Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

अस्ट्रेलियामा नेपालीसहित आप्रवासी विद्यार्थीमाथि श्रम शोषण

अस्ट्रेलियामा नेपालीसहित आप्रवासी विद्यार्थीमाथि श्रम शोषण

नेपाल सम्वत् ११४६, अनलागाः ४ औशी (२१ जेष्ठ, २०८३, ४ जुन, २०२६) बिहीबार, बाँपिझ्याला । अस्ट्रेलियामा अध्ययनरत आप्रवासी विद्यार्थीहरूले हरेक हप्ता अर्बौं रुपैयाँ बराबरको पारिश्रमिक गुमाइरहेको एक अध्ययनले देखाएको छ। ‘माइग्रेन्ट जस्टिस इन्स्टिच्युट’ले सार्वजनिक गरेको ‘अफ द बुक्स’ प्रतिवेदनअनुसार अस्थायी आप्रवासी श्रमिक र विद्यार्थीहरू व्यापक आर्थिक शोषणको सिकार भइरहेका छन्।

प्रतिवेदनले अस्ट्रेलियामा कार्यरत करिब दुई तिहाइ आप्रवासी श्रमिकले कानुनले तोकेको न्यूनतम ज्यालाभन्दा कम पारिश्रमिक पाइरहेको उल्लेख गरेको छ। धेरै विद्यार्थी विशेषगरी होटल, रेष्टुरेन्ट, क्लिनिङ तथा रिटेल क्षेत्रमा काम गर्ने क्रममा श्रम शोषणको मारमा परेका छन्।

अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थी पठाउने मुलुकमध्ये नेपाल तेस्रो स्थानमा रहेको छ। नयाँ वातावरण, सीमित अंग्रेजी ज्ञान र रोजगारीसम्बन्धी कानुनी जानकारीको अभावका कारण धेरै नेपाली विद्यार्थी रोजगारदाताबाट ठगिने गरेका छन्।

प्रतिवेदनअनुसार केही रोजगारदाताले नगदमा काम गराउने, नक्कली ‘पे–स्लिप’ बनाइदिने, निवृत्तिभरण कोषमा रकम जम्मा नगर्ने तथा कानुनी दायित्वबाट बच्न विभिन्न उपाय अपनाउने गरेका छन्। कतिपय अवस्थामा विद्यार्थीले पूरा समय काम गरे पनि विभिन्न बहाना बनाएर पारिश्रमिक कटौती गरिने गरेको उल्लेख गरिएको छ।

भिसामा असर पर्ने, जागिर गुम्ने वा आफैं कानुनी झमेलामा पर्ने डरले धेरै विद्यार्थी अन्याय सहेर पनि उजुरी नगर्ने गरेको पाइएको छ। अध्ययनअनुसार ३८ प्रतिशत विद्यार्थीले डरका कारण उजुरी नगरेको बताएका छन् भने ६२ प्रतिशतले कम ज्यालामा काम गर्न आफूले नै सहमति जनाएको भन्दै आवाज उठाउन नसकेको बताएका छन्।

माइग्रेन्ट जस्टिस इन्स्टिच्युटले यस्तो श्रम शोषण रोक्न अस्ट्रेलिया सरकारले असुरक्षित रोजगारी प्रणालीविरुद्ध कडा कदम चाल्नुपर्ने आवश्यकता औँल्याएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार