नेपाल सम्वत् ११४६, अनलागाः ६ षष्ठी (२३ जेष्ठ, २०८३, ६ जुन, २०२६) शनिवार, बाँपिझ्याला । पूर्वगृहमन्त्री तथा रास्वपा सांसद सुधन गुरुङको सम्पत्ति छानबिन गर्न गठित उच्चस्तरीय समितिले आफ्नो प्रतिवेदन शुक्रबार प्रधानमन्त्री वालेन्द्र शाहलाई बुझाएको छ। पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको संयोजकत्वमा गठित समितिले गुरुङको सम्पत्ति, आम्दानीका स्रोत, ऋण तथा आर्थिक गतिविधिको विस्तृत अध्ययन गरी ४५ पृष्ठ लामो प्रतिवेदन तयार गरेको हो।
समितिले निर्वाचनअघि निर्वाचन आयोगमा पेश गरिएको सम्पत्ति विवरण र गृहमन्त्री बनेपछि सार्वजनिक गरिएको सम्पत्ति विवरणको तुलनात्मक अध्ययन गरेको जनाएको छ। प्रतिवेदनमा गुरुङले विभिन्न स्रोतबाट आर्जन गरेको सम्पत्तिको विवरण अलग–अलग रूपमा विश्लेषण गरिएको छ।
समितिका एक सदस्यका अनुसार छानबिनका क्रममा गुरुङको नाममा रहेको जग्गा तथा अन्य सम्पत्तिमा अस्वाभाविक वृद्धि वा स्रोत खुलाउन नसकिने अवस्था फेला परेको छैन। त्यस्तै, विवादास्पद व्यवसायी दीपक भट्टसँग गुरुङको प्रत्यक्ष आर्थिक सम्बन्ध पुष्टि हुने कुनै प्रमाण वा बैंकिङ कारोबारसम्बन्धी विवरण पनि भेटिएको छैन।
प्रतिवेदनमा ‘हामी नेपाल’ नामक संस्थामार्फत सञ्चालन गरिएका कार्यक्रम तथा आर्थिक गतिविधिबारे पनि उल्लेख गरिएको छ। गुरुङको सम्पत्ति विवरण सार्वजनिक भएपछि त्यसको स्रोतबारे प्रश्न उठेका थिए भने दीपक भट्टसँगको सम्बन्धलाई लिएर पनि व्यापक आलोचना भएको थियो।
बढ्दो सार्वजनिक दबाबपछि गुरुङले गत वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसपछि मन्त्रिपरिषद्ले वैशाख २८ गते उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहेका थिए।
समितिले आफ्नो अध्ययन र निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाएसँगै अब सरकारले त्यसको अध्ययन गरी आवश्यक निर्णय तथा थप कदम चाल्ने अपेक्षा गरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij