विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) ले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनले मध्यपूर्वमा जारी द्वन्द्व र बढ्दो भू-राजनीतिक तनावका बीच पनि सन् २०२६ को पहिलो छ महिनामा विश्वव्यापी वस्तु व्यापार अपेक्षाकृत मजबुत रहेको देखाएको छ। विशेषगरी कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी प्रविधि तथा पूर्वाधारमा भइरहेको तीव्र लगानीका कारण व्यापार क्षेत्रले सकारात्मक ऊर्जा प्राप्त गरेको डब्ल्यूटीओले जनाएको छ।
डब्ल्यूटीओको नवीन वस्तु व्यापार सूचकाङ्क १०१ दशमलव ७ मा पुगेको छ। यद्यपि यो जनवरी महिनामा रहेको १०२ दशमलव ३ को तुलनामा केही कम हो। यसले आगामी महिनाहरूमा विश्व व्यापारको वृद्धि दर सुस्त हुन सक्ने संकेत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
डब्ल्यूटीओका अनुसार सूचकाङ्क १०० भन्दा माथि रहनु व्यापार औसतभन्दा राम्रो अवस्थामा रहेको संकेत हो भने १०० भन्दा तल झर्नु व्यापार कमजोर बन्न सक्ने सम्भावनाको सूचक मानिन्छ। हालको सूचकाङ्क १०० भन्दा माथि रहेकाले विश्व व्यापार अझै सकारात्मक अवस्थामा रहेको देखिन्छ।
प्रतिवेदनले एआई प्रविधिसँग सम्बन्धित लगानीको विस्तारलाई विश्व व्यापारलाई मजबुत बनाउने प्रमुख कारकका रूपमा औंल्याएको छ। विशेषगरी डेटा सेन्टर, चिप उत्पादन, कम्प्युटिङ पूर्वाधार तथा अन्य विद्युतीय उपकरणहरूको माग बढेसँगै विद्युतीय पुर्जाको अन्तर्राष्ट्रिय व्यापार उल्लेखनीय रूपमा वृद्धि भएको छ।
डब्ल्यूटीओका अनुसार विद्युतीय पुर्जा सम्बन्धी सूचक १०५ दशमलव ५ मा पुगेको छ, जुन औसत स्तरभन्दा निकै माथि हो। यसले एआईसँग सम्बन्धित उद्योगहरूमा भइरहेको तीव्र विस्तारको प्रत्यक्ष प्रभाव विश्व व्यापारमा परेको देखाएको छ। अन्य अधिकांश सूचकहरू भने १०० को आसपास रहेको प्रतिवेदनमा उल्लेख छ।
यस्तै, निर्यात आदेशसम्बन्धी सूचक १०० दशमलव ५ मा कायम रहनुले अन्तर्राष्ट्रिय व्यापारमा माग अझै कायम रहेको संकेत दिएको छ। यसले आगामी महिनाहरूमा पनि विश्व व्यापार पूर्ण रूपमा कमजोर नहुने अपेक्षा गरिएको छ।
डब्ल्यूटीओले यसअघि गत चैतमा सार्वजनिक गरेको विश्व व्यापार पूर्वानुमान तथा तथ्याङ्क प्रतिवेदनमा सन् २०२६ मा विश्वव्यापी वस्तु व्यापार १ दशमलव ९ प्रतिशतले बढ्ने अनुमान गरेको थियो। यो वृद्धि अघिल्लो वर्षको तुलनामा सुस्त भए पनि सकारात्मक रहने अपेक्षा गरिएको छ।
तर संगठनले ऊर्जा मूल्यमा निरन्तर वृद्धि भइरहेमा विश्व व्यापारको वृद्धि दर १ दशमलव ४ प्रतिशतमा सीमित हुन सक्ने चेतावनी दिएको छ। अर्कोतर्फ, एआई क्षेत्रमा लगानी र प्रविधिको विस्तार हालकै गतिमा जारी रहेमा व्यापार वृद्धिमा थप ० दशमलव ५ प्रतिशत बिन्दुसम्म योगदान पुग्न सक्ने जनाएको छ।
डब्ल्यूटीओको निष्कर्ष अनुसार मध्यपूर्वको द्वन्द्व, ऊर्जा बजारको अस्थिरता तथा विश्व अर्थतन्त्रमा देखिएका चुनौतीहरूका बाबजुद कृत्रिम बुद्धिमत्तासम्बन्धी लगानीले विश्व व्यापारलाई सन्तुलित राख्न महत्वपूर्ण भूमिका खेलेको छ। यद्यपि आगामी दिनमा व्यापारको गति केही सुस्त हुन सक्ने संकेत देखिएकाले विश्व अर्थतन्त्रको अवस्थामाथि निरन्तर निगरानी आवश्यक रहेको संगठनले जनाएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij