Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

अर्थमन्त्री प्रभात तामाङको प्रमुख आतिथ्यतामा टेगार ओसालिङ्ग गुम्बा पुनर्निर्माणपछि भव्य उद्घाटन

अर्थमन्त्री प्रभात तामाङको प्रमुख आतिथ्यतामा टेगार ओसालिङ्ग गुम्बा पुनर्निर्माणपछि भव्य उद्घाटन

नेपाल सम्वत् ११४६, अनलाथ्वः १५ पूर्णीमा (१७ जेष्ठ, २०८३, ३१ मे, २०२६) आईतबार, बाँपिझ्याला । नागार्जुन नगरपालिका–५, सितापाईला हाईट छोकडोल स्थित टेगार ओसालिङ्ग गुम्बा पुनर्निर्माण सम्पन्न भएपछि आज भव्य धार्मिक समारोहका बीच उद्घाटन कार्य सम्पन्न भएको छ। २०७२ सालको विनाशकारी भूकम्पबाट गम्भीर क्षति पुगेको गुम्बा करिब एक दशक लामो पुनर्निर्माण तथा संरक्षण कार्यपछि नयाँ स्वरूपमा पुनः सञ्चालनमा आएको हो।

१७औँ तिब्बती चक्र (Sexagenary Cycle) को ‘मेल फायर हर्स’ वर्षमा पर्ने सागा दावाको पावन पर्वको अवसर पारेर सन् २०२६ मे ३१ देखि सुरु भएको पाँच दिने विशेष धार्मिक कार्यक्रम अन्तर्गत टेगार ओसालिङ्ग गुम्बाको नवनिर्मित मन्दिर हल र पवित्र प्रतीकहरूको पूर्ण अभिषेक (Consecration) समारोह सम्पन्न गरिएको हो।

guru-t.jpg

उद्घाटन समारोहमा परम पावन १२औँ क्याब्गोन केन्टिङ ताइ सितु रिन्पोछेज्यूको गरिमामय उपस्थितिमा धर्मगुरु, लामा, भिक्षु, साधक, श्रद्धालु तथा टेगार समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा नागार्जुन नगरपालिका–५ का कार्यवाहक प्रमुख सुशिला अधिकारीसहित विभिन्न स्थानीय जनप्रतिनिधि तथा सम्मानित अतिथिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा विशेष पूजाआजा, राब्ने (प्रतिष्ठा) पूजा, धार्मिक अनुष्ठान तथा आध्यात्मिक प्रवचनहरू सम्पन्न गरिएको थियो। गुम्बा परिसर दिनभरि नै धार्मिक वातावरणले भरिएको थियो भने सहभागीहरूले शान्ति, करुणा र आध्यात्मिक एकताको सन्देश प्रवाह गरेका थिए।

उक्त कार्यक्रममा बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री माननीय प्रभात तामाङ प्रमुख अतिथिका रूपमा उपस्थित रहँदै सम्बोधन गर्नुभएको थियो। मन्त्री तामाङले पुनर्निर्माण सम्पन्न हुनु केवल भौतिक संरचनाको पुनःस्थापना मात्र नभई धार्मिक सहिष्णुता, शान्ति, सद्भाव र आध्यात्मिक चेतनाको विस्तारका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्नुभयो। उहाँले यस्ता ऐतिहासिक तथा आध्यात्मिक केन्द्रहरूको संरक्षण र प्रवर्द्धनमा प्रदेश सरकार सदैव सहयोग गर्न तयार रहेको प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

youngey11.jpg

यसै अवसरमा लुङ्ग्री गाउँपालिकाका अध्यक्षले पनि शुभकामना मन्तव्य व्यक्त गर्दै आफ्नो गाउँपालिकालाई अहिंसा गाउँपालिका घोषणा गर्न सफल भएकोमा गर्व व्यक्त गर्नुभयो।

टेगार ओसालिङ्ग गुम्बा बौद्ध गुरु याङ्गे म्युग्योर रिन्पोछे (Yongey Mingyur Rinpoche) को आध्यात्मिक परम्परासँग सम्बन्धित अन्तर्राष्ट्रिय स्तरको महत्वपूर्ण केन्द्रका रूपमा परिचित छ। पुनर्निर्माणपछि यहाँ ध्यान, बौद्ध दर्शन अध्ययन, साधना, आध्यात्मिक प्रशिक्षण तथा अन्तर्राष्ट्रिय धार्मिक कार्यक्रमहरू सञ्चालन गरिने जनाइएको छ।

गुम्बाको पुनर्निर्माण विश्वभरका अनुयायी, दाता, स्वयंसेवक तथा अन्तर्राष्ट्रिय बौद्ध समुदायको सहयोगमा सम्पन्न गरिएको हो। नयाँ संरचनामा करिब २,५०० जना अट्ने विशाल प्रार्थना हल, अध्ययन कक्ष, पुस्तकालय, ध्यान केन्द्र, आवासीय सुविधा तथा भिक्षुहरूको अध्ययन–अध्यापनका लागि आवश्यक पूर्वाधार निर्माण गरिएको छ।

आयोजकका अनुसार उद्घाटनसँगै पाँच दिने विशेष धार्मिक कार्यक्रम अन्तर्गत महामुद्रा सम्बन्धी शिक्षण, सांस्कृतिक कार्यक्रम तथा वरिष्ठ बौद्ध गुरुहरूको आशीर्वचन समेत समावेश गरिएको छ।

rimpoche.jpg

समारोहमा सहभागी धर्मगुरुहरूले गुम्बाको पुनः सञ्चालनलाई केवल भवन निर्माणको उपलब्धि नभई करुणा, ज्ञान, ध्यान र आध्यात्मिक परम्पराको पुनर्जागरणका रूपमा व्याख्या गरेका छन्। उनीहरूले यसले भावी पुस्तामा बौद्ध शिक्षा र मानवीय मूल्यको सन्देश फैलाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

 

भूकम्पपछिको लामो पुनर्निर्माण यात्रापछि पुनः सञ्चालनमा आएको टेगार ओसालिङ्ग गुम्बालाई नेपालको बौद्ध सम्पदा संरक्षण, धार्मिक पर्यटन प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय आध्यात्मिक केन्द्रको रूपमा महत्वपूर्ण उपलब्धि मानिएको छ। स्थानीय बासिन्दाले पनि यस उद्घाटनले सितापाइला क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यटन गतिविधिमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार