नेपाल सम्वत् ११४६, अनलागाः १२ द्वादसी (२९ जेष्ठ, २०८३, १२ जुन, २०२६) शुक्रबार, बाँपिझ्याला । थाइल्याण्डकी राजकुमारी बज्रकितियाभाको ४७ वर्षको उमेरमा निधन भएको छ। तीन वर्षभन्दा बढी समयदेखि कोमामा रहेकी उनको बिहीबार राति निधन भएको थाइ शाही दरबारले शुक्रबार आधिकारिक रूपमा घोषणा गरेको हो।
राजकुमारी बज्रकितियाभा सन् २०२२ डिसेम्बरमा व्यायाम गर्ने क्रममा अचानक ढलेकी थिइन्। चिकित्सकहरूका अनुसार मुटुमा भएको ‘माइकोप्लाज्मा’ संक्रमणका कारण उनको मुटुको धड्कन अनियन्त्रित बनेको थियो। त्यसयता उनी कोमामा रहेकी थिइन् र लामो समयसम्म सघन उपचार गरिए पनि स्वास्थ्यमा अपेक्षित सुधार आउन सकेन।
उनी थाइल्याण्डका राजा वजिरालोङकोर्नका सात सन्तानमध्ये सबैभन्दा जेठी सन्तान थिइन्। उनले अमेरिकाको कर्नेल विश्वविद्यालयबाट कानून विषयमा उच्च शिक्षा हासिल गरेकी थिइन्। शिक्षा र कूटनीतिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरेकी बज्रकितियाभाले अस्ट्रियाका लागि थाइल्याण्डको राजदूत तथा संयुक्त राष्ट्र संघको लागुऔषध तथा अपराध नियन्त्रण कार्यालयमा क्षेत्रीय राजदूतका रूपमा समेत सेवा दिएकी थिइन्।
राजकुमारी विशेषगरी कारागार सुधार, महिला कैदीहरूको अधिकार संरक्षण तथा न्याय प्रणाली सुधारका पक्षमा आवाज उठाउने अभियन्ताका रूपमा परिचित थिइन्। सामाजिक तथा मानवीय क्षेत्रमा उनको योगदानलाई थाइल्याण्डमा उच्च सम्मानका साथ हेरिने गरिन्छ।
राजा वजिरालोङकोर्नले हालसम्म आधिकारिक रूपमा आफ्नो उत्तराधिकारी घोषणा नगरेको अवस्थामा राजकुमारी बज्रकितियाभाको निधनले थाइ शाही परिवारको उत्तराधिकार सम्बन्धी विषयलाई थप जटिल र अन्योलपूर्ण बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। उनकाे निधनप्रति थाइल्याण्डभर शोक व्यक्त गरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij