Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

विद्यार्थीको शिक्षामा सहयोग गर्न देशव्यापी अभियान

विद्यार्थीको शिक्षामा सहयोग गर्न देशव्यापी अभियान

नेपाल सम्वत् ११४६, अनलागाः ८ अष्ठमी (२५ जेष्ठ, २०८३, ८ जुन, २०२६) सोमबार, बाँपिझ्याला । सेवा र विकासका लागि युवा संस्थाले देशका १९ जिल्लाका करिब तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ। संस्थाले आइतबार पत्रकार सम्मेलन गरी “शैक्षिक सामग्री वितरण कार्यक्रम–२०८३” सार्वजनिक गर्दै अभियानको घोषणा गरेको हो।

संस्थाका अनुसार पाँचथर, धनकुटा, ओखलढुंगा, सोलुखुम्बु, सिराहा, महोत्तरी, काठमाडौं, धादिङ, गोरखा, मनाङ, कास्की, पाल्पा, गुल्मी, कपिलवस्तु, पूर्वी रुकुम, दैलेख, कालिकोट तथा दार्चुला जिल्लाका आर्थिक रूपमा कमजोर, जेहेन्दार तथा आवश्यकता भएका विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराइनेछ।

कार्यक्रमअन्तर्गत गुरुकुल, गुम्बा तथा विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई झोला, कापी, कलम, अङ्ग्रेजी बोलचाल पुस्तक, प्रज्ञा वृहत् नेपाली शब्दकोश, क्यापलगायतका सामग्री वितरण गरिने जनाइएको छ। संस्थाले यस अभियानबाट दुर्गम क्षेत्रका विद्यार्थीलाई अध्ययनमा थप सहजता पुग्ने विश्वास व्यक्त गरेको छ।

पत्रकार सम्मेलनमा संस्थाका केन्द्रीय अध्यक्ष डा. देवेन्द्र कण्डेलले विद्यार्थी राष्ट्रका वर्तमान र भविष्य भएकाले उनीहरूको शैक्षिक विकासमा सहयोग गर्नु सबैको साझा दायित्व भएको बताए। उनले शैक्षिक सामग्रीको अभावमा अध्ययन गरिरहेका विद्यार्थीलाई लक्षित गरी कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिए।

२०७५ साल फागुन १५ गते चितवनमा स्थापना भएको सेवा र विकासका लागि युवा संस्थाले शिक्षा, स्वास्थ्य, सामाजिक सेवा तथा विपद् व्यवस्थापनका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। संस्थाका अनुसार हालसम्म देशका करिब ५० जिल्लामा शैक्षिक सामग्री वितरण, छात्रवृत्ति सहयोग, राहत तथा उद्धार, विद्यालय भवन निर्माण, कपडा बैंक सञ्चालन र चेतनामूलक कार्यक्रम सम्पन्न गरिसकिएको छ।

संस्थाका अनुसार वितरण गरिने शैक्षिक सामग्री मित्रराष्ट्र भारतको सहयोगमा प्राप्त भएको हो। संस्थाले शिक्षा क्षेत्रलगायत विभिन्न क्षेत्रमा सहयोग पुर्‍याएकोमा भारत सरकार तथा सम्बन्धित निकायप्रति आभार व्यक्त गरेको छ।

कार्यक्रमलाई सफल बनाउन सञ्चारमाध्यम, शिक्षाप्रेमी, सामाजिक संघसंस्था तथा सरोकारवाला निकायसँग सहयोग र सहकार्यको अपेक्षा गरिएको संस्थाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार