Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

कांग्रेसमा क्रियाशील सदस्यता अद्यावधिक गर्नेको संख्या ह्वात्तै बढ्यो

कांग्रेसमा क्रियाशील सदस्यता अद्यावधिक गर्नेको संख्या ह्वात्तै बढ्यो

नेपाल सम्वत् ११४६, अनलागाः ३ तृर्तिया (२० जेष्ठ, २०८३, ३ जुन, २०२६) बुधबार, बाँपिझ्याला ।  नेपाली कांग्रेसमा क्रियाशील सदस्यता अद्यावधिक गर्ने सदस्यहरूको संख्या पछिल्ला दिनहरूमा उल्लेखनीय रूपमा बढेको छ। वैशाख १ गतेदेखि सुरु भएको अद्यावधिक अभियान सुरुआती चरणमा अपेक्षित रूपमा अघि बढ्न नसके पनि अन्तिम समय नजिकिँदै जाँदा सदस्यहरूको चासो र सक्रियता बढेको देखिएको हो।

कांग्रेसले जेठ २१ गते मध्यरातसम्म मात्र क्रियाशील सदस्यता अद्यावधिक गर्न सकिने स्पष्ट गरिसकेको छ। समयावधि थप्ने पक्षमा पार्टी नरहेकाले अन्तिम दिनहरूमा अद्यावधिक गर्नेको संख्या तीव्र रूपमा बढेको सदस्यता व्यवस्थापन समिति संयोजक तथा महामन्त्री प्रदीप पौडेलले बताएका छन्।

उनका अनुसार एक दिनमै करिब ६२ हजार जनाले सदस्यता अद्यावधिक गरेका छन् भने त्यसपछिको दिन पनि ४८ हजारभन्दा बढी सदस्यले प्रक्रिया पूरा गरिसकेका छन्। आज बिहानसम्म अद्यावधिक गर्ने सदस्यको संख्या ३ लाख नाघिसकेको उनले जानकारी दिएका छन्।

२०७८ मंसिरमा सम्पन्न कांग्रेसको १४औँ महाधिवेशनमा ८ लाखभन्दा बढी क्रियाशील सदस्य रहेका थिए। त्यसमध्ये गत पुससम्म करिब ६ लाख सदस्यले नवीकरण गराइसकेका थिए। अहिले ती सदस्यहरूबाट थप विवरण संकलन गरी अद्यावधिक गर्ने काम भइरहेको पार्टीले जनाएको छ।

अद्यावधिक कार्यलाई प्रभावकारी बनाउन कांग्रेसले वडा तहमा आवश्यक समन्वय गर्दै आएको छ। कतिपय स्थानमा वडा सभापतिले प्रक्रिया अघि नबढाएपछि कार्यसमितिकै अन्य पदाधिकारीलाई जिम्मेवारी दिएर काम सम्पन्न गरिएको बताइएको छ। साथै पार्टी पदाधिकारीहरूलाई प्रदेशगत जिम्मेवारी तोकेर अद्यावधिक अभियानको अनुगमनमा समेत खटाइएको छ।

यसबीच १५औँ महाधिवेशनलाई लक्षित गर्दै तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालाले पहिले नै सदस्यता नवीकरण गरिसकेकाले पुनः अद्यावधिक आवश्यक नरहेको धारणा सार्वजनिक गरेका थिए। तर उनीहरू निकट अधिकांश नेता तथा कार्यकर्ताले समेत सदस्यता अद्यावधिक गरेको दाबी संस्थापन पक्षले गरेको छ।

महाधिवेशनको तयारीसँग जोडिएको यस अभियानमा अन्तिम दिनसम्म सदस्यहरूको सहभागिता अझ बढ्ने अपेक्षा कांग्रेस नेतृत्वले गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार