नेपाल सम्वत् ११४६, अनलागाः १ प्रतिपदा (१८ जेष्ठ, २०८३, १ जुन, २०२६) सोमबार, बाँपिझ्याला । दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिर व्यवस्थापन समितिभित्रको विवाद सार्वजनिक रूपमा देखिन थालेको छ। पछिल्ला केही दिनमा समितिका तीन सदस्यले असन्तुष्टि जनाउँदै राजीनामाको घोषणा गरेपछि समितिको कार्यशैली र निर्णय प्रक्रियामाथि प्रश्न उठेको छ।
समितिका सदस्य बुद्धिबहादुर आचाजुले सामाजिक सञ्जालमार्फत आफूलाई सदस्य पदबाट हटेको संकेत गरेका थिए। त्यसलगत्तै अर्का सदस्य पर्शुराम जोशीले मन्दिरमा दर्शन व्यवस्थापनसम्बन्धी भिडियो सार्वजनिक गरेपछि समितिले विज्ञप्ति जारी गर्दै भ्रम फैलाउन नहुने जनाएको थियो। यस्तै, बासु जोशीले समितिमा बस्नुको औचित्य नरहेको भन्दै राजीनामा दिएको जानकारी सार्वजनिक गरेका छन्।
यसै गरी पर्शुराम जोशीले राजिनामा दिएका छन् । निजले आफ्नो राजीनामापत्रमा समितिभित्र अपारदर्शी कार्यशैली, स्वेच्छाचारी निर्णय प्रक्रिया र सदस्यहरूको सुझावलाई बेवास्ता गरिएको आरोप लगाएका छन्। हालसम्म तीन सदस्यले राजीनामा घोषणा गरिसकेको अवस्थामा समितिभित्र गम्भीर मतभेद रहेको चर्चा बढेको छ।
स्थानीयवासीका अनुसार मन्दिर व्यवस्थापन, संरचना निर्माण तथा विभिन्न निर्णयहरू विगतदेखि नै विवादमा पर्दै आएका छन्। साथै, गुठी संस्थानअन्तर्गत गठित तदर्थ समितिले लामो समयसम्म अधिवेशन गर्न नसकेको विषय पनि आलोचनाको केन्द्र बनेको छ।
लगातार सदस्यहरूले पद छाड्न थालेपछि विश्वप्रसिद्ध भीमेश्वर मन्दिरको व्यवस्थापन, पारदर्शिता र नेतृत्वबारे स्थानीयस्तरमा चासो र बहस बढेको छ। समितिले भने हालसम्म विवादका विषयमा विस्तृत आधिकारिक प्रतिक्रिया दिएको छैन।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij