ती मूर्तिहरू अमेरिकामा रहेको पत्ता लागेपछि नेपाल फिर्ता ल्याउने अभियान तीव्र बनाइएको थियो।

नेपालको सांस्कृतिक सम्पदा संरक्षणमा सक्रिय अमेरिकास्थित नेवाः गुठी, लस्ट आर्ट अफ नेपाल तथा सम्पदा संरक्षणमा लागेका विभिन्न सरोकारवालाहरूको निरन्तर प्रयासपछि ती मूर्तिहरू अन्ततः स्वदेश फर्काउन सफलता मिलेको हो। स्वदेश फर्किएका दुईवटा हाथ्व (आकाश भैरव) मूर्तिसँगै पाटन च्यासलको उमामहेश्वर र भक्तपुर हनुमानघाटको दुर्गा मूर्ति पनि नेपाल ल्याइएको छ।

नेवाः गुठीका अध्यक्ष विजयमान सिंहको नेतृत्वमा आयोजित विशेष कार्यक्रममा ती मूर्तिहरू पुरातत्व २०८० साल माघ १७ गते विभागलाई औपचारीक रुपमा हस्तान्तरण गरिएको थियो। हाल विभागको संरक्षणमा रहेका ती सम्पदाहरू आवश्यक प्रक्रिया पूरा भएपछि सम्बन्धित समुदायलाई जिम्मा लगाइने व्यवस्था अनुसार अब दोलखा ल्याउने तयारी भइरहेको हो।

hatho1.jpg

मूर्ति स्वदेश फर्किएको खबरले भावुक बनेका ८३ वर्षीय ज्येष्ठ नागरिक यज्ञकुमार प्रधानले आफ्नो कुलदेवताको मूर्ति पुनः आफ्नै थलोमा फर्कन लागेकोमा अत्यन्त खुशी व्यक्त गर्नुभयो। उहाँले “आफ्नो कुल्याणको मूर्ति आफ्नै कुल्याणमा बस्न मन लागेर फर्किएको होला” भन्दै यो केवल एउटा मूर्ति फिर्ता भएको घटना मात्र नभई पुर्खाहरूको आस्था, इतिहास, संस्कृति र पहिचानको पुनरागमन भएको बताउनुभयो।

उहाँले मूर्ति फिर्ता ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने नेवाः गुठीका अध्यक्ष विजयमान सिंह, लस्ट आर्ट अफ नेपाल तथा सम्पूर्ण सहयोगीहरूप्रति आभार व्यक्त गर्दै नेपाल सरकारको प्रक्रिया पूरा भएपछि सम्पूर्ण नक्छे प्रधान परिवारको सहभागिता र धार्मिक परम्पराअनुसार मूर्ति दोलखा ल्याइने जानकारी दिनुभयो।

यस अभियानमा सक्रिय भूमिका निर्वाह गरेका दोलखाका युवा समाजसेवी अनिलचन्द्र श्रेष्ठले करिब डेढ वर्षको अथक प्रयासपछि मूर्ति नेपाल फर्काउन सफलता मिलेको बताउनुभयो। उहाँले अमेरिकास्थित नेवाः गुठी, लस्ट आर्ट अफ नेपाल तथा सम्पदा संरक्षणमा समर्पित सम्पूर्ण व्यक्तिहरूप्रति धन्यवाद व्यक्त गर्दै निरन्तर प्रयास र दृढ संकल्प भए असम्भव जस्तो देखिने कार्य पनि सम्भव हुने कुरा यो अभियानले प्रमाणित गरेको बताउनुभयो।

यसअघि केही महिनाअघि मात्रै दोलखाको कोर्छे श्रेष्ठ खलकको बज्र इन्द्रराजाको मूर्ति पनि विदेशबाट फिर्ता ल्याएर दोलखा भित्र्याइएको थियो। एकै वर्ष दोलखाका दुई महत्वपूर्ण पुरातात्त्विक तथा सांस्कृतिक सम्पदा स्वदेश फर्कनु दोलखावासीका लागि ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ।

स्थानीयवासीका अनुसार हाथ्व (आकाश भैरव) को मूर्ति केवल नक्छे प्रधान खलकको सम्पत्ति मात्र नभई सम्पूर्ण दोलखावासीको साझा सांस्कृतिक धरोहर हो। यसले दोलखाको इतिहास, सभ्यता, धार्मिक आस्था तथा पुर्खाहरूको सिर्जनशीलताको प्रतिनिधित्व गर्ने भएकाले यसको संरक्षण, सुरक्षा र उचित व्यवस्थापनमा सबै पक्षको साझा दायित्व रहने उनीहरूको भनाइ छ।

करिब तीन दशकपछि आफ्नै जन्मभूमि फर्किएको आकाश भैरवको मूर्तिले दोलखाको धार्मिक तथा सांस्कृतिक जीवनमा नयाँ उत्साह थप्ने विश्वास गरिएको छ। असार ४ गते हुने मूर्ति भित्र्याउने कार्यक्रमलाई दोलखावासीले ऐतिहासिक पर्वका रूपमा मनाउने तयारीसमेत थालेका छन्।

जय द्वाल्खा, जय हाथ्व।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार