Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

विश्वकप २०२६ मा लागू हुँदै फुटबलका नयाँ नियम

विश्वकप २०२६ मा लागू हुँदै फुटबलका नयाँ नियम

नेपाल सम्वत् ११४६, अनलागाः ७ सप्तमी(२४ जेष्ठ, २०८३, ७ जुन, २०२६) आईतबार, बाँपिझ्याला । आगामी फिफा विश्वकप २०२६ लाईलाई अझ तीव्र, अनुशासित र दर्शकमैत्री बनाउन FIFAInternational Football Association Board ले खेलका नियमहरूमा महत्वपूर्ण परिवर्तन गरेका छन्। समय खेर फाल्ने प्रवृत्तिलाई नियन्त्रण गर्दै खेलको गति बढाउने उद्देश्यले ल्याइएका यी नियमहरू विश्वकप २०२६ देखि पूर्ण रूपमा लागू हुनेछन्।

सबैभन्दा चर्चित परिवर्तन थ्रो–इन र गोल–किकसँग सम्बन्धित छ। अब कुनै टोलीले जानाजानी ढिलाइ गरेको ठहर भएमा रेफ्रीले पाँच सेकेन्डको दृश्यात्मक काउन्टडाउन सुरु गर्नेछन्। निर्धारित समयभित्र थ्रो–इन हुन नसके बल विपक्षी टोलीलाई दिइनेछ भने गोल–किकमा ढिलाइ भए विपक्षी टोलीले कर्नर किक पाउनेछ। यसले खेलको गति कायम राख्न र समय बर्बाद गर्ने रणनीतिलाई निरुत्साहित गर्ने अपेक्षा गरिएको छ।

प्रतिस्थापन प्रक्रियामा पनि कडाइ गरिएको छ। अब मैदान छाड्ने खेलाडीले १० सेकेन्डभित्र बाहिरिनुपर्नेछ। यदि खेलाडीले ढिलाइ गरेमा उनी बाहिरिन त पर्नेछ, तर नयाँ खेलाडीलाई तत्काल मैदान प्रवेश गर्न अनुमति दिइने छैन। खेल पुनः सुरु भएपछि कम्तीमा एक मिनेट पूरा भई अर्को खेल रोकिएको अवस्थामा मात्रै प्रतिस्थापन खेलाडी मैदान प्रवेश गर्न पाउनेछ, जसका कारण टोली केही समय १० खेलाडीमा सीमित हुनेछ।

चोटपटक र उपचारका नाममा हुने समय बर्बादी रोक्न पनि नयाँ व्यवस्था गरिएको छ। मैदानमै उपचार गरिएको खेलाडीले खेल पुनः सुरु भएपछि कम्तीमा ६० सेकेन्ड मैदानबाहिर बस्नुपर्नेछ। यस नियमले अनावश्यक रूपमा खेल रोक्ने र नाटकीय ढंगले समय खर्च गर्ने प्रवृत्तिमा कमी ल्याउने अपेक्षा गरिएको छ।

अनुशासनका विषयमा पनि फिफाले कडा प्रावधान ल्याएको छ। विवादका क्रममा खेलाडी वा अफिसियलले मुख हात वा जर्सीले छोपेर बहस गरेमा रातो कार्ड देखाइने व्यवस्था गरिएको छ। त्यस्तै, रेफ्रीको निर्णयको विरोधमा मैदान छाड्ने खेलाडी वा अफिसियलमाथि पनि कडा कारबाही गरिनेछ।

भिडियो असिस्टेन्ट रेफ्री (VAR) को अधिकार क्षेत्र पनि विस्तार गरिएको छ। अब भिएआरले गलत रूपमा दिइएका कर्नर किक, दोस्रो पहेँलो कार्डसँग सम्बन्धित निर्णय तथा केही स्पष्ट रेफ्री त्रुटिहरूको समीक्षा गर्न सक्नेछ। यसले निर्णय प्रक्रियालाई अझ निष्पक्ष र पारदर्शी बनाउने विश्वास गरिएको छ।

फिफाको विश्वास छ कि यी नयाँ नियमहरूले विश्वकप २०२६ लाई अझ प्रतिस्पर्धात्मक, व्यवस्थित र दर्शकका लागि रोमाञ्चक बनाउनेछन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार