Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

रास्वपा दोलखाको सभापतिमा दिनेश बस्नेत सर्वसम्मत, अन्य पदमा निर्वाचन हुने

रास्वपा दोलखाको सभापतिमा दिनेश बस्नेत सर्वसम्मत, अन्य पदमा निर्वाचन हुने

नेपाल सम्वत् ११४६, अनलागाः ६ षष्ठी (२३ जेष्ठ, २०८३, ६ जुन, २०२६) शनिवार, बाँपिझ्याला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोलखाको जिल्ला सभापतिमा दिनेश बस्नेत सर्वसम्मत चयन भएका छन्। आज सम्पन्न जिल्ला अधिवेशनले पार्टीको नयाँ जिल्ला नेतृत्व चयन गर्ने क्रममा सभापति र सचिव पदमा सर्वसम्मत नेतृत्व चयन गरेको हो।

अधिवेशनबाट दिनेश बस्नेत पुनः जिल्ला सभापतिमा चयन भएका हुन् भने सचिव पदमा रमेश कुमार श्रेष्ठ पनि सर्वसम्मत रूपमा दोहोरिएका छन्। नेतृत्व चयनका लागि सहमतिको प्रयास सफल भएपछि यी दुई पदमा निर्वाचनको आवश्यकता परेन।

तर अन्य पदहरूमा भने आकांक्षीहरूको संख्या बढी भएपछि सहमति जुट्न नसकेको र निर्वाचनमार्फत नेतृत्व चयन गरिने भएको छ। उपसभापति पदका लागि कृष्ण खड्का र हिरण्यराज उप्रेती उम्मेदवार बनेका छन्। त्यसैगरी सहसचिव पदमा अर्जुन कार्की र माधव शिवाकोटीबीच प्रतिस्पर्धा हुने भएको छ।

अधिवेशनअघि उपसभापति पदका लागि तीन जना र सहसचिव पदका लागि पाँच जनाले दाबी प्रस्तुत गरेका थिए। नेतृत्व चयनलाई सहमतिमै टुंग्याउने प्रयास भए पनि अन्तिम समयमा उपसभापतिमा एक जना र सहसचिवमा तीन जनाले आफ्नो दाबी फिर्ता लिएपछि बाँकी उम्मेदवारबीच निर्वाचन हुने अवस्था सिर्जना भएको हो।

रास्वपा दोलखाको अधिवेशनले सभापतिसहित चार पदाधिकारी तथा पाँच सदस्य चयन गर्नेछ। सदस्य पदमध्ये दलित सदस्यका लागि मन्दिरा खाती निर्विरोध निर्वाचित भएकी छन्। अन्य सदस्य पदका लागि भने आवश्यक प्रक्रिया अनुसार चयन गरिने जनाइएको छ।

पार्टीको संगठन विस्तार, सुदृढीकरण तथा आगामी राजनीतिक गतिविधिलाई प्रभावकारी बनाउने उद्देश्यका साथ आयोजित अधिवेशनमा जिल्लाभरका प्रतिनिधि तथा पार्टी कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दै संगठनलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।

निर्वाचन समितिका अनुसार बाँकी पदका लागि मतदान प्रक्रिया केहीबेरमै सुरु हुने छ। निर्वाचन सम्पन्न भएपछि रास्वपा दोलखाको नयाँ जिल्ला कार्यसमिति पूर्ण रूपमा गठन हुनेछ। पार्टीभित्र लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्दै नेतृत्व चयन प्रक्रिया अघि बढाइएको भन्दै कार्यकर्ताहरूले अधिवेशनप्रति उत्साह व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार